प्रिय यी गुमनामहरु.....
काठमाण्डौ फागुन २१,
'म तिम्रो सहर छोडी टाढा टाढा जाँदै छु...' बोलको चर्चित गीत गाएका प्रदीपराज पाण्डेले यो सहर त छाडेनन् तर गीत-संगीत क्षेत्र छाडेको १३ वर्ष बित्यो। गायनबाट वितृष्णा जागेपछि पाण्डे अचेल पर्यटन व्यवसायी भएका छन्।
गायनबाट पलायन हुने प्रदीपराज पाण्डे एक्ला पात्र होइनन्। सुक्मित गुरुङ, रबिन शर्मा, विमला राई, तारा थापा, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, सूर्य थुलुङ र गीतकारहरू सुरेन्द्र राना, सुवासचन्द्र ढुंगेल आदि नेपाली गीत-संगीतमा स्थापित नामसमेत लोकपि्रय हुँदाहुँदै अलप भएका छन्। उनीहरू नयाँ पुस्ताका श्रोताहरूका लागि इतिहासजस्तै हुन पुगेका छन्।
नातिकाजीको संगतमा गाउँदै आएका पाण्डेले तिनको निधनपछि अर्को मूर्धन्य संगीतकार पाउन सकेनन्। भन्छन्, "मैले नातिकाजीजस्तो गहिराइमा डुबेर धुन हाल्ने संगीतकार पाइनँ, त्यसपछि गाउनै छाडेँ।" पाण्डेले गायन छाड्नुको कारण राम्रो संगीतकारको अभाव मात्रै पनि होइन। उनी आफूले अनुभूतिपूर्ण गीतरचना र संगीत पनि नपाएको बताउँछन्। आफूभन्दा वरष्िठहरूले दिएको गीत नराम्रो भए पनि स्वीकार्नुपर्ने बाध्यता आयो। छोटो समयमा नाम कमाइसकेपछि यस्ता कुरामा सम्झौता गरेर पुरानो छवि बिगार्न चाहेनन् उनले।
एक समय श्रोताका ओठ-ओठमा झुन्डिने गीत गाएका रबिन शर्मा पनि मूलधारको गायनबाट किनारा लागेका छन्। उनले गाएका 'तिमी यसै लजायौ, म उसै धकाएँ', 'हर्षले मन मेरो झुमेको छ'देखि महाकवि देवकोटाको 'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो'जस्ता गीतले आधुनिक गायनमा तरंग ल्याएका थिए। रेडियो नेपालको जागिरबाट सेवानिवृत्त भएयता उनी मिडिया कन्सल्टेन्सी गर्छन्।
पहिला रेडियो नेपाल मात्र संगीत उत्पादन र प्रसारणको माध्यम हुँदा नातिकाजी, शिवशंकरजस्ता विज्ञहरूको पहलमा गीत रेकर्डिङ् हुन्थे र ती सबै कालजयी हुन पुग्थे। अहिले च्याउसरी खुलेका निजी स्टुडियो र संगीत कम्पनीहरूले त्यो मापदण्ड पूरा गर्ने गीतहरू जन्माउन सक्तैनन् भन्ने तीतो अनुभव बोकेर मूलधारको गायनबाट विरक्तिएका रहेछन् शर्मा। उनको विचारमा अहिलेको सांगीतिक बजारमा एकदमै अस्वस्थ प्रतिस्पर्धा छ। भन्छन्, "मैले संगीतलाई व्यवसाय होइन, कला-साधनाको माध्यम बनाएको हुँ। गुणस्तरहीन प्रतिस्पर्धामा उभिनुको के अर्थ ?"
