काठमाण्डौ फागुन १८,
विवाह हुनु १-२ महिनाअघिदेखि नै बेहुलीले आफ्नो सौन्दर्य तथा शरीरको ख्याल राख्नु आवश्यक छ । शरीरलाईर् धेरै मोटो र भद्दा हुन नदिनु, अनुहार तथा हातखुट्टाको छालालाईर् नरम एवं चम्किलो राख्नुका साथै अनुहारमा भएको चायाँ, पोतो तथा दागहरू हटाउने उपाय गर्नुपर्छ ।
आफूलाईर् सुन्दर एवं फिट राख्न बेहुलीले नियमित व्यायाम गरे, समयमै सुते, खानेकुरामा विशेष ध्यान दिई चिल्लो-पिरो तथा मसालेदार खाना सकेसम्म नखाए, दिनमा २-३ लिटर पानी नियमित पिए, टेन्सन नलिनुका साथै सधैं सकारात्मक भावना राखे मात्र शरीर फिट हुनुका साथै अनुहार उज्यालो र चम्किलो देखिन्छ ।
हुनेवाला बेहुलीले आफ्नो सौन्दर्य हेरचाह गर्नुअघि दक्ष ब्युटिसियनसँग सरसल्लाह गर्नु आवश्यक छ । सौन्दर्यका लागि राम्रो गुणस्तरको फेसवास, फेस क्लिन्जर, टोनर, डे-क्रिम, नाइट क्रिम, सनब्लक क्रिम मोस्चराइजर तथा पाउडर आदि आवश्यक हुन्छन् ।
सकिन्छ भने १५-१५ दिनमा ब्युटिसियनसँग फेसियल फेस क्लिन्जिङका साथै अनुहार तथा केशको टि्रटमेन्ट गराउनु राम्रो हुन्छ । बेहुलीले विवाहको दुई दिनअघि गोल्ड वा ब्राइडल फेसियल गराउँदा अनुहारमा चमक आउँछ । विवाहको एक महिनाअघि नै मेनिक्योर र पेडिक्योर गराउनुपर्छ भने त्यसपछि पनि घरमै निरन्तर हातखुट्टाको रेखदेख गुर्नपर्छ ।
हातखुट्टाको वाक्स गर्नुपरे विवाहको ३-४ दिनअघि मात्र गराउनुपर्छ । वाक्स गर्दा मनतातो पानीले हलुकासँग पुछेर क्यालामिना लोसन लगाउने । त्यसपछि हातखुट्टा नरम र चम्किला देखिन्छन् ।
बेहुलीले ८-१० दिनअघि नै केश कलर गराउनु पर्छ किनभने ८-१० दिनभित्रमा कलर केशमा राम्रोसँग सेट भैसक्छ । त्यसपछि कट गर्नु छ वा आफूलाईर् नयाँ लुकमा देखिने मन छ भने सुट गर्ने किसिमको हेयर कट गर्न सकिन्छ । विवाहको एक दिनअघि आइब्रो मिलाउने र सोही दिन हातखुट्टामा मेहन्दी पनि लगाउने । यी कार्यहरूका साथै बेहुलीले आफूलाईर् सुहाउने मेकअप तथा जुरोका बारेमा १-२ दिनअघि नै ब्युटिसियनसित सरसल्लाह गर्नुपर्छ अर्थात् कुन किसिमको जुरो आफूलाईर् सुहाउँछ भन्ने कुरा पहिले नै ट्रायल गर्नु राम्रो हुन्छ । (नारी)