ठूला ब्यक्ति ठूला हुँदैनन्


कोठाबाट बिहानै एउटा झोला बोकेर बाहिर निस्किएँ । ०६७ साल माघ महिनाको लुक्लुके काठमाण्डूको जाडोयाम । कोटेश्वर चोकमा साथी हर्कसंग भेट गर्ने योजना थियो । हाम्रो औपचारिक भेट भयो । एउटा चियापसलमा चिया पिउदै गफिन शुरु गर्यौ । 'झोला केही वजनभएजस्तो देखिन्छ, यसमा के बोक्नु भा'छनी ?- साथीले प्रश्न गर्नुभयो । 

जवाफ फर्काउदै भने- 'उहि त हो नी ! हामी इराकमा संगै कार्यरत रहँदा १/२ वटा मैले लेखेको मेरा कथाहरू तपाईंलाई पनि पढ्न दिएँथें । पढेर कथाहरू राम्रा रहेछन् । प्रकाशन गर्नुपर्छ भनेर हौसला दिनुभा'थियो । त्यहिं कथाहरूलाई मैले एउटा संग्रह तयार पारेकोछु । ती कथाहरूमा अन्य केही कथाहरू थपगरी जम्मा ७ वटा कथाहरूको संग्रह बनेकाछन् । जसलाई प्रकाशन गर्न लागिपरेकोछु । त्यसैको पाण्डूलिपि र खेस्रा कागजहरू छन् ।' वहाँले 'ल बधाई छ है !'- भन्नुभयो । 

मैले फेरि अनुरोध गर्दै भने- 'हर्कजी, तपाईंले हाम्रा राष्ट्रगानका रचनाकार ब्याकुल माईला दाइलाई चिन्छु । वहाँको र मेरो बसोबास नजिकै हो भन्ने गर्नु भा'थियो । वहाँलाई भेट गर्न जाऔंन । वहाँ एकठूला ब्यक्तिसंग भलाकुसारी गरुँ । आपसी सद्भभाब पनि बढाऔं । पशुपतिको जात्रा सिद्राको ब्यापार भनेजस्तो, यो मेरो संग्रहको लागि सुझाबसल्लाह पनि लिनुपर्छ ।' हर्कजीले मेरो अनुरोधलाई नकार्ने कुरै थिएन । हामी माईला दाइको निवास नखिपोट, ललितपुरमा पुग्यौ । दुर्भग्यबस भेट्न सकेनौ । भेट्न नसक्नु पनि स्वभाबिकै हो । 

सारा हामी नेपालीहरू सयौं थुङ्गा फूल । जुन फूललाई एकमालामा फुलाउन सफल ब्यक्ति हुनुहुन्छ । फूलफुलाउने र माला उन्नेक्रममै कुन बगैचामा पुग्नु भा'थियो होला सायद । भाउजुसंग वहाँको मोबाइल नंम्बर मागेर फर्कियौ । पछिल्लो एकदिन वहाँलाई समय मागेर फेरि वहाँको निवासमा हामी हर्कजीसंगै भेट्न पुग्यौ । मैले मेरा कुराहरू सरसर्ती सुनाएँ र वहाँलाई सुझाबको आशा ब्यक्त गरें । वहाँ राष्ट्रियताले ओत्पोत भएका हाम्रो देशनेपालको एक प्रतिष्ठित ब्यक्ति । हामी वहाँको नजरमा सानो मान्छे हुनुपर्ने हो । तर, त्यस्तो व्यबहार उनिमा छैन । मिठासपूर्ण आवाज र शैलीमा बोल्नुहुन्छ । म यस्तो हुँ, त्यस्तो हुँ भन्ने घमन्ड किसीमको भाब वहाँमा पटक्कै छैन । महसुस गरें । मैले कथा संग्रहको हार्डकपि पनि प्रिन्ट गरेर बोकेको थिए । ल्याप्टपमा इलेक्ट्रोनिक कपिपनि । 

