ढाका, फागुन २५ ,
युद्ध अपराधको आरोपमा मुस्लिम दल समर्थित एक नेतालाई मृत्युदण्ड सुनाइएपछि भड्किएको हिंसामा परी बंगलादेशमा ८० जनाभन्दा बढीको ज्यान गएको छ।
समाचार एजेन्सीहरुका अुनसार भड्किएको हिंसामा मंगलबारसम्म ८० बढिको मृत्यु भएको हो। हिंसा भड्किए पछि हजारौँ पर्यटक देश छोडेर भागेका थिए भने कतिपयलाई उनीहरूले बसेका होटलले नै सुरक्षाको अवस्था नभएको भन्दै अन्यत्रै सारिएको छ।
बङ्गलादेशमा स्वतन्त्रताको आन्दोलनका समयमा भएका युद्ध अपराधसम्बन्धी दण्ड सजायका लागि गठन गरिएको अदालतले गत साता जमात-ए-इस्लामी नामको बङ्गलादेशको सबैभन्दा ठूलो मुस्लिम दलका उपाध्यक्ष दिलवर हुसेन सैयदलाई मृत्युदण्डको सजाय सुनाएको थियो।
उक्त दलले घटनाको विरोध गर्र्दै आएको छ। यो समाचारपछि बंगलादेशमा ठूलो हिंसा मच्चिएको छ। सैयदलाई मृत्युदण्डको सजाय सुनाइएपछि हिंसात्मक प्रदर्शन बढेको एजेनसीहरुले बताएका छन।
यो घटनाले बंगलादेशको आर्थिक वृद्धिमा नराम्रो प्रभाव पर्ने विश्लेषकरुले जनाएका छन्।
बंगलादेशले पछिल्लो एक दशकमा झन्डै छ प्रतिशतको आर्थिक वृद्धिलाई कायम राख्दै आएको छ।
अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यसको पक्ष र विपक्षमा प्रर्दशन भइरहेको छ। उनीहरूलाई मृत्युदण्ड नै दिनुपर्ने माग गर्दै केही दलका कार्यकर्ता एवम् सर्वसाधारणले पनि प्रदर्शनलाई जारी नै राखेका छन्।
बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको थियो। स्वतन्त्रता सङ्ग्रामका बेला पाकिस्तान र यसका समर्थकले बंगलादेशीलाई दमन गरेका थिए।
उक्त समयमा युद्धअपराध भएको भनी त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विगत लामो समयदेखि हिंसा भइरहेको छ। यसलाई सम्बोधन गर्दै २०१० मा युद्ध अपराध अदालतको स्थापना गरिएको थियो।
अदालतले जनवरी २१ केही नेतालाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो। त्यसपछि राजधानी ढाका र देशका विभिन्न भागहरूमा प्रदर्शन सुरु भएका हुन्।
आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै प्रर्दशनकारीले प्रहरीमाथि नै साङ्घातिक हमला गरिरहेका छन।
प्रहरी अधिकारीहरू प्रदर्शनकारीहरुको प्रतिरोध गर्दा गोली प्रहार गर्नुपरेका बताउ"छन।
आन्दोलनमा घाइते हुनेको सङ्ख्या करिब एक हजार पुगेको छ। प्रदर्शनकै क्रममा प्रदर्शनकारीले तीनजना प्रहरी अधिकारीलाई नियन्त्रणमा लिई हत्या गरेको प्रहरीले जनाएको छ। हिंसाले ठूलो रुप लिएपछि बङ्गलादेशको राजधानी ढाकालगायतका विभिन्न प्रमुख सहरमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। राजधानीमा मात्र १० हजार प्रहरी खटाइएको छ।एजेन्सी;