जेरुसेलम , फाल्गुन ७ ,
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गुप्तचरका क्रियाकलाप सार्वजनिक गरिँदा मुलुकको सुरक्षामा नराम्रो क्षति पुग्नसक्ने आइतबार बताएका छन् । मोसादसँग सम्बद्ध अस्ट्रेलियाली-इजरायलीको पक्राउ तथा मृत्युका समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री नेतान्याहुले उक्त टिप्पणी गरेका हुन् ।
उनले आफ्नो विघटन हुन लागेको मन्त्रिपरिषद्मा उक्त टिप्पणी गरेका हुन् । इजरायली प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई आफ्नो कार्य गर्न दिन आग्रह समेत गरे । शंकास्पद गुप्तचरको मृत्युको समाचार इजरायल तथा अस्ट्रेलियाको आमसञ्चारमा प्रमुख समाचार बनेको थियो ।
प्रधानमन्त्री कार्यालयबाट जारी एक विज्ञप्तिमा सुरक्षा तथा तथा गुप्तचर क्रियाकलापका बारेमा जानकारी सार्वजनिक गर्दा राज्यको सुरक्षामा नराम्रो क्षति पुर्याउन सक्ने भएकाले हरेक विवादमा सुरक्षाका अभिरुचिलाई कमजोर बनाउन नहुने उल्लेख गरिएको छ ।
उनले इजरायलको अवस्थाका कारण यस्तो कुरा मुख्य अभिरुचिको विषय भएको पनि उल्लेख गरेका छन् ।
इजरायलको गुप्तचर संस्था मोसादका लागि काम गर्ने बन्दी-एक्स अर्थात् अस्ट्रेलियाली आप्रवासी बेन जिगिरको परिचय सार्वजनिक भएपछि आमसञ्चारमा आलोचना गरिएको थियो ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले जिगिर सन् २०१० को डिसेम्बरमा तेलअभिभनजिकै आयालोन कारागारमा झुन्डिएको अवस्थामा फेला परेको समाचार प्रकाशन गरेको थियो । यस विषयलाई इजरायलले गोप्य राख्न चाहेको थियो ।
यस विषयमा इजरायलले आमसञ्चारलाई जानकारी दिएको थिएन र यस विषयमा विश्वभर समाचार प्रकाशन भएपछि इजरायल बोल्न बाध्य भएको छ । एजेन्सी:
.