विज्ञान पत्रकारितामा छबुँदे घोषणापत्र जारी

काठमाडौं, चैत १९,

नेपाल विज्ञान पत्रकार सङ्घको आयोजना तथा एनआरएनए साइन्स फाउन्डेसनको सहयोगमा आज यहाँ सम्पन्न विज्ञान, सञ्चार माध्यम र नीति संवाद कार्यक्रम छबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। घोषणापत्रमा जनताको जीवनसँग गम्भीररुपमा सरोकार राख्ने विज्ञान प्रविधि क्षेत्रका उपलब्धि, समस्या र प्रभावबारे सर्वसाधारणलाई निरन्तर सुसूचित गराइराख्न विज्ञान पत्रकारिताको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन अभियान जारी राख्ने उल्लेख छ। 

त्यस्तै, विज्ञान प्रविधि पत्रकारिताको अभ्यासका लागि आवश्यक सीप, दक्षता अभिवृद्धि गर्न विभिन्न सरोकारवाला संस्थाहरुसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने तथा सञ्चार माध्यमहरुसँग विज्ञान प्रविधि क्षेत्रका महत्वपूर्ण सूचना एवम् जानकारीलाई सर्वसाधारण जनतासमक्ष पुर्‍याउने अभियानमा सहकार्य बढाउने घोषणापत्रमा उल्लेख छ। विज्ञान प्रविधि क्षेत्रमा कार्यरत पत्रकारहरुलाई अनुसन्धानमूलक रिपोर्टिङ गर्न सक्षम तुल्याउन प्रोत्साहनको व्यवस्था गर्ने, जनहितमा विज्ञान पत्रकारिता र सूचना प्रवाहलाई निरन्तर अभियानको रुपमा जारी राख्न विज्ञान सञ्चारकर्मीहरुलाई थप दक्ष बनाइ सर्वसाधारण लाई सुसूचित गराउन सक्रिय रहने तथा सबै सञ्चार माध्यममा विज्ञान प्रविधिका सामग्रीलाई महत्व दिएको प्रतिबद्धताको रुपमा नियमित स्तम्भ राख्न अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

सो कार्यक्रमको शुभारम्भमा मन्तव्य राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँले, वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेल र एनआरएनएका साइन्स फाउन्डेसनका डा प्रमोद ढकालले विज्ञान र प्रविधिका क्षेत्रमा भइरहेका नवीनतम प्रविधि, नेपाली समाजमा रहेका मौलिक वैज्ञानिक अवधारणाहरुलाई सक्दो प्रचार गर्नुपर्नेमा जोड दिए। सो अवसरमा खानेपानी तथा ढलनिकास विभागका परामर्शदाता हान हेजनेनले विज्ञान पत्रकारिताको मूल मन्त्र नै तथ्यहरुको सही प्रस्तुति हो भन्दै नेपाली पत्रकारितामा विज्ञानसम्बन्धी लेख, समाचार र आलेखहरु अझ बढी प्रकाशन र प्रसारण गर्नुपर्ने आवश्यकता छ भने। 

नेपाल इन्जिनियरिङ कलेजका अनुसन्धाता अनुशीया श्रेष्ठले राजधानीका केही स्थानमा गरिएको अध्ययनले वर्षाको संरचनामा फेरबदल भइरहेको, खेतीबालीमा विभिन्न किसिमका रोगव्याधी र झारले नराम्रो असर पारेको, कृषियोग्य जमिनको विनाश भएको र कृषिक्षेत्रमा विगतमा स्थापित पूर्वाधार र संरचना नष्ट भइरहेको बताए। वरिष्ठ पत्रकार गोकुल पोखरेल र एनआरएनए साइन्स फाउन्डेसनका डा प्रमोद ढकालले "विज्ञान पत्रकारिताः किन र कसरी?" विषयक कार्यपत्र प्रस्तुत गर्दै विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्री जतिसक्दो बढी सञ्चार माध्यममा ल्याउन प्रयत्न गर्नुपर्ने, विज्ञान पत्रकारहरुलाई उत्प्रेरित गर्न लेखनवृत्ति उपलब्ध गराउनुपर्ने, विज्ञान पत्रकारलाई सम्मान गर्नुपर्नेलगायतका सुझाव दिएका छन्। 

सो अवसरमा नेपालमा हाल तीन हजारभन्दा बढी अखबार, ४३० भन्दा बढी रेडियो स्टेशन र २६ वटाभन्दा बढी टेलिभिजन स्टेशन भए पनि त्यसमा विज्ञान र प्रविधिका उपलब्धि, समस्या, खोज र अनुसन्धानलाई आमजनताले बुझ्ने भाषामा प्रस्तुत गर्न नसक्दा "नयाँ प्रतिभा"हरु नै ओझेलमा परेका र विदेश पलायन भइरहेका भन्दै चिन्ता व्यक्त गरिएको थियो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com