जाँगर मारेरै बसेकी छन्, सुक्मित गुरुङ पनि। कुनै समय पप-आधुनिक गायनकी मानक यी गायिका उदासीन हुनुको कारण बताउँछिन्, "मुख्य कारण स्थापित कलाकारप्रति संगीत उत्पादन कम्पनीहरूले गरेको अन्याय हो।" अहिले गीत रेकर्डिङ् गर्नु भनेको महाप्रलयजस्तो हुन्छ। एउटै गीतमा ५० हजार रुपियाँसम्म खर्च हुन्छ रेकर्डमा मात्र, त्यो सबै आफ्नो खल्तीबाट लगानी गरेर कम्पनीकहाँ एल्बम निकाल्न जाँदा तिनको सर्त सुनेर भाउन्न हुन्छिन् उनी। त्यसैले झन्डै सात वर्षदेखि मौन छिन्। उनका 'रेलिमाई रेलिमाई', 'ओ मेरो पि्रयतम्, मेरो प्यार मेरो जीवन', 'बोल बोल पाखाहरू', 'पलपल तिम्रो सम्झनामा'जस्ता गीतको आजसम्म पनि चर्चा हुने गर्छ। उनी गायनबाट ओझेल परेर नेपाल प्रज्ञा-प्रतिष्ठानको संगीत उप-निर्देशकको जागिर खाएर दिन बिताइरहेकी छन्।
समय फेरिएको छ, संगीतमा। पहिलेजस्तो राम्रा गीत गाएर मात्र सफल कलाकार हुन सकिँदैन। अहिले त भिडियो बनाउनैपर्छ। एउटा म्युजिक भिडियो बनाउन कम्तीमा दुई लाख रुपियाँ लाग्छ। "हामीजस्ता स्थापित कलाकार यस्तो लगानी गर्न तयार छैनौँ," गुरुङ भन्छिन्, "मैले २०६३ तिर निकालेको तृष्णा एल्बमका गीत म्युजिक भिडियो बनाउन नसकेकैले श्रोतासम्म पुग्न सकेनन्।"
गायिका विमला राई पनि आफू मूलधारको गायनबाट बिछोडिनुको दोष संगीतको बजारलाई नै दिन्छिन्। भन्छिन्, "सबैभन्दा खत्तम छ, बजार व्यवस्थापन। न कम्पनीहरूले प्रचार-प्रसारमा सहयोग गर्छन्, न यति बिक्री भयो भनेर कहिल्यै हिसाब देखाउँछन्।" बिकेका एल्बमहरूको पनि रोयल्टी पाउँदैनन् गायकगायिकाले। आफ्ना गीतको प्रचार-प्रसार आफैँ गर भन्छन् कम्पनीहरू। गोपाल योञ्जनको संगीतमा 'कान्छी हे कान्छी', 'पहिलो पहिलो भेट'जस्ता श्रोताको मुखमा झुन्डिने अनेकौँ गीत गाएकी राई अहिले धापाखेलको जेम्स स्कुलमा संगीत शिक्षिका छिन्
(हेर्नूस्, तस्बिर) ।
पुराना कलाकारहरू छायाँमा पर्नुका अरू कारण पनि छन्। गीतकार सुरेन्द्र राना भन्छन्, "मुख्य कारण पुस्तान्तरण पनि हो।" उनका भनाइमा नयाँ पुस्ताले उनीहरूलाई चिन्नै छाड्यो र चिनेकाहरूले पनि गीत माग्न आउने आँट गरेनन्। अर्को कुरा सुरुसुरुका संघर्षकालमा जोसुकैलाई आफ्नो कामप्रति बढी जोस हुन्छ। पुरानो हुँदै आएपछि जोसबाट सर्जक होसमा फर्किन्छ र विचार गरेर मात्र सिर्जना गर्छ। सुनाउँछन्, "मेरो हकमा कुरा गर्ने हो भने ३७-४० को कालखण्डमा मैले जति धेरै र लोकपि्रय गीत लेखेँ, अहिले म त्यति छिटोछिटो गीत लेख्न सक्तिनँ।"
