राष्ट्रिय समाचार समिति (रासस) आज ५२ वर्षमा


 काठमाडौं, फागुन ७-,

देशको एकमात्र समाचार संस्थाका रुपमा जनतालाई सूचना र समाचारबाट सुुसूचित गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) आज ५२ वर्षमा प्रवेश गरेको छ।

 नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई एकीकृत गरी विसं. २०१८ फागुन ७ गते रासस स्थापना भएको हो। स्थापनाकालदेखि निरन्तररुपमा समाचार दिँदै आएको राससले हाल बिहान ६:३० देखि राति ११ बजेसम्म आफ्नो बुलेटिनबाट प्रत्येक घण्टा समाचार प्रवाह गर्दै आएको छ।


देश-विदेशका आधिकारिक र सत्यतथ्य समाचार सम्प्रेषणका साथै राससले आलेख समाचार, श्रव्यसामग्रीका साथै समाचारमूलक फोटो सेवा दिँदै आएको छ। राससले हाल देशभरका ११० भन्दा बढी सञ्चारमाध्यमलाई ग्राहक बनाई समाचार सेवा दिँदै आएको छ। राससमा हाल १३३ पत्रकार र कर्मचारी साथै १०० जिल्ला प्रतिनिधि कार्यरत रहेका छन्।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यसचिव लीलामणि पौडेलले राससलाई जीवन्त बनाइरहन नेतृत्व वर्ग र कर्मचारी क्रियाशील र लगनशील हुनुपर्ने सुझाव दिए। राससले आफ्नो गुणस्तर वृद्धि गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने खाँचो औँल्याउँदै श्रव्यसामग्रीको सेवालाई प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव धु्रवप्रसाद शर्माले रासस राष्ट्रको गौरव र धरोहर भएकाले समयानुकूल यसलाई सूचना प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले राससको सुधारका लागि नीतिगत निर्णयहरु गर्न मन्त्रालय सधैँ तयार रहेको उल्लेख गरे।

सो अवसरमा सचिव शर्माले राससका पत्रकार र कर्मचारीहरुलाई पुरस्कृत गर्नुभएको थियो।

राससका अध्यक्ष कोमलनाथ बरालले गुणात्मक विकासका लागि संस्थालाई स्वायत्तता दिइनुपर्ने धारणा राखे। महाप्रबन्धक रामकुमार कोइरालाले राससको पहिचान नै सत्यतथ्य, आधिकारिक र सन्तुलित समाचार प्रवाह गर्नु हो भन्दै आत्मनिर्भरका लागि समितिले आफ्नो भौतिक सम्पत्तिहरुको व्यावसायिक उपयोग गर्न लागेको उल्लेख गरे।

राससका पूर्व प्रधानसम्पादक खिलध्वज थापाले सरकारले सरकारी सञ्चारलाई आत्मनिर्भर बन्न अवसर दिनुपर्ने र प्राविधिक र आर्थिक समस्या समाधानमा सहयोग गर्नुपर्ने धारणा राखे। राससका प्रधानसम्पादक श्रीरामसिंह बस्नेतले सरकारसँग समाचार समितिसम्बन्धी नीति नै नभएको र यसलाई कहिले छापा माध्यम र कहिले विद्युतीय माध्यममा राख्ने गरिएको उल्लेख गरे। 

नेपाल पत्रकार महासङ्घ, रासस शाखाका सभापति सूर्यचन्द्र बस्नेतले राससलाई गुणस्तरीय, प्रतिस्पर्धी बनाउन सञ्चारका आधुनिक सामग्री र उचित तालिमको व्यवस्था हुनुपर्ने माग गरे।

रासस कर्मचारी सङ्घका सचिव राजाराम कार्कीले राससका भौतिक सम्पत्तिको व्यावसायिक प्रयोगमा सरकारले लगानी गर्नुपर्ने, समाचार अनाधिकृत रुपमा प्रयोग भइरहेकाले त्यस कार्य रोक्न मन्त्रालयले पहल गरिदिनुपर्ने धारणा राखे। राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेम उपाध्यायले राससको सुधारका लागि दीर्घकालीन नीति र योजना ल्याउनुपर्ने, कर्मचारीहरुको हकहित र वृत्ति विकासमा व्यवस्थापनले ध्यान दिनुपर्ने उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा स्थापित विस २०६९ को रासस पत्रकारिता पुरस्कार राससका प्रमुख समाचारदता निर्मला आचार्य र कार्यकारी सम्पादक सोमनाथ लामिछानेलाई प्रदान गरियो। सो पुरस्कारको राशि जनही रु १० हजार र सम्मानपत्र रहेको छ।

