पश्चिमी बायुको प्रभाव कम हुँदै गएकाले मौसममा सुधारको संकेत
काठमाडौं, फागुन ६,
पश्चिमी बायुको प्रभाव कम हुँदै गएकाले मौसममा सुधारको संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले काठमाडौं उपत्यका र देशका अन्य स्थानमा दिनभर बाक्लो बदली रहिरहने बताए।
साँझसम्ममा मुलुकको पश्चिमी तथा मध्यभेगमा केही क्षणिक वर्षा हुने सङ्केत देखिएको तथा सोमबारदेखि राम्रोसँग घाम लाग्ने जानकारी उनले दिए। भूमध्य सागरबाट पश्चिमी वायु पूर्वतिर प्रवाह भएपछि त्यसको प्रभावले नेपालको मनसुनमा प्रभाव पार्ने गर्छ।
शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा वर्षा भएको थियो भने उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो। यस वर्षको जाडो मौसममा काठमाडौँ उपत्यकामा तेस्रोपटक वर्षा भएको र अहिलेसम्मको १३ मिलिमिटर वर्षा भइसकेको छ।
वरिष्ठ मौसमविद् श्रेष्ठले पश्चिमी वायु सक्रिय हुने र कमजोर हुने प्रक्रिया भने नसकिएको हुँदा त्यसको गतिविधिको आधारमा केही दिनपछि पुनः मौसममा प्रभाव पर्ने जानकारी दिए।
यता कर्णाली अञ्चलका पाँचवटै जिल्ला हुम्ला, मुगु, कालीकोट, डोल्पा र जुम्लामा भारी हिमपात भएपछि यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
हिमपातले हुम्ला जिल्लामा सबैभन्दा बढी हिउँ परेको छ। जुम्ला र मुगु जिल्लाको माथिल्लो भागमा साढे तीन फिट हिउँ परेको छ भने बेंसीतिर करिब दुई फिट हिमपात भएको छ।
हिमपातले गर्दा हिमाली क्षेत्रका स्थानीयवासीलाई दाउरा, घाँसपात, पानीपधेँरी गर्न धेरै अप्ठ्यारो भएको छ भने विभिन्न क्षेत्रमा काम गर्ने मजदुर, व्यवसायी व्यापारीलाई पनि आफ्नो काम धन्दा गर्न समस्या बनाएको छ।
लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन ठप्प भएका छन्। हिमपातले गर्दा सरकारी तथा गैरसरकारी कार्यालय खुलेपनि कुनै पनि सेवाग्राहीको आवतजावत भएको छैन। कर्मचारी भने कार्यालय परिसरभित्रै आगो बालेर बसेको देखिन्छ। सेवाग्राही र कर्मचारीको आवतजावत नभएपछि जुम्ला बजार सुनसान छ।
हिउँ आज बिहान ६ बजेबाट निर्वाधरुपमा परिरहेको छ भारी हिमपातले गर्दा सञ्चार सामग्रीले काम गरेको छैन। रासस;