होलीमा हुन सक्ने उच्छृखंल गतिबिधि रोक्न राजधानीमा उच्च सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
महानगरी प्रहरी आयुक्तको कार्यालयका अनुसार होलीमा हुन सक्ने उच्छृखंल गतिबिधि रोक्न काठमाडौं उपत्यकामा मंगलबार थप ५ सय थप प्रहरी परिचालन गरिएको छ ।
जथाभावी लोला, रंग र पानी छेप्नेमाथि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । प्रहरीले यस पटकको होलीमा विकृति कम भएको दावी पनि गरेको छ ।
तर, सडकका केही ठाउँमा लोला हान्ने क्रम चाहिँ यसअघि नै चलिरहेको थियो। जबर्जस्ती लोला हान्ने झण्डै दुई दर्जनलाई नियन्त्रणमा लिएर सम्झाईबुझाई छाडिएको प्रहरीले जनाएको छ ।
मुद्दा नै चलाउनु पर्नेगरी कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाइ छ । प्रहरीले होलीलाई मर्यादित बनाउन शनिबारदेखि राजधानीका टोलटोलमा माइकिङ अभियान पनि चलाएको थियो । गृह मन्त्रालयले पनि यसअघि नै पवित्र पर्व होलीको अवसरमा कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने र पानी छ्याप्ने काम नगर्न सबैसित अनुरोध गरिसकेको छ ।
महिला, केटाकेटी लगायत बाटोमा हिँड्ने व्यक्तिलाई दुःख र सास्ती दिने काम प्रचलित कानुन विपरीत हुने भन्दै मन्त्रालयले सजक गराएको हो । मन्त्रालयले विज्ञप्ति निकालेर कसैको स्वीकृति विपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा यात्रीलाई दुःख सास्ती दिने गरेको भेटिएमा कानुनबमोजिम कार्बाही हुने जनाएको हो ।