वहाँले हेर्ने बिचार राख्नु भएपछि मैले ल्याप्टपमा सेटिङ नमिलाएको अवस्थामारहेको म्याटर खोलेर देखाएँ । वहाँले मोटामोटी तलमाथि हेर्नुभयो र त्यहाँ तुरुन्तै १/२ वटा शुद्धाशुद्धि मिलाउनु पर्ने शब्दहरू देखाई दिइहाल्नु भयो । त्यसपछि म र साथी हर्क मौन बस्यौ । माईला दाजुले हामीलाई साहित्यको बिभिन्न फाँटहरुमा निहितकुराहरू बताउनु भयो । जुनकुराहरू मेरा लागि कलासाहित्य क्षेत्रमा अझै प्रेरणा र पाठ बन्यो । अन्तत: वहाँले भूमिका लेखनको लागि साहित्यकार कृष्ण धराबासी दाइलाई र सुद्धाशुद्धि तथा सम्पादनको लागि साहित्यकार/पत्रकार सचित राई सरलाई अनुरोध गर्दागराउदा उपयुक्त हुने सल्लाह दिनुभयो । यसपछि हामी वहाँको निवासबाट मनभरी खुशिका गुच्चाहरू बटुलेर बिदा लियौ ।

सोही दिन सचितसरलाई भेट्ने सोच बनाई फोन कन्ट्याक गरें । उहाँले आफ्नै कार्यलयमा ब्यस्तरहेको कुरा बताउनु भयो । तरपनि छोटो समय लिएर भेट्घाट गर्न सकिने कुरा बताउनु भयो । हामी वहाँ कार्यरत कार्यालय 'सगरमाथा टेलिभिजन'को परिसरमा पुगेर पुन: फोन सम्पर्क गरे । वहाँ निकै ब्यस्तताका बाबजुध पनि मेरो निम्ति समय निकालेर तल रिसेप्सन कक्षमा झर्नु भयो । साच्चिनै निकै ब्यस्तरहेको जस्तो वहाँको हाउभाउले देखाईरहेथ्यो । मैले मेरो यहि कथा संग्रह प्रकाशन गर्नुपर्ने र माइला दाजुको सहयोग र सल्लाहमा यहाँसम्म आइपुगेको कुरा छोटकरीमा बताएँ । 

वहाँले पनि यो कार्यमा सकारात्मक शब्दहरूले सहनुभूति थपिदिदै सम्पादन र शुद्धाशुद्धि हेरिदिने बचन दिनुभयो । समालोचनाका लागि कवि/साहित्यकार श्रवण मुकारुङ दाइलाई सम्झनु भन्ने अर्को सल्लाह पनि दिनुभयो । मैले मेरो यस कथा संग्रह सम्पादनको लागि सचित सरलाई जिम्मा दिएको केही दिन मात्रै बितेको थियो होला । बाहिर जानु पर्ने बाध्यता आइपर्यो । सौभाग्यबस भनुँ या के भनुँ, अन्तर्वार्तामा चुनिएँ । गरीब देशको कंङ्गाल नागरिक हामी नेपाली । 

अर्काको देशमा गएर गुलामी गर्नैपर्ने बाध्यता पनि टड्कारो देखिएकैछ । भारतको नयाँदिल्लीमा कम्पनीको कार्यलयमा हामी धेरैजना सहभागीले अन्तर्वार्ता दियौ । दिएको अन्तर्वार्तामा फाइनलसम्म आइपुगी चुनिएर जाने मौका मैले मात्र पाउनमा गर्ब पनि लागेको थियो । जल्दोबल्दो आमेरिकन कम्पनि हो त्यो । लागे फेरि युद्धग्रस्त (वारजोन) देशको पल्टन अफ्गानिस्तान । संग्रहको काम पनि अल्झिएर बस्यो । त्यसपश्चात अहिले केही महिना अगाडि मात्र नेपाल आएपछि यहि अपुरो कामले मलाई घच्घच्यायो । धराबासी दाइ र श्रवण दाइलाई भेट्ने योजना बनाएँ ।

