काठमाण्डौ फागुन १८,
झमक घिमिरे : त्यो अबोध बालिका बोल्न सक्दिन, उसले कान पनि सुन्दिन । ऊ थोत्रा कागतका चित्र भएका टुक्रा बटुलेर म भएको ठाउँमा ल्याएर- 'सायद तिमी यस्तै राम्री छौ' भनिरहन्छे हाँसेर हात मुखमा लगेर च्वाप्प बजाउँदै प्रेममय भाव दर्शाइरहन्छे ।
म त्यसको क्रियाकलापप्रति आनन्द मानेर हेरिरहन्छु । उसको अबोधपन, निर्दाेषपन मीठो लागिरहन्छ । मनमा प्रश्न उठिरहन्छ- 'यो स्वार्थको दासताभित्र जकेडिएका मान्छेहरूको हुलभित्र नानी तेरो मूल्य कति ? यस्तै-यस्तै प्रश्न मनमा खेलाउँदै म पनि उसको क्रियाकलापमा सामेल हुँदै मज्जा लिइरहेकी थिएँ । त्यो दृश्यले आँखा बिझाइरहेको रहेछ । मेरो घरवालालाई ऊ फुत्त बाहिर निस्किएर त्यस बालिकाको निर्दाेष शरीरमाथि आफ्ना बलिष्ठ हात दुई-तीनपटक बजार्यो ।
त्यो बालिका रुन नसक्ने भएर एकछिन रोकिएर रुन थालेपछि बोल्यो- 'यस्तालाई पल्काउनु हुँदैन, आमा चाहिंलाई काम गर्न बोलायो भने सँगसँगै आउँछ । सानी बच्ची छे विचरी आमासँग पछ्याउनु कुन दोष र ?
यो मान्छेले त देशको वास्तविकता बुझेको रहेनछ । देशका अधिकांश श्रमिक वर्गका बालबालिकाहरू ढुंगा, माटो, धुलो खेल्दै हुर्किन्छन्-बढ्छन्, बाबुआमासँगै भन्ने कुरो खोई यो मान्छेले बुझेको ? उसले आलिसान भवनभित्र सबै ऐसआराम भोगेर हुर्किने बालबालिकाहरूलाई मात्र देखेको रहेछ ।
त्यसलाई देशको वास्तविकता ठानेको रहेछ । नत्र त्यो अबोध बालिकाको के दोष थियो र ? त्यसरी अनाहकमा कुट्यो ? उसको पेटीसम्म आउन नहुने यो कस्तो क्रूरता हो ? के यहाँ हुनेहरूको मात्र राज चल्छ ? आफ्ना ज्यान छोराछोरीलाई पुलपुल्याएर भात आफैं खुवाइदिने बाबुआमाप्रति मनमनै घृणा जाग्यो । बोलुँ भने अर्काे उत्पात मच्चिने भयले केही भन्न सकिन । सायद म आफैं पनि स्वार्थको खाल्डोमा थिएँ कि ? तर एउटा प्रश्न खडा भयो, यो मान्छेलाई यही बच्चीलाई जस्तै गर्ने हो भने राम्रो लाग्ला ?
