सङ्घीय लोकतान्त्रिक मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको प्रदर्शनका क्रममा उत्रेका राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन दर्जनभन्दाबढी कार्यकर्तालाई नयाँबानेश्वर, कोटेश्वर र कमलपोखरी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले केही कार्यकर्ताबाट पार्टीको झन्डासमेत खोसी कुटपिट गरेको सो पार्टीले जनाएको छ। पार्टीले ती कार्यकर्तालाई निःसर्त रिहा पनि माग गरेको छ।
बन्दकर्ताहरुले सहरका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्।
यसैबीच नेपाल बन्दको कार्यक्रम कञ्चनपुर जिल्लामा भने फिर्ता भएको छ।
यहाँ भइरहेको औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०६९ लाई प्रभाव पर्ने भएकाले कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आग्रहमा बन्दका कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमार्फत जनाइएको छ।
यहाँ छोटो दूरीका यातायातका साधन जिल्लाभित्र सञ्चालन भइरहेका छन् भने बजार क्षेत्रसमेत बिहानै देखि खुला रहेको छ। लामो दूरीका सवारीसाधन भने सञ्चालन हुन सकेका छैनन्। शैक्षिक संस्थाहरुमा पनि बन्दको कुनै प्रभाव देखिएको छैन।
मोर्चामा सम्मिलित राष्ट्रिय मधेस समाज वादी पार्टीका जिल्ला संयोजक अम्बा दत्त तिवारी, मधेसी जनअधिकार फोरम नेपालकी अध्यक्ष सिता नागरी र ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष कविराम तामाङद्वारा जारी संयुक्त विज्ञप्तिमा देशव्यापी बन्द कार्यक्रम यथावत् भए पनि कञ्चनपुरमा बन्द फिर्ता लिइएको उल्लेख छ।
मोर्चाले सङ्क्रमणकालको निकासका लागि संविधानसभा र स्थानीय निकायको चुनाव आगामी जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने माग राख्दै आज नेपाल बन्दको घोषणा गरेको थियो। रासस;