त्यतिबेला गीतबाट जीविका त चल्दैनथ्यो तर राम्रा गायक-गायिका र संगीतकारहरूको अभावमा उनी गीतलेखनबाट अलग्गिए र अर्कै पेसातिर लागे। कुनै समय 'सबैले दिने उस्तै हुन्छ माया', 'थामेर छाड्यौ किन हातहरू', 'जुनीजुनीलाई मेरी उनीलाई', 'मेरो यादहरू', 'यो मनको के भर हुन्छ' जस्ता सुमधुर गीत लेख्ने राना अहिले फिल्म निर्माण सामग्री भाडामा लगाएर जीविका चलाइरहेका छन्।
गीतलेखन, संगीत र गायनको पनि एउटा निश्चित समय हुन्छ। जोसुकै व्यक्ति पनि एउटा कालखण्डमा पुगेर थाकेजस्तो हुन्छ। बूढो मान्छेले बिसाईबिसाई उकालो चढेजस्तो कठिन यात्रा सुरु हुन्छ सर्जकको पनि। ऊ पहिलाजस्तो जोसमा गीत लेख्न र गाउन सक्तैन र हरेक सिर्जनामा गहिरो अर्थ खोज्न थाल्छ। यी विभिन्न कारणले कतिपय सर्जक यस क्षेत्रबाटै हराएका छन्।
कुनै समय नारायणगोपालका लागि गीत लेख्ने लोकपि्रय गीतकार नगेन्द्र थापा अचेल लेख्दैनन्। नारायणगोपालले आफ्नो गुरु स्वीकारेका माणिकरत्न न संगीत सिर्जना गर्छन्, न गाउँछन्। एक समय नारायणगोपाललाई पछ्याउँदै आएका किरण प्रधान हुन् या रेडियो र फिल्ममा सर्वाधिक छाएका गायक प्रकाश श्रेष्ठ, सबै पूरै ओझेल परेका छन्। गीतकार राना भन्छन्, "एउटा अवस्थामा पुगेपछि विषयहरू पनि रिित्तँदै जाँदा रहेछन् र सिर्जनाबाटै विमुख हुन पुग्दो रहेछ सर्जक।"
पुराना गायक-संगीतकार मधु क्षेत्री 'प्रसारण माफिया' र स्वस्थ बजारको अभावमा दुई वर्षअघि तयार गरेका एल्बम सिरानीमुनि राखेर सुतिरहेका छन्। भन्छन्, "कतै मेरा यी सिर्जनाहरू गर्भमै तुहिने हुन् कि भन्ने आशंकाले सताइरहन्छ।" बजारमा आइहाल्यो भने पनि प्रसारणका लागि कथित 'मिडिया माफिया'हरूसँग हात जोड्दा जोड्दा थकित भएर संगीतबाटै संन्यास लिनुपर्ने हो कि भन्ने त्रासले उनको घाँटी निमोठिरहन्छ।
मूलधारकै गायनमा रहेकाहरू पनि किन बाहिरएि त ? पछिल्लो समय संगीत धेरै खर्चिलो भएर पनि पुराना कलाकारहरू हराएका हुन्। कुनै समय रेडियो नेपालले मात्र नेपाली संगीतको बिँडो थामेको अवस्थामा कलाकार-गीतकारलाई आफ्ना सिर्जना रेकर्ड गर्न कुनै अप्ठ्यारो थिएन। रेडियोकै वाद्यवादकहरूले निःशुल्क बजाइदिन्थे, रेडियाले स्टुडियो निःशुल्क उपलब्ध गराउँथ्यो र त्यस गीतसँग सम्बद्ध पक्षलाई थोरै भए पनि पारश्रिमिक दिन्थ्यो। तर, अहिलेको परदिृश्य बिलकुलै फरक छ।
