बेवारिसे बम डिस्पोज गर्न नेपाली सेनाको टोली
सुर्खेत, फागुन १३,
हरिहरपुर गाविस-९ तेलपानी जङ्गलमा शनिबार बेवारिसे अवस्थामा भेटिएको एक झोला सकेट बम डिस्पोज गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तेलपानीको ओढारमा स्थानीयले बम देखेका थिए।
बम भेटिएको खबर पाएपछि शनिबारदेखि नै प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था बढाएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले नेपाली सेनाको मध्यपश्चिम पृतना कार्यालयलाई बम डिस्पोजका लागि अनुरोध गरेअनुसार सेना त्यसतर्फ गएको हो। स्थानीय डम्मर बडुवालले झोलामा रहेको आठवटा सकेट बम बाहिरैबाट देखिएको बताए। भिरालोमा ओढार भएकाले अरु पनि बम हुन सक्ने स्थानीयले आशङ्का गरेका छन्।
सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले झोलामा ती बम राखेर ओढारमा लुकाएको हुन सक्ने आशङ्का गरिएको छ। रासस;