कवि शिरोमणिको २२८ औं जन्मजयन्ती फ्लोरिडामा

फ्लोरिडा (अमेरिका), फागुन १४,

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज (अनेसास) ले कवि शिरोमणि लेखनाथ पौड्यालको २२८ जन्मजयन्ती विभिन्न साहित्यिक र सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ। यहाँ आयोजित एक कार्यक्रममा बोल्दै अमेरिकाका लागि मानार्थ महावाणिज्य राजदूत तथा लोकगायक प्रेमराजा महतले नेपालीको कला, संस्कृति र पहिचान विश्वभर फैलिरहेकाले नेपाली जहाँ रहेपनि उनीहरुले नेपाल र नेपाली भनेर गर्व गर्न सक्ने अवस्था बनेको बताए। 

वरिष्ठ गायिका मीरा राणाले नेपालको कला संस्कृति, परम्परा र भाषा जोगाउन स्वयम् नेपाली एकजुट भएर लाग्नुपर्ने उल्लेख गरिन्। वृद्ध समाजसेवी ज्ञानबहादुर जोशीले विदेशमा बसेर नेपालको जस्तो फोहरी राजनीति नगर्न नयाँ पुस्तालाई आग्रह गरे। आयोजक संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठले विदेशी संस्कृतिमा हुर्किरहेको पुस्तालाई नेपालको कला, साहित्य संस्कृति, भाषा, भेष, चाडपर्वबारे अवगत होस् भन्ने मूल लक्ष्यका साथ संस्थाले विगत सात वर्षदेखि काम गरिरहेको जानकारी दिए। 

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुन्दर जोशीले नेपालमा विदेशमा बस्ने नेपालीले खाली नामका लागि मात्र काम गरिरहेका छन् भन्ने आरोप लगाइने गरेकाले त्यसलाई चिर्न आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा फ्लोरिडा एसोसियसन अफ नेपाली सोसाइटीका अध्यक्ष विमल नेपालले विदेशमा रहेर पनि नेपाली र नेपालीको हितका पक्षमा रातदिन काम गर्ने थु्रपै नेपालीको सहयोगबाट सानासाना नानीहरुले नेपाली बोल्न थालेको बताए। 

कार्यक्रममा कवि पौड्यालको साहित्यिक जीवनीका बारेमा चर्चा गरिनाका साथै विभिन्न विषयमा लेखिएका कविता वाचन गरिएको थियो। कार्यक्रममा विभिन्न अवसरमा आयोजना गरिएका साहित्यिक प्रतियोगितामा विजयी बालबालिकालाई पुरस्कारसमेत वितरण गरिएको थियो । गायिका राणा र लोकगायक महतले गीत प्रस्तुत गरेका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com