काठमाण्डौ फागुन ७,
यदि देशव्यापी रूपमा दाइजो विरोधी अभियान थालनी नगर्ने हो भने कैयौं छोरीले अकाल मृत्युवरण गर्न बाध्य हुनुपर्नेछ ।
हालै परासीकी एक महिलाले आफ्नो तेस्रो सन्तान पनि छोरी जन्मिएपछि आत्महत्या गरिन् । तराईका जिल्लाहरूमा दाइजो प्रथा अत्यधिक भएकाले छोरीको जन्मलाई त्यति स्वागत गरिँदैन ।
दाइजोको कारण कैयौं महिलाले शारीरिक र मानसिक पीडामात्र होइन, जिउँदै अग्निदाह हुनुपरेको छ । आफ्नो खुसी र गच्छे अनुसारले छोरीलाई केही उपहार दिनु ठीक हो, तर विवाह गर्दा कुनै वस्तुजस्तै मोलतोल हुनु, केटीका बाबुआमालाई मानसिक तनाव दिनु पूर्णरूपमा मानवअधिकार विरोधी कार्य हो, जसलाई आजको सभ्य समाजले गर्नु हुँदैन ।
दुई वर्षअघि रौतहटकी १९ वर्षीया मञ्जुदेवी साहले सम्झौता अनुसारको रकम नल्याएको निहुँमा जिउँदै जल्नुपर्यो । मञ्जुका बाबुआमा र केटा पक्षबीच दाइजोको रूपमा पन्द्र हजार दिने निर्णय भएकोमा केटी पक्षले तत्काल दस हजारमात्र दिई बाँकी पाँच हजार केही दिन ढिला भएपछि सासू, ससुरा र लोग्नेले उनलाई जलाएर मारे । त्यसैगरी २०१० डिसेम्बरमा रौतहट ब्रह्मपुरीकी ममतादेवी दासलाई दाइजोमा साइकल नदिएको हुनाले हत्या
गरियो । नेपालगन्जमा एकजना मुस्लिम महिलालाई उनका पति र ससुराले एक वर्षसम्म सर्त अनुसारको मोटर साइकल नदिएकोमा जलाएर मारे । केही वर्षअघि एकजना लोग्नेले दाइजो कम भएकोमा आपmनी पत्नीलाई साइकलमा बाँधेर ससुराली पुर्याएको समाचारमा आएको थियो ।
दाइजोको संस्कृतिले समाजमा दरिलो जरो गाडेको छ । पहाडी समाजमा पनि आजभोलि केटा र केटा पक्षले दाइजोको मोलमोलाइ गर्न थालेका छन् । यसलाई निर्मूल पार्न सजिलो छैन । कानुनले निषेध गरे पनि मानिसहरूको सोच बदलिएको छैन, पढेलेखेका मानिसहरूका सोचमा पनि परिवर्तन आएको छैन भने अशिक्षित मानिसहरूको के कुरा गर्ने ? समाजमा व्याप्त यो कुसंस्कारलाई बदल्न दरिलो कार्ययोजना आवश्यक छ ।
भारतसंँग सिमाना जोडिएको नेपालको तराईका धेरै जिल्लामा दहेज प्रथाले अत्यन्तै नराम्रोगरी प्रभाव पारेको प्रस्ट देखिन्छ । भारतमा ९० मिनेटमा एउटा महिलाको दाइजोको कारणबाट मृत्यु हुने गरेको कुरा त्यहाँको अपराध विभागको एउटा तथ्याङ्कमा जनाइएको छ ।
छोरा जन्माउने आमाहरू गर्वले छाती फुलाउने तर छोरी जन्माउने आमाहरू पीडाले पिल्सिने, सधैं मानसिक तनावमा बाँच्ने र आत्महत्या गर्न उत्प्रेरित हुने प्रवृत्तिको अन्त हुनैपर्छ । साथै छोरीहरूको आत्मबल विकास गर्न पनि दाइजो नलिई विवाह गर्न युवाहरूलाई प्रोत्साहित गर्नु आवश्यक छ । यो अभियानमा महिला समूहहरूको सहयोग अपरिहार्य छ । गाउँघरहरूमा अहिले महिला समूहहरू एकदमै क्रियाशील देखिन्छन् । विभिन्न सामाजिक विकृतिविरुद्धको अभियानमा उनीहरू लागिरहेका छन् ।
विभिन्न जिल्लामा केही वर्षअघि महिला समूहहरूले एकल महिलाको पक्षमा चलाएको रातो लुगाको अभियानले निकै चर्चा पाएको थियो । आपmनो लोग्ने गुमाएपछि एकल महिलाहरूले घर, परिवार र समाजमा भोग्नुपरेको अपहेलना र तिरस्कारलाई अन्त गर्न नवलपरासी गंैडाकोटका महिलाहरूले सशक्त रूपमा अभियान चलाए । रातो लुगा, टीका, चुराको अभियान । आफ्नै सासू-ससुराले समेत बुहारीलाई रातो पहिरन दिए । यो अभियान विभिन्न जिल्लामा सञ्चालन भयो । यो एउटा सामाजिक क्रान्ति नै थियो, जसको सुरुआत गर्ने महिलाहरू नै थिए, जसमा पुरुषहरूको पनि सक्रिय सहभागिता थियो ।
अहिले समाजमा बढ्दै गइरहेको दाइजो प्रथाको अन्तका लागि महिला र युवाहरूले सक्रिय रूपमा भूमिका खेल्नुपर्छ । आजका युवाहरूले प्रण गर्नु आवश्यक छ, म मोटरसाइकल वा कुनै पनि नगदपैसा नलिई विवाह गर्नेछु । विवाह हुने केटीले पनि दाइजो माग्ने केटासँग विवाह नगर्ने प्रण गर्न सक्नुपर्छ । छोरीका बाबुआमाहरूले पनि छोरीलाई बोझको रूपमा हेरेर होइन, छोरासरह आफ्नो अनमोल सम्पत्तिका रूपमा हेरेर छोरासरह नै शिक्षा दीक्षामा लगानी गर्नु जरुरी छ ।
समाजको कुप्रचलनलाई अन्त गर्ने कानुनले मात्र पुग्दैन, समग्र समाजको सहभागिता चाहिन्छ । सबैको घरमा छोरीहरू हुन्छन् र तिनका छोरीहरू कसैका बुहारी हुन पुग्छन् । यसैले आमा र सासूहरूले यो कुरालाई बुझ्न जरुरी छ । विवाह गर्दा दहेजको माग नगर्ने, दहेज लिने र दिने दुवै पक्षलाई कडा कानुनी सजाय गर्नु जरुरी छ । यदि देशव्यापी रूपमा यो अभियानको थालनी नगर्ने हो भने कैयौं छोरीले अकाल मृत्युवरण गर्न बाध्य हुनुपर्नेछ, दाउराजस्तै जल्नेछन् ।(स्रोत-इकान्तिपुर)