अहिलेको समय, पहिलो भेटगर्ने माध्यम- फोन सम्पर्कबाट । चिनेको छैन, जानेको छैन, कहीले देखेको छैन । अप्ठ्यारो महशुस भैरहेथ्यो मलाई । एकाबिहानै फोन गरे श्रवण दाइलाई । २ रिङ्पनि जान नपाउदै फोन रिसिभ गर्नुभयो । मैले यहि मेरो कथा संग्रह प्रकाशन गर्न लागिरहेको र सोकोलागि समालोचनात्मक भूमिका लेखिदिन आग्रह गरे । उहाँले स्वीकार गरिदिनु भयो । दिउसो ३ बजे प्रज्ञा भवनमा कार्यक्रम रहेछ । गत ०६९ भदौ १६ गतेको दिन हो । सोही प्रज्ञा भवनमा भेटहुने सल्लाह भयो । संग्रहको पाण्डुलिपि दिने भन्ने कुरा पनि हामी बिच भयो । अनिता जी र म दिउसो २ बजे कोटेश्वरबाट निस्कियौ । 

पेनड्राइभमा संग्रह बोकेर । बागबजारमा टंक दाइको अफिसमा छिर्यौ । टंक दाइले प्रिन्ट गरिदिनु दिनुभयो । हार्डकपि एउटा फायलमा जम्मागरी बोकेर हिड्यौ प्रज्ञा भवनतिर । पुगेर श्रवण दाइलाई फोन लगाएँ । वहाँ पहिल्यै आइसक्नु भएको रहेछ । मनभरी कुराहरु खेलिरहेथ्यो । कस्तो मान्छे हुनुहुन्छ होला, कस्तो स्वभाबको हुनुहुन्छ होला ! के भन्नुहुन्छ होला !, माथिबाट झर्नुभयो प्रज्ञाभवनको आगनमा । लगभग १५/२० मिटरको दुरिमा भवनको वल्लो ढोका र पल्लो ढोका बिचमा हामी रह्यौ । सुटमा सजिएका एक सुन्दर ब्यक्ति र उनिसंग खासखुस गफिदै ती २ जना ब्यक्तिहरू हामीतिर लम्किए । हामीपनि अगाडि बढ्यौ । 

नजिकिएपछि ती सुन्दर सुट्मा सजिएका ब्यक्तिको औंलाले देखाउदै भन्नुभयो- 'तपाई हो ?' मैले भने- 'हजुर नमस्कार ! मै हो अर्जुन दुङमेन, दाइ लिनुस् न यहि हो मेरो कथाको पाण्डुलिपि ।' दिएँ । यत्तिकैमा केही समय भवनको सामुन्ने उभिएरै हामी यसैसंग्रहको बारेमा कुरा गर्यौ । श्रवण दाइ मधुर र भद्र हाउभाउको हुनुहुँदो रहेछ । मैले यस्तो स्वभाबको हुनुहुन्छ होला भनेर कल्पना गरेको ब्यक्ति भन्दा कम पाइन । कतिवटा कथाहरू छ्न् ? सोध्नुभयो । ७ वटा छन् दाइ- मैले जवाफ फर्काएँ । फेरि भन्नुभयो- 'अनि कहीले प्रकाशन गर्नुपर्ने ?','सकेसम्म यो असोजको पहिलो हप्ता भित्रमा भए हुनेथ्यो दाइ', मैले भने । 'ए ल हुन्छ, एक हप्ता जतिमा म दिन्छु । हुन्छ, सानो राम्रो पुस्तक बन्छ ।' यसरी वहाँले पनि मलाई केही साहसको लागि राहत मिलाइदिनुभयो । वहाँसंगको भेटले अत्यन्तै खुशी साथ हामी बिदा भयौ । 

फेरि अर्को दिन धराबासी दाइलाई फोन लगाएँ । उहाँले रिसिभ गर्नुभयो । मैले मेरो ब्रितान्त (परिचय, कामकुराहरू) एकडेढ मिनेट्समा भनें । 'कहीले र कतिखेर भेट्ने भन्ने वारे म समयको निधो गर्छु । भरै बेलुकी ६/७ बजेतिर एकपटक फोन गर है भाइ !' यसरी धराबासी दाइले भन्नुभयो । मैले हवस दाइ भन्दै फोन काटे । उहाँले दिनुभएको समयमा फोन गरे । उठेन । ठूला मान्छे हुनुहुन्छ । आफ्नै ब्यस्ततामा हुनुहुन्थ्यो होला । चित्त बुझाएँ । बरु मैले कतै डिष्टर्ब पो गरेकी ! डर लाग्यो । फेरि फोन गरुँकी नगरुँ, के गरुँ ! भोलिपल्ट र पर्सिपल्ट सम्म सोचें । तेस्रोदिन फेरि अप्ठ्यारो महसुस गर्दै फोन लगाएँ । फोन उठाउनु भयो । 'ल भाइ, बिहीवार बिहान आउनु है ।' भनेर समय दिनुभयो । 