यसैगरी, महासङ्घ रासस शाखाद्वारा प्रदान गरिने 'रासस कर्मठ पत्रकारिता पुरस्कार' चितवन जिल्ला कार्यालय भरतपुरका प्रमुख नारायण अधिकारीलाई तथा 'उमाकान्त-गीतादेवी-चन्द्रमणि रजौरे स्मृति पत्रकारिता पुरस्कार' मकवानपुर हेटौँडा समाचारदाता कृष्णराम परियारलाई प्रदान गरियो। उक्त दुवै पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ।

रासस कर्मचारी सङ्घद्वारा स्थापित 'वासु रिमाल यात्री स्मृति पुरस्कार'बाट सहसमाचारदाता विश्वकुमार शर्मा, उपव्यवस्थापक हेराबहादुर सिंह तथा पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कार्यालय सहयोगी कमलबहादुर ठकुरीलाई पुरस्कृत गरियो। उक्त पुरस्कारको राशि जनही रु पाँच हजार एक रहेको छ।

यस्तै, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससद्वारा स्थापित 'आदित्यध्वज जोशी स्मृति पुरस्कार'बाट सहसमाचारदाता मदन गौतम र सगरमाथा अञ्चल कार्यालय राजविराजका कार्यालय सहायक शम्भुप्रसाद यादवलाई प्रदान गरियो। पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ रहेको छ। साथै प्रेस चौतारी नेपाल रासस शाखाद्वारा स्थापित रु पाँच हजार राशिको 'रासस प्रेस चौतारी पत्रकारिता पुरस्कार' अङ्ग्रेजी सम्पादन शाखाका प्रमुख तीर्थप्रसाद भट्टराईलाई प्रदान गरियो।

सोही समारोहमा नेपाल पत्रकार महासङ्घ रासस शाखाबाट प्रत्येक वर्ष राससका एकजना पूर्वकर्मचारीलाई सम्मान गर्ने परम्पराअनुसार यस वर्ष पूर्व प्रधानसम्पादक खिलध्वज थापालाई सचिव शर्माले दोसल्ला ओढाई सम्मान गर्नुभयो।

यस्तै, राससमा लामो समयदेखि निरन्तर सेवारत मकवानपुरका समाचारदाता कृष्णराम परियार (३० वर्ष) लाई पनि सचिव शर्माले दोसल्ला ओढाई सम्मान गर्नुभयो। साथै, सो सम्मान सुनसरी इटहरीका याम प्रधान (२० वर्ष) पनि प्रदान गरिएको छ।

समारोहमा उत्कृष्ट आलेख, उत्कृष्ट जिल्ला समाचारदाता र उत्कृष्ट फोटो पुरस्कारबाट विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरियो।

उत्कृष्ट आलेखतर्फ काठमाडौँ उपत्यकाबाट उपसमाचारदाता हरि लामिछानेद्वारा लिखित 'गणतन्त्रसँगको अर्थतन्त्रका अपेक्षा' र राजधानी बाहिरबाट गुल्मीका समाचारदाता भरत पाण्डेयद्वारा लिखित 'विदेशबाट फर्केका महिला भन्छन् खाडीको पीडाभन्दा आधा पेट नै जाति' शीर्षकका आलेख पुरस्कृत भएका थिए।

उत्कृष्ट जिल्ला समाचारदाता (स्ट्रिन्जर)तर्फ पूर्वाञ्चलबाट सन्तोष यादव (गोलबजार सिरहा), मध्यमाञ्चलबाट नारायण ढुङ्गाना (रत्ननगर चितवन), पश्चिमाञ्चलबाट तनहँुका सानेबहादुर नेपाली, मध्यपश्चिमाञ्चलबाट रुकुमका हरि गौतम, सुदूरपश्चिमाञ्चलबाट कञ्चनपुरका राजेन्द्रप्रसाद पनेरु र काठमाडौँ उपत्यकाबाट मुना कार्की (काठमाडौँ) पुरस्कृत भएका छन्।

पुरस्कृत व्यक्तित्वहरुलाई जनही रु तीन हजार र प्रशंसापत्र प्रदान गरिएको थियो।

यसैगरी, रासस वर्ष उत्कृष्ट फोटोतर्फ सोलुखुम्बुका समाचारदाता बुद्धवीर राई (हिमालको काखमा डाँफेचरी) फोटोलाई नगद रु एक हजार ५०० र गुल्मीका समाचारदाता भरत पाण्डेय (तम्घासस्थित बालमन्दिर प्राङ्गणमा इँटा बोकिरहेका बालश्रमिकको फोटोे) लाई प्रमाणपत्रसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com