सानोठिमीमा प्रशासनद्वारा थप पाँच दिन क्याम्पस बन्द

भक्तपुर, फागुन १८ ,

भक्तपुरको सानोठिमी क्याम्पसमा आज बिहानै देखि तनाव उत्पन्न भएको छ। तनाव बढेपछि सम्भावित झडप रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले क्याम्पसलाई घेराबन्दीमा राखेका छन्। स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पसले हिजो १७ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न तयारी गरेको सहिद सप्ताह खेलकुद २०६९ को विषयमा भएको विवादका कारण गत बुधबार क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसङ्घ तथा अनेरास्ववियुबीच झडप भएपछि बन्द क्याम्पसमा आज फेरि तनाव उत्पन्न भएको हो। 

क्याम्पस प्रशासनले १६ र १७ गते क्याम्पस बन्द गरेपछि नेविसङ्घ र अनेरास्ववियुले संयुक्त रूपमा आज बिहान क्याम्पस प्रमुख नरप्रसाद थापा र स्ववियुको विरोधमा क्याम्पस अगाडि विरोधसभा तथा क्याम्पस प्रमुखको पुत्ला दहन कार्यक्रम राखेपछि क्याम्पसमा आज बिहानैदेखि तनाव बढेको हो। तनाव बढेपछि सम्भावित झडप रोक्न भन्दै क्याम्पस प्रशासनले आज देखि २२ गतेसम्म थप पाँच दिनका लागि सूचना जारी गरी क्याम्पस बन्दको निर्णय गरेको छ भने विद्यार्थी सङ्गठनहरूलाई आज ११ बजे वार्ताका लागि आह्वान गरेको छ। 

विरोधमा उत्रिएका नेविसङ्घ र अनेरास्ववियुले भने क्याम्पस प्रमुखले वार्तामा बोलाएर क्याम्पस बन्दको सूचना जारी गरी वार्ताबाट भागेको आरोप लगाउँदै आन्दोलन र अनिश्चितकालीन क्याम्पस बन्दको घोषणा जारी राख्ने बताएका छन्। क्याम्पसको मुख्य प्रवेशद्वारमा कालो ब्यानर राखेर नारा लगाउँदै विरोधको कार्यक्रम गरेका नेविसङ्घ र अनेरास्ववियुले बिहान ९ बजेभित्र पुत्ला जलाउने र विरोधसभा गर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् क्याम्पस इन्चार्ज सन्तोष खड्काले बताए। 

नेविसङ्घका केन्द्रीय सदस्य विकास थापाले विरोधको कार्यक्रम नरोकिने बताउँदै माग पूरा नभएसम्म वार्तामा नबस्ने बताए। यता अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुवास ढकालले हरेक वर्ष स्ववियुले नै गर्दै आएको खेलकुद सप्ताह यस वर्ष पनि निरन्तरता दिन लागेको भन्दै स्ववियु सबै विद्यार्थीको साझा सङ्गठन भएकाले यसमा सबै सहभागी हुनुपर्नेमा विरोध गरिए पनि अब विवादभन्दा वार्ताबाटै समस्याको निकास चाहेको बताए। 

 खेलकुद सप्ताह स्ववियुले एकल आयोजना गर्ने लागेको भन्दै नेविसङ्घ तथा अनेरास्ववियुले सबै विद्यार्थी सङ्गठनले संयुक्त रूपमा आयोजना हुनुपर्ने माग राखेपछि विवाद भएको थियो। गत बुधबार भएको झडपमा दुवैतर्फका १२ जना भन्दा बढी विद्यार्थी घाइते भएका थिए। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com