२०६९ भदौ २८ गतेको दिन हो । जुन दिनको पर्सीबिहान जस्तो परेको थियो । हवस हुन्छ दाइ भन्दै खुसिसाथ फोन काटे । साहित्यकार कृष्ण धराबासी सुनेको बहुचर्चित नाम । उनको कृतिहरू पढेको पनि । साहित्यघर डट्कमले सन् २००९ ताका एक साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्नका लागि धरावासी दाइ बेलायत पुग्नु भा'थियो । जुनबेला म इराकमा कार्यरत थिएँ । अनलाईन मेडियाहरू मार्फत सुनेको थिएँ । तर त्यतिबेला सम्म मैले उहाँलाई भेटेको छुइन । अब पहिलो भेट कस्तो हुने हो ? उहाँ कस्तो हुनुहुन्छ होला ? कस्तो स्वभाबको हुनुहुन्छ होला ? ठूलाबडासंगको भेट । बा'कतै मेरो बोलिचाली ठीक नहुनेहोकी ! उहाँसंग म अब कसरी भेटुँ ? उहाँले मलाई कसरी बुझिदिनुहुन्छ । 

मेरो प्रकाशन गर्न भनि सोचेको कथाकृति । जुन कथा संग्रहको भूमिका लेखिदिन भनि अनुरोधगर्न उहाँलाई भेट्न जाँदैछु । बा'मेरो अनुरोधलाई ठाडै अस्वीकार गरिदिनुहुने पो होकी ! भन्ने कौतुहल्ता मन भरी शुरु भयो । संयोगबस साथी हर्कजी पनि एक्काबिहानै मेरो कोठामा आइपुग्नु भयो । त्यहि बिहीवार बिहान हो । उनै साथी हर्कजी र म निस्कियौ । हर्कजीले मोटरबाईक गुडाइरहेछन । म पछडि बसे । चिसो पनि बढिरहेको जस्तो । हलुका तुसारो परेको देखिन्छ । झोलामा मैले त्यहिं कथाको पाण्डुलिपी बोकेकोछु । फेरि मेरो मन खेल्न शुरु भयो । आखिर कस्तो हुनुहुन्छ त धराबासी दाइ ? आज वहाँसंग मेरो काम हुने की नहुनेहो ? धराबासी दाइले चप्पल कारखाना आएर फोन गर्न भन्नु भा'थियो । मन खेलाउदा खेलाउदै त्यहाँ पुग्यौ । पुगेर फोन गर्दा उहाँले त्यहाँबाट घरसम्मपुग्ने बाटो बताइदिनु भयो । सोहिनुरुप हामी गयौ । नजिकै पुगेर एकजना बुढिआमैलाई सोध्यौ- 'आमै ! कृष्ण धराबासी दाइको घर कुन होला ?' नचिन्ने कुरै भएन । आमैले देखाई दिइन् । हर्कजी र म धराबासी दाइको घरमा पुग्यौ । 

भित्र आउन भनि एकजना बहिनिले खबर गरिन् । पस्यौ । लेखन, अध्ययनकोठा होला सायद । जीवनमा पहिलो भेट । धराबासी दाइलाई भेटें । देशका लेखक हुन । उहाँको देब्रे हातमा टेलिफोनको रिसिभर । दाहिने हातमा यौटा ब्यस्त कलम । फोनमा बोलिरहनु भा'थियो । मैले वरिपरी भित्तातिर आँखा घुमाउदै बसे । एक्छिन पछि फोन कुराकानी सकियो । उहाँको हाउभाउ हामीतिर तानियो । हाम्रो सबैकुराहरू बुझ्ने चासो राख्नुभयो । आ-आफ्ना कुराहरू बतायौ । मेरो सबै कुराहरू सरसर्ती बताएँ । कथासंग्रह प्रकाशनको बारेमा केही कुराहरू भने । भूमिका लेखिदिन अनुरोध पनि गरे । 

