चितवनको माडी महोत्सव विवादास्पद

चितवन, फागुन १७ ,

चितवनको माडीमा आजदेखि सुरु हुन लागेको माडी महोत्सवको उद्घाटनको विषयमा विवाद भएपछि विपक्षी दलका प्रमुख एवम् प्रतिनिधिहरु उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। उद्घाटन बाहेकका कार्यक्रम भने बहिस्कर नगरिने ती दलहरुले स्पष्ट पारेका छन्। 

'माडीको विकास हाम्रो अभियान : कृषि र पर्यटन हाम्रो पहिचान' भन्ने मूल नाराका साथ पहिलो माडी महोत्सव आजदेखि सुरु हुँदैछ। महोत्सव उद्घाटनका लागि तीन ठूला दलका प्रमुख नेता बोलाउने सहमति भएपनि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रमुख अतिथि बनाइनुपर्ने सो पार्टीको अडान र अन्य पार्टीले कसैलाई पनि नबनाउने भन्ने अडानका कारण विवाद भएको हो। 

नेपाली काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठका अनुसार प्रचण्डसहित नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल कार्यक्रमको उद्घाटन सत्रमा आउने पक्का भएको भएपनि प्रमुख अतिथिबारे विवाद भएपछि एमाओवादी बाहेकका दलहरुले उद्घाटन सत्र बहिस्कार गर्ने भएका हुन्। पहिले तीन दलका शीर्ष नेताहरुलाई प्रमुख अतिथि बनाउने सहमति भएपनि अन्तिम समयमा आएर एमाओवादीले प्रचण्डलाई मात्र बनाउने तय गरेपछि उद्घाटन कार्यक्रम बहिस्कार गर्न बाध्य भएको एमाले चितवनका अध्यक्ष जेएन थपलियाले जानकारी दिए । 

महोत्सवको आज एमाओवादीका अध्यक्ष प्रचण्डले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन अघि बिहान १० बजेदेखि विभिन्न स्थानबाट हात्तीसहितको शोभायात्रा तथा झाँकी निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए । सात दिनसम्म चल्ने महोत्सवमा मुख्य आर्कषणको रुपमा माछा पोखरी र माडीमा उत्पादित कृषिजन्य उपज रहने बताइएको छ। 

महोत्सवको अवसरमा हेलिकोप्टरबाट माडीमा रहेका सोमेश्वर कालिका, पाँचपाण्डव तथा गोद्धक क्षेत्र, बैकुण्ठ क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्नसमेत पाइनेछ। महोत्सव अवधिभर भलिबल प्रतियोगिता, माडीस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रम र वसन्तपुर बजारमा तीन दिने माडी फुड फेस्टिबलकोसमेत आयोजना गरिएको छ। 

महोत्सव अवधिभर तीन करोड रुपैयाँ बराबरको कारोबार हुने तथा एक लाखले महोत्सव अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ। माडीको वसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको खुल्ला चौरमा हुने महोत्सवमा राखिने सबै स्टलहरको बीमासमेत गरिएको आयोजकले जनाएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com