बेलायती सांसदले महारानीलाई सम्मेलन बहिस्कार गर्न आग्रह

कोलम्बो फाल्गुन २६ ,

एक बेलायती सांसदले श्रीलंकामा यसै वर्षको अन्त्यतिर हुन गइरहेको कमनवेल्थ सम्मेलन बहिस्कार गर्न बेलायतकी महारानीलाई आग्रह गरेका छन् । 

सन् २०११ मा त्यहाँ एक बेलायती नागरिकको हत्या भएकोमा सरकारले हत्यारा पत्ता लगाउने काममा चासो नदेखाएको भन्दै उक्त सम्मेलन बहिस्कार गर्न उनले आग्रह गरेका हुन् । बेलायती सांसद सिमोन डानचुकका अनुसार बेलायती नागरिक खुराम सेखको सन् २०११ को क्रिसमसमा दक्षिणी क्षेत्रमा रहेको एक होटलमा हत्या भएको थियो ।

आफ्नो निर्वाचन क्षेत्रका ती सेखको हत्यारा पत्ता लगाउन दबाब दिनका लागि आफू र मृतकका भाइले यो हत्यालगत्तै सरकारलाई भेटेर आग्रह गरेकोे उनले प्रस्ट पारेका छन् । हत्यारा पत्ता लगाउने काममा सरकारले वास्ता नगरेको ती सांसदको दाबी छ । यसै वर्षको अन्त्यतिर हुन लागेको उक्त सम्मेलनको उद्घाटन बेलायती महारानीले गर्ने कार्यक्रम छ । 

उक्त घटनाको विरोध स्वरूप सम्मेलनको उद्घाटन नगर्न ती सांसदले बेलायती महारानीलाई आग्रह गरेका हुन् । उक्त हत्याका शंकास्पद व्यक्ति श्रीलंकाको स्थानीय दलका नेता भएको यसअघि नै सार्वजनिक भएको थियो । 

ती व्यक्तिलाई पक्राउ गरिए पनि धरौटीमा रिहा गरिएको थियो । तर त्यसपछि उनलाई पक्राउ नगरिएको र यति लामो समय भइसक्दा पनि उनको मुद्दाको सुनुवाइ पनि नतोकिएको ती सांसदले बताएका छन् ।एएफपी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com