बालअधिकारका नाममा ठूलठूला नाराबाजीका पसल थाप्नेहरू खोई कहाँ छन् ? यसको सुकिलो बिल्डिङमा मलाई पनि नसुहाउने ठान्दो हो । विचरालाई कति असजिलो होला ? मैले एउटी म्याडमबाट उसको प्रशंसा सुने- त्यो सर त देवताजस्तै हुनुहुन्छ । मेरो आँखा अगाडिको क्रूर दृश्य बोल्यो म्याडम । यो मान्छे देवता होइन, यो त मान्छेको मन झिकिएको नरपशु हो । भौतिक दुनियाँसँग रमाउने मान्छेहरूसँग खोई मानवता कहाँ छ ? उनीहरूसँग दुनियाँका सारा ऐसआराम पाउन सम्भव होला, तर मान्छेको पन खोई ? अनि बाँच्नु एउटा यन्त्रजस्तो ।
मकहाँ आउने साथीहरू भन्छन्- तिमीकहाँ आउँदाको मज्जा बेग्लै हुन्छ । अनुभूति अर्कै हुन्छ । यो उनीहरूले पाएको मज्जामा अलिकति यान्त्रिक कुरा मिसाउने हो भने त्यो फिक्का हुन्छ । नमज्जा हुन्छ । अर्थात् मान्छे उपभोक्तावादी समयमा पनि उनी मान्छेको पन खोज्छ । उनी आत्मीय व्यवहार खोज्छ ।
आखिर संसारका बादशाहहरूले जो आफूलाई संसारको राजा ठान्छन्, उनीहरूले पनि मर्दा के लिएर जान्छन् ? उही खाली हात । सुकरातलाई विष पिलाउने, ग्यालिलियोलाई कठघरामा उभ्याउने, अनि संसारका हजारौं मान्छेको ज्यान लिने हिटलर, मुसोलिनीहरूले मर्दा साथमा के लिएर जान पाए त ? उही खाली हात । साथमा एउटा नमीठो दर्द लिएर गए ।
मान्छेहरू मान्छेदेखि वाक्क छन्, विरक्त छन् किन ? उनीहरू भन्छन्, मलाई मान्छे मन पर्दैन, स्वार्थले भरिएको भाँडो हो । यो मान्छेलाई मान्छे मन नपर्नुको कारण पनि उही उपभोक्तावादी युगले थोपारेको दासताको परिमाण हो । मान्छेलाई आफ्नो बाहेक कसैको मतलव छैन । सबैलाई आफू बाँचे भयो, अरु बाँच्नु पर्दैन । अनौठो प्रश्न खडा हुन्छ ममा, संसारका सबै मान्छे स्वाहा भए भने एउटामात्र मान्छे बाँच्यो भने ऊ के गर्ला ? यो मेरो चञ्चल दिमागको कुरोमात्र हो । यहाँ आफ्नो हात जगन्नाथ गर्नेहरूको हुल पनि सानो छैन ।
यिनीहरूसँग पनि देशले डराउनुपर्ने अवस्था छ । यी स्वार्थका चण्डाललाई देखेर इमानदार मन त्यसै-त्यसै खिन्न हुन्छ । बेइमानहरूसँग इमान कुस्ती खेलिरहन्छ वर्तमान । मूकदर्शक बनिरहन्छ । यहाँ इमानसँग बाँच्ने मान्छेको स्थान खोई ? भित्रभित्रै सुतेको इमान चिल्लिन्छ । उसको चिल्लाई सुन्ने कान छैन । समय निराश हुन्छ बोल्छ । बलेको आगो होइन, बालेर आगो ताप्ने मान्छेको साहस खोई ? त्यो मान्छेले देखेको पठित मान्छे जान्ने-बुझ्ने मान्छेलाई मैले महामूर्ख देखेँ ।
उसले देवता ठाने पनि उसलाई दानव देखेँ । सायद यस्तै पठित स्वाँठहरूलाई देख्दा हाम्रा महाकविको पारो तातिएछ र भनेछन्-तिम्रो स्वर्ग मेरो पाताल तिम्रो आकास मेरो पाताल तिम्रा विद्वान मेरा महामूर्ख आहा, साह्रै चित्त बुझ्यो । जुन कुरो आफूलाई अरुले गरेको मन पर्दैन, त्यो कुरा अरुमाथि नगरे कति सुन्दर हुन्थ्यो होला मान्छेले । यो साइन्सको प्राध्यापकको क्रूरता देखेर ममा आक्रोशले ज्वाला दन्किरह्यो । खोई यो मान्छेसँग मानवता ? अलिकति सद्भाव, सहानुभूति छैन भने यसले समाजलाई कस्तो खालको पाठ सिकाउँछ ?(.स्रोत-इकान्तिपुर)