काठमाडौं, फागुन १४,
नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले मातृभाषाको प्रयोग र संरक्षण गर्नु मानव संस्कारको एक अङ्ग भएको बताएका छन्। अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा गोरखापत्र संस्थानद्वारा आइतबार आयोजित 'नयाँ नेपाल बहुभाषिक पृष्ठ प्रकाशनको प्रभावकारिता' विषयक अन्तर्क्रिया कार्यक्रममा मुख्य सचिव पौडेलले मानिसको व्यक्तित्व विकासमा मातृभाषाको अहम् भूमिका हुने भएकाले यसलाई हीनताको भावले नहेर्न आग्रह गरे।
तर बजारमा प्रतिस्पर्धी बन्नका लागि सम्पर्क भाषाहरुको अध्ययनमा पनि उत्तिकै ध्यान दिन उनले जोड दिए। उनले गोरखापत्र दैनिकले प्रकाशन गरिरहेको बहुभाषिक पृष्ठले मातृभाषाप्रतिको ग्रहणशीलता बढाएको, मातृभाषीलाई अपनत्व प्रदान र मातृभाषाको लिपिको अभिलेखनमा विशेष योगदान गरेको चर्चा गरे।
मुख्य सचिव पौडेलले आगामी दिनमा बहुभाषिक प्रकाशनका लागि सरकारले दिने बजेटमा वार्षिक रु तीन करोडबाट कमी हुन नदिने विश्वास दिलाए। कार्यक्रममा प्राध्यापक माणिकलाल श्रेष्ठले गोरखापत्रको 'नयाँ नेपाल पृष्ठ' प्रकाशनका लागि तत्कालीन सूचना तथा सञ्चार मन्त्रालय र गोरखापत्रभित्र सङ्घर्ष गर्नुपरेको सन्दर्भ स्मरण गर्दै त्यसबेला यसको औचित्य छैन भन्नेहरु अहिले मौन रहेको बताए।
गोरखापत्रले विसं २०६४ असोज १ गतेदेखि दैनिक दुई भाषाको नयाँ नेपाल पृष्ठ प्रकाशन गर्र्दै आएको छ। संस्कृतिविद् तुल्सी दिवसले मातृभाषाको प्रकाशनबाट नेपालको बहुसांस्कृतिक आयामलाई सम्बोधन भएको बताए।
संस्थानका महाप्रबन्धक कपिल घिमिरेले सरकारले पहिलो वर्ष रु तीन करोडड बजेट विनियोजन गरे पनि हालः रु दुई करोड मात्र आएकाले पृष्ठ प्रकाशनमा आर्थिक समस्या रहेको बताए। गोरखापत्रका तामाङ भाषाका पृष्ठ संयोजक अजितमान तामाङले बहुभाषिक पृष्ठ प्रकाशनबाट मातृभाषीहरुबीचको सञ्जाल विस्तार भएको बताए।
यस्तै, मगरभाषाका पृष्ठ संयोजक मेकबहादुर रानामगरले मातृभाषाको प्रकाशन कार्यमा संलग्न सञ्चारकर्मीलाई संस्थानले सौतेनी व्यवहार गरेको गुनासो गरे। कार्यक्रममा विभिन्न मातृभाषामा कविता वाचन पनि गरिएको थियो। रासस;