मेरो बाल्यकालखण्डहरू सुनाएँ । बैदेशिक जीवन यात्राहरू छोटकरीमा सुनाएँ । मेरो अध्ययन क्षेत्र भने ब्याबस्थापन । तर, साहित्य मेरो रुचिकर बिषय भएकोले यो कथासंग्रह तयार पारेको कुरा भनें । निकै समय अगाडि देखि साहित्यलेखन यात्रा शुरु गरेको हुँ । तर, प्रकाशन कृति पहिलो भएको कुरा सर्माउदै बताएँ । मुसुमुसु हाँसेर बोल्ने धराबासी दाइ । मैले मेरो यौटा कुरा बताउदा उहाँले धेरैवटा कुराहरूको मिथक जोड्नु हुन्थ्यो । उहाँको भनाइहरू, उहाँले बोल्नु भएको भाषा शैलीहरू सुनिरहुँ जस्तो लाग्थ्यो । धराबासी दाइ बास्तबमै ठूला साहित्यकार हुन् । त्यस्तै देख्यो मेरो बाहिरी आँखा र भित्री मनले । मैले केके र केके सोचेर ब्यर्थै आफ्नै मन दुखाइरहें । केहोला, कसो होला, कस्तो हुनुहुन्छ होला भनि छट्पटाईरहेको थिए । तर त्यो अनावश्यक गरेछु । 

उहाँ त यौटा समुद्र हुनुहुदोरहेछ । जुन समुद्रमा म प्यासी पुगे । तिर्खा मेटाउञ्जेल पवित्र जल पिएर फर्के । उहाँले भाउजुलाई पनि सोही कोठामा बोलाउनु भयो र हामीलाई चिनजान गराउनु भयो । मैले झोलाबाट क्यामेरा निकाले । दाइसंग एउटा फोटो खिच्न अनुरोध गरें । सानो सेण्डु भेष्टमात्र लगाउनु भा'थियो । 'अर्को बाहिरी कमिज लगाउछु है त भाइ !' भन्दै हातमा रहेको कलम बल्ल टेबलमा राख्नु भयो । भाउजूसहित गरेर हामीले निकै फोटोहरू खिच्यौ । केही समय नबित्दै भाउजूले सबैलाई चिया ल्याउनुभो । चिया पिउदै फेरि मेरो नजर त्यो भित्ता वरिपरि घुम्न थाले । भित्ताको बायाँ किनारमा पूर्वप्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालासंग अंकमाल गरी खिचेको धरावासी दाइको तस्वीर थियो । दायाँ किनारमा एकजना उजेलो मुहार परेकी महिलाको सुन्दर तस्वीर सजाइएको देखें । 

कोहि बिशेष ब्यक्तिको तस्वीर हुनुपर्छ । सोचें । यो चाँहि कसको तस्वीर होला भनि सोध्न पनि असहज भयो । केहिक्षण अघिसम्म खुशी थियो दाइको मुहार । झट्ट आमिलो हुनुभयो । 'यिनी सिता जी हुन् । जीवनमा एक्सिडेण्ट पर्यो । क्यान्सरको रोगले गर्दा ।'- ती महिलाको तस्वीर देखाउदै भन्नुभयो । त्यो दुखद कुराले मलाई पनि मर्माहत तुल्यायो । केही भन्न सकिन । उनै दाइको 'झोला' कथासंग्रहको 'झोला कथा'मा एकपात्रकोरुपमा 'सीताजी' भनेर संम्बाद गरिएको छ । त्यहि सम्झे । फेरि यता मेरो कथासंग्रहको पाण्डुलिपी हेर्न फर्कियौ । दाइले हेर्दै जानुभयो । वहाँले आफ्नै नाम धराबासी हुनुपर्नेमा धाराबासी देख्नुभएछ । 'धाराबासी' होइन 'धराबासी' हो- भन्दै रातोमसीको डट्पेनले सच्याइदिनु भयो । 

'धरा' भनेको धर्ति । 'बासी' भनेको बसोबासगर्ने हामी जोकोही सबै । यसरी धराबासीको अर्थपनि अर्थ्याउनुभयो । हामीबिच एकापसमा थुप्रै हाँसोखुसी, दुखसुख, जीवन र संघर्शको बारेमा कुराकानी गरिएछ । डेढदुइ घण्टा बितेको पत्तै भएन । दाइ भाउजु अब हामