रङ्गहरुको पर्व फागू अर्थात होली सद्भाव र आत्मियता साटासाट गरि मंगलबार काठमाडौं उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइदैं छ।
वसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने फागू पर्व एकआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भई रङ्ग दलेर मनाइन्छ।
सत्ययुगमा विष्णु भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने वरदान पाएकी होलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगाउंदा भक्त प्रल्हादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएकीले असत्य माथि सत्यको विजय भएको घटनापछि होली पर्व मनाउन थालिएको विश्वास गरिन्छ।
नेपालको पहाडी क्षेत्रमा फागुण पूर्णीमाको दिन होली मनाइन्छ भने तराईमा पूर्णीमाको भोलीपल्ट आर्थात बुधबार मनाइने गरिन्छ। अहिले काठमाडौं उपत्यकाको चोक चोक गल्ली गल्लीहरुमा इष्टमित्र, साथीभाइ, घरपरिवारका सदस्यहरु एव आपसमा रङ दलेर होली मनाइदै छ। यस पर्वमा विकृति बढ्न नदिन सुरक्षा ब्यवस्था मिलाइएको र अवाञ्छित गतिविधि गर्नेहरुलाई कारवाही गरिने प्रहरीले स्पष्ट पारेको छ।