काठमाडौं, फागुन २६,
महिला हिंसाविरुद्धको अभियानलाई सार्थकता बनाउन आवश्यक अवधारणा तय गर्ने उद्देश्यले पाँचौं राष्ट्रिय श्रमिक महिला सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको सम्मेलनमा जिफन्ट आबद्ध विभिन्न महिला कमिटी, स्थानीय महिला प्रतिनिधि तथा ठूला प्रतिष्ठानका अध्यक्ष एवम् आबद्ध सदस्य सङ्घका नेताहरुसहित करिब सात सय जनाको सहभागिता छ।
'यो त अपराध हो, महिलाविरुद्ध हिंसा : नगरौं, नसहौं, प्रहार गरौं' भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा खासगरी महिला हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउन आचारसंहिता निर्माण तथा लैङ्गिक समानताका अभियानलाई अघि बढाउन आवश्यक रणनीति तय गरिने आयोजकले जनाएको छ।
भोलिसम्म चल्ने सम्मेलनमा महिला हिंसाका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्कसहितको तथ्यपत्र प्रस्तुति भई महिला हिंसाविरुद्धको आचारसंहिता जारी गर्ने सम्मेलनकी संयोजक बिना श्रेष्ठले बताए।
उनले जिफन्टको सहभागितामूलक लैङ्गिक परीक्षण प्रतिवेदन र समानता तथा श्रमिक महिला अधिकारका लागि तयार गरिएको प्रतिवेदन सार्वजनिक गरिने र अन्तिम सत्रमा घोषणापत्र जारी गरिने बताए।
सम्मेलनको उद्घाटन सत्रमा नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले नेपालमा ट्रेड यूनियन आन्दोलनले नै अहिलेको सबैखाले परिवर्तन सम्भव भएको भन्दै बढ्दो महिला हिंसाका जघन्य अपराधका घटनालाई निर्मूल पार्न सबै एकजुट भएर लाग्नुपर्ने बताए।
पछिल्लो समय धेरै हिंसा आफ्नै परिवार, छिमेक र समाजबाटै भइरहेको उल्लेख गर्दै उनले यसको अन्त्य गरी हिंसामुक्त मर्यादित समाज निर्माण गर्न अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
उपाध्यक्ष भण्डारीले स्थानीय तहदेखि राज्यका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिताको सुनिश्चितताको ग्यारेन्टी गर्न नयाँ संविधानमै व्यवस्था गरिनुपर्ने बताए। नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रका अध्यक्ष लक्ष्मण बस्नेतले व्यक्तिलाई सशक्तीकरण नगरेसम्म देशको पहुँचमा पुग्न नसक्ने भन्दै महिला हिंसाको अन्त्यका लागि शान्तिपूर्ण दबाब जारी राख्नुपर्ने बताए।
उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घका प्रतिनिधिहरुले महिला अधिकारबारे बोलेका थिए। रासस;