सरकारी सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिला हुनुपर्ने जोड

काठमाडौं, चैत ४,

प्रमुख सरकारी सञ्चारमाध्यमको रूपमा रहेको राष्ट्रिय समाचार समितिमा कम्तीमा ३३ प्रतिशत पत्रकार महिला हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आयोजना गरेको 'पत्रकार महिलाका समस्या र शान्तिप्रक्रियामा पत्रकारको भूमिका' विषयक अन्तरक्रियामा यो कुरामा जोड दिइएको हो। राससका नायव महाप्रबन्धक वासुदेव श्रेष्ठले राससमा महिला पत्रकारको सहभागिता जति मात्रामा हुनुपर्ने हो, त्यो बजेटको अभावका कारण हुन नसकेको बताए।

रासस समाचार महाशाखा प्रमुख तथा प्रधानसम्पादक श्रीरामसिंह बस्नेतले कम्तीमा सरकारी सञ्चारमाध्यममा ३३ प्रतिशत महिला हुनुपर्ने दरबन्दीका लागि राष्ट्रिय नीति नै ल्याइनुपर्ने उल्लेख गरे। 

राससका प्रमुख समाचारदाता निर्मला आचार्यले राससमा पर्याप्त महिला पत्रकार नभएपनि सहभागिता राम्रै भएको बताउँदै पुरस्कार, बढुवालगायत बोर्डमा पनि महिलाको उपस्थिति हुनुपर्ने आवश्यकता औंल्याए।

डब्लुडब्लुजेकी अध्यक्ष शुभेच्छा विन्दु तुलाधरले कार्यस्थलमा लैङ्गिक आधारमा विभेद गर्न नहुनेमा जोड दिँदै महिलाद्वारा प्रकाशित र प्रसारित सञ्चारमाध्यमलाई शुल्कमा राससले विशेष छुट दिनुपर्ने उल्लेख गरिन्। कार्यक्रममा सहभागी पत्रकारहरूले शान्तिप्रक्रियामा व्यावसायिक पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गरेका थिए। रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com