आजको संगीत पूर्ण व्यावसायिक भएको छ तर प्रायः प्रसारण संस्थाले रोयल्टी दिँदैनन्। त्यसैले शर्माले भनेजस्तो गीतमा सुरतालको सही प्रयोगभन्दा पनि त्यो गीतको एल्बम श्रोताले किनेर सुन्छन् कि सुन्दैनन् भन्नेमा बढी ध्यान केन्दि्रत गरिन्छ। "मैले त्यसबेला गाएको म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछुको म्युजिक भिडियो बनेको भए आज आर्थिक अभावका कारण गायनबाट स्वैच्छिक अवकाश लिनु पर्दैनथ्यो होला," गायक पाण्डे थप्छन्, "कतैबाट साथ-सहयोग पाइनँ र आज यस क्षेत्रबाटै विमुख हुनुपर्ने अवस्था आइपर्यो।"
आजको संगीत फास्टफुड संस्कृतिमा हुर्किंदै छ। आयो, एकछिन ट्रयाक सुन्यो, गायो, गयो। स्टुडियोबाट निस्किँदा गायक-गायिकालाई पनि आफूले गाएको गीत र लय कण्ठ हुँदैन। महिनौँ अभ्यास गरेर मात्र स्टुडियो छिर्ने प्रवृत्तिका यी कलाकारहरूलाई तुरुन्तै गीत सिकेर रेकर्ड गर्नुपर्दा गायन पहिलाजस्तो अनुभूतिपूर्ण हुन नसकेकाले पनि पलायनको अवस्था आएको हो। त्यसैले गायिका गुरुङलाई गीत रेकर्ड गर्दा पहिला आत्मसन्तुष्टि हुन्थ्यो भने अचेल तनाव हुन्छ। भन्छिन्, "अहिलेका पुस्ताका बेसुरा कलाकारहरूले मिडिया र म्युजिक कम्पनीको बानी बिगारिदिएकाले पुराना र राम्रा कलाकारलाई सकस परेको हो।"
विमला राई ( गायिका)
चर्चित गीत : 'कान्छी हे कान्छी', 'पहिलो पहिलो भेट हाम्रो', 'पत्तै नपाई तिमीलाई' ।
पलायनको कारण : अस्वस्थ बजार ।
हाल: विद्यालयमा संगीत शिक्षण ।
सुरेन्द्र राना (गीतकार)
चर्चित गीत : 'सबैले दिने उस्तै हुन्छ माया, तर म नौलो प्रीत दिन्छु', 'जुनीजुनीलाई मेरी उनीलाई' ।
पलायनको कारण : गुणस्तरीय रचना गर्न नसकेर ।
हाल : फिल्म निर्माण सामग्रीको व्यवसाय ।
रबिन शर्मा (गायक)
चर्चित गीत : 'कुन मन्दिरमा जान्छौ यात्री', 'तिमी यसै लजायौ', 'रिसाउँदा झनै राम्री, रिसाइदेऊ न बिन्ती !'
पलायनको कारण : गुणस्तरीय प्रतिस्पर्धाको अभाव ।
हाल : मिडिया कन्सल्टेन्सी ।
सुक्मित गुरुङ (गायिका)
चर्चित गीत : 'ओ मेरो पि्रयतम्, मेरो प्यार मेरो जीवन', 'रेलिमाई रेलिमाई रेलिमाई', 'बोल बोल पाखाहरू' ।
पलायनको कारण : बढ्दो लगानी ।
हाल : प्रज्ञा-प्रतिष्ठानमा संगीत उप-निर्देशक ।
प्रदीपराज पाण्डे (गायक)
चर्चित गीत : 'म तिम्रो सहर छाडी टाढा, टाढा जाँदै छु', 'थाहै थिएन दिल आगोबिना नै जल्दोरहेछ', 'पत्थरको मुटु बनाई' ।
पलायनको कारण : राम्रो गीतकार र संगीतकार नपाएर ।
हाल : पर्यटन व्यवसायी ।
( नेपाल)