किभ फाल्गुन २५ ,
युक्रेनका महिलावादीहरूको समूह 'फेमेन' ले नांगो छाती प्रदर्शन विश्वव्यापी बनाउने बताएको छ । उनीहरूले महिला अधिकारका लागि प्रजातान्त्रिक उल्लंघन तथा यौनजन्य शोषणजस्ता व्यापक विषय अगाडि बढाउन पश्चिम युरोपमा यस्ता प्रदर्शन गरिसकेका छन् । यसलाई केहीले सक्रिय महिलावादको नयाँ विधिको रूपमा लिएका छन् ।
आफ्नै मुलुकमा कमै समर्थन पाए पनि यस समूहलाई विदेशमा युक्रेनको प्रतिनिधिको रूपमा हेर्न थालिएको छ । उनीहरूले मस्को, जुरिक, ब्रसेल्स तथा भ्याटिकन नगरको सेन्टर पिटर्स चोकमा पनि आफ्नो छाती खोलेका छन् । अब उनीहरूले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने बताएका छन् । फेमेनका नेता एना गुत्सोलले अब उत्तर अफ्रिका तथा दक्षिण अमेरिकामा आफ्नो आन्दोलन लैजाने बताइन् ।
सन् २००८ मा स्थापना भएको यो समूहले अकस्मात् यस्तो नांगो छातीयुक्त प्रदर्शन सुरु गरेको हो । सन् २००९ को प्रदर्शनमा फेमेनका कार्यकर्ताले पिठ्युँमा नारा लेखी फोटोग्राफरहरूलाई देखाएका थिए । यो चित्र सबैतिर वितरण भयो । केही महिलाले फोटोग्राफरहरूलाई आफ्नो पूरै छाती देखाइदिए । उनीहरूले आफ्नो मुख क्यामेरातिर देखाइदिएपछि अरूको ध्यानाकर्षण गर्ने फोटो प्राप्त गर्न चाहने फोटोग्राफरहरूले त्यसलाई झनै ठूलो स्थान दिए ।
सन् २०१० मा युक्रेनको राष्ट्रपति पदको निर्वाचनमा उनीहरूले निकै चर्चा पाए । राष्ट्रपति पदका उम्मेदवार भिक्टोर यानुकोभिच मतदान केन्द्रमा आउँदा ४ महिलाले उनीहरूको नांगो छाती देखाइदिए । हालैका दिनमा उनीहरूले आफ्ने सक्रियता पश्चिमी युरोपका मुलुकमा देखाएका छन् । गत सेप्टेम्बरमा उनीहरूले पेरिसमा आफ्नो क्रियाकलापका विषयमा प्रचारप्रसार गर्न पहिलो तालिम केन्द्र स्थापना गरे । यसलाई 'नयाँ महिलावाद' को नाम दिइएको छ ।
अर्का कार्यकर्ता फेमेनको जर्मन शाखा खोल्न बर्लिन गएका छन् । इना सेभ्चेन्कोले किभमा कारबाही भोग्ने डरले फ्रान्समा शरण खोजेकी छन् । उनले पेरिसस्थित कार्यालय सञ्चालन गरेकी छन् । यस समूहले रसियाको पुसी रियोट समूहलाई समर्थन गर्ने भएको छ ।
केही प्राज्ञहरूले यसलाई उन्नाइसौं शताब्दीको महिलाको मतदान गर्ने अधिकारका लागि संघर्ष गर्ने महिला तथा सन् १९७० को महिलाको अधिकारका लागि संघर्ष गर्ने समूहको नयाँ रूपमा लिएका छन् । पेरिसस्थित वैज्ञानिक अनुसन्धानका लागि राष्ट्रिय केन्द्रका रिहान सेनकले यसलाई महिलावादको तेस्रो तरंगको रूपमा लिएका छन् ।एएफपी: