लगातार हिमपातका कारण स्थानीय लद्युजलविद्युत् परियोजना बन्द
म्याग्दी (बाबियाचौर), फागुन ७ ,
लगातार तीन दिनको हिमपातसँगै स्थानीय लद्युजलविद्युत् परियोजना बन्द हुँदा म्याग्दीको गुर्जा गाविस पूरै अन्धकार बनेको छ। फागुन ३ गते साँझदेखि आइतबारसम्म भएको हिमपातका कारण नहर भत्कनुका साथै पोल ढलेपछि गुर्जामा रहेका दुईवटै लद्युजलविद्युत् परियोजना बन्द भएका हुन्।
तीस किलोवाट क्षमताको इङ्लेखोला र २२ किलोवाट क्षमताको घाँसमर खोला लद्युजलविद्युत् परियोजना बन्द हुँदा गुर्जा गाविसका २३० घरधुरी अन्धकार बनेको इङ्लेखोला लद्युजलविद्युत् परियोजनाका अध्यक्ष झकबहादुर छन्त्यालले बताए।
बाक्लो हिउँ परेकाले बिजुलीका पोलहरु भाँचिएको र नहर भत्किएकाले परियोजना बन्द भएको उनले जानकारी दिए। तीन फिट बाक्लो हिउँ परेको अनुमान गरिएको जानकारी दिँदै छन्त्यालले सोमबारसम्म पनि स्थानीयवासीले घरगोठ गर्न नपाएको बताए।
लुलाङ हुँदै गाविसमा प्रवेश गर्ने एकमात्र घोरेटो बाटोसमेत बाक्लो हिउँ परेकाले आवतजावत बन्द भएको छ। हिउँ पग्लिएपछि मात्र परियोजना मर्मत गर्न र आवतजावत गर्न सकिने बताइएको छ।
गोठमा रहेका भेँडा, बाख्रा, गाई, गोरु, भैँसी पनि अत्यधिक चिसो भएका कारण मर्न थालेका छन्। "गोठालाहरु गाउँमा आउन नसकेकाले सङ्ख्या एकिन हुन सकेको छैन" छन्त्यालले भने, "खुला ठाउँमा छाडिएका केही भेँडाबाख्रा र गाईभैँसी अत्यधिक चिसोसँगै घाँस खान नपाउँदा भोकाएर मरेका हुन्।"
यसैगरी हिमपातका कारण राउन्ड धौलागिरि पदमार्गमा पर्ने अन्तिम मानवबस्ती मुदी गाविसको बगर गाउँमा पनि जनजीवन कष्टकर बनेको स्थानीयवासी हरिप्रसाद तिलिजाले जानकारी दिए। हिमपातका कारण गहुँ, जौँलगायत हिउँदेबाली नष्ट गरेको र पशुलाई घाँसपात गर्न नसकिएको उनले बताए। रासस;