काठमाडौं, चैत्र १० ,
झमक घिमिरे : सरुभक्तले कवि, प्रेमी र पागललाई एकै ठाउँमा राखिदिए । हुन पनि हो, तीनवटै उस्तै-उस्तै व्यक्तिजन्य, चेतनाजन्य या त परमाणुका शूक्ष्मतम रूप होलान् । होइन भने के हुन्, खोज्ने जिम्मा स्वयम् तपाईंलाई । तर मलाई यी तीनवटै कुरा यतिबेला पि्रय छ । किनभने म कवित्व, प्रेमत्व र पागलत्व एकै ठाउँमा राखेर बुझ्छु र हेर्छु । त्यसैले माया गर्छु, सबै कवित्व, प्रेमित्व र पागलत्वलाई ।
जोसँग म जीवनका सबै भोग्छु । त्यो पागललाई एउटा मीठो चुम्बन । सबै मान्छेको जातसँग प्रेम गरेँ मैले । उसको जीवनसँग प्रेम गरेँ, आखिर के बिराएँ ? मलाई मान्छे ज्यादै पि्रय लाग्यो । त्यस भित्रको एउटा पागलप्रेमी बोल्यो, मेरो नसा भनेको तिमी हौ । बस उसको कस्तो नियत हो, म जान्दिन । तर उसको प्रेम निकै स्वादिलो लाग्यो भने जति खन्याउँछौ खन्याउ । प्रत्येक कविको कवित्वसँग प्रेम गरेँ, आफ्ना समयका सबै कविहरूसँग माया अनुभूति बाँड्न चाहेँ । यहाँ प्रेमी भन्नाले जीवनसँग बाँच्ने पात्रलाई बुझिन्छ । तर त्यसो होइन, संसारलाई प्रेमको आँखाले हेर्नेहरू सबै मेरा प्रेमीहरू हुन् ।
जोसँग जीवनको सास छ । यो समयले प्रश्न गर्यो- तिमीसँग यौन छ, वासना छ, तर कुण्ठा किन छैन ? यो यौन भनेको के, वासना भनेको के ? कुनै पेसेवर यौनसाथीसँग अज्ञात सहवास गरेर तृप्त पार्ने चिज हो कि यात कुनै कुण्ठित पार्ने चिज ? दुवै होइन भने मान्छेले यसलाई किन सहज रूपमा लिन सक्दैन । यहाँनेर प|mायड पनि भन्छन्- जुन कुरा प्राकृतिक रूपमै स्वीकारिन्छ । त्यहाँ यौनको स्थिति सामान्य हुन्छ । यहाँभन्दा बढी बोल्नु छैन मलाई । त्यसो त प|mायडको मनोविज्ञानको दर्शन पनि साह्रै राम्रो छ । त्यसमा जीवनका रोमान्स, उत्तेजना, सृष्टि सबै कुरा छ ।
बीपी कोइरालाको सिर्जनाका पात्रहरूको लहरमा राखेर एकजना म्याडमले सोधिन् मसँग- यौन, वासना त शरीरसँग जोडिन्छ नि ? मैले भनेँ- हो, म्याडम शरीरसँग जोडिएर आउने कुरा हुन् । त्यसपछि उनी केही बोलिनन्, मेरो अनुहारतिर हेरिरहिन् । सायद यहाँ कुनै कुण्ठित रेखा छ कि छैन, पढ्दै थिइन् क्यारे । त्यो निस्वास मौनता चिरेर बोलिन्- अहा त्यो अनुहारमा कुण्ठा छैन । बरु उत्साह छ । मनमनै सोचिरहेँ- म सिर्जनासँग संसर्ग भोग्छु । अनि यो समयसँग सहवास गर्छु, जो घोषित-अघोषित रूपमा जन्मिन्छन्, चेतनाको सृष्टि । जसले कुण्ठा निलेको छ, बनाएको छ, नवयौवन कुण्ठामुक्त ।
म खिस्स हाँसिरहेँ, छरियो मुस्कान ओठभरि सायद त्यो मुस्कान गोविन्दबहादुर मल्ल गोठालोको पल्लो घरको झ्यालकी पात्रको जस्तो थिएन होला । नत लैनसिंह वाङदेलको माइत घरकी सानीको जस्ता मनोविज्ञानमा उभिएको हाँसो । तर त्यो हाँसो ती म्याडमलाई मनपरेछ क्यारे, बोलिन्- कति मीठो हाँसो आनन्दप्रद । यिनले जे चाहेर मसँग आएकी थिइन्, त्यो हाँसो देखेर सबै बिर्सिइन् क्यारे । म्याडमको सन्तुष्टिप्रति मन साह्रै रमायो । अर्थात् म आफैं सन्तुष्ट भएँ । त्यसो त मलाई माया गर्ने एकजना किराती मित्र छे, उसले उसैको शैलीमा भन्छे- सेवारो, तिम्रो मुस्कानले मेरो मनमनै उज्यालो भइगयो यार ।
आखिर प्रेम त जसको मनमा पनि उमि्रँदो रहेछ नि । यो दुनियाँका नसा-नसा, जात-जात, मांस-मांस छुट्याएर प्रेमको छाला काढ्ने मगजलाई प्रश्न छ- प्रेमको जात हुँदैन, धर्म, रङ पनि हुँदैन । त्यसैले ममाथि प्रेम खन्याउनेहरू पनि सबै जात, धर्म र रङका मान्छे छन् । जसको प्रेमले म आफैंमा पुष्ट भएकी छु । सबै प्रेमीहरूको प्रेमलाई वरण गर्छु । एकजना कविलाई मैले भनेँ- तिम्रो कवित्वसँग संसर्ग भोग्छु । यो कुरा बडो गजबकै थियो । सामान्य मान्छेलाई यो कुराले मनमा एक खालको उथलपुथल आउँछ । हुन त मान्छेहरू सबैलाई सबै कुरा भोग्न गाह्रो हुन्छ ।
तर मलाई पटक्कै छैन । र त म सामान्य मान्छेभन्दा स्वतन्त्र मान्छे । मलाई शंकर लामिछानेको शैली मनपरेको छ । मान्छेलाई प्रेम गर्ने शैली त्यसलाई अभिव्यक्त गर्ने शैली सिर्जनामा कुनै हाम्रो पोट्रेट पेन्टिङ हेरेजस्तो आनन्द लाग्छ । त्यसो त गोपालप्रसाद रिमालको कविताका प्रेमिकाहरू पनि कम सुन्दर छैनन् । लाग्छ, रिमालजीले आफ्नो जीवनको सबैभन्दा आत्मीय पल तिनीहरूसँग भोगे र उनीहरूसँग समय बिताउन पाउँदा सबैभन्दा खुसी भए कि !
याद रहोस्, समयले सिर्जनाकारहरू बढी स्वतन्त्र हुन्छन्, उनीहरू बढी जिन्दगीसँग रोमान्स गर्छन् । सतहमा कोही नभए पनि आफैंले सिर्जना गरेका पात्रहरूसँग रमाउँछन् । अन्ततः कवि, प्रेमी, पागल, उस्तै-उस्तै जन्तु हुन् । म पनि त्यसैभित्र परेँ कि ? यतिबेला मलाई मनपरेका कवि मनु मन्जिलले भनिदिएछन्- किताब मलाई प्रेमिकाजस्तो लाग्छ । बस किताबलाई मनुले प्रेमिका ठाने र मैले पनि प्रेमी ठानेँ । आहा, यो समयका शक्तिशाली सिर्जनाहरू ! आई लभ यु !