पूर्व युवराजको रक्तश्राव रोकिए पनि स्वास्थ्यमा सुधार आएको छैन


 काठमाडौं, फागुन १४ ,

हृदयघातले बेहोस पूर्व युवराज पारस शाहको आन्तरिक रक्तश्राव रोकिए पनि स्वास्थ्य अवस्था सुधारिएको छैन। पाँच दिनदेखि पारसको उपचारमा संलग्न बैंककस्थित समितिभेद अस्पतालका अनुसार शनिबारबाट उनको शरीरको भित्री भागमा सुरु भएको रक्तश्राव भने रोकिएको छ।

सिसियुमा राखिएका उनलाई रक्तश्रावपछि भेन्टिलेटरमा सारेर उपचार थालिएको अस्पतालले जानकारी दिएको थियो। आइतबार अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको पेटबाट सुरु भएको रक्तश्राव रोकिएको छ।

'चिकित्सकहरुले सफलतापूर्वक पेटवाट सुरु भएको रक्तश्राव रोकेका छन्,' बुलेटिनमा छ, 'अस्थिर रक्तचाप पनि घटेको छ।' रक्तश्राव र रक्तचापमा सुधार भए पनि उनको स्वास्थ्य अवस्था भने गम्भीर तर स्थिर रहेको अस्पतालको बुलेटिनमा उल्लेख छ।

बैंककमा गैरआवासीय नेपाली संघ, थाइल्यान्डका सचिव सुनिल खड्काको अपार्टमेन्टमा बस्दै आएका उनलाई बुधबार हृदयघात भएपछि उपचारका लागि अस्पताल पुर्या इएको थियो। अचेत अवस्थामा अस्पताल पुर्याृइएका उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन।

प्रारम्भमा सुनिलको रेखदेखमा उपचार भइरहेको थियो। बिहीबार पारसकी बहिनी प्रेरणासहितको पाँचजना टोली काठमाडौंबाट बैंकक गएको तेस्रो दिन पूर्व युवराज्ञी हिमानीसमेत बैंकक पुगेकी छिन्। अहिले उनकै परिवारको रेखदेखमा उपचार भइरहेको छ।

ज्ञानेन्द्र-कोमल काठमाडौंमा
एकमहिने पूर्वी नेपालको भ्रमणमा सिमरा रहेका पूर्व राजदम्पती ज्ञानेन्द्र र कोमल शाह आइतबार काठमाडौं फर्किएका छन्। माघ २६ गते ज्ञानेन्द्र परिवारका सदस्यसहित सिमरा पुगेका थिए। छोरो पारसलाई बैककमा हृदयघात हुँदा दुवै सिमरामै थिए।

आइतबार दिउँसो बुद्ध एयरको विमानबाट उनीहरु काठमाडौं आइपुगेका हुन्। स्रोतका अनुसार छोराको स्वास्थ्य अवस्थाबारे उनीहरुले बैंककमा रहेका बुहारी र छोरीसँग टेलिफोनमा जानकारी लिइरहेका छन्। उनीहरु बैकक जाने-नजाने निश्चित भइसकेको छैन। (स्रोत-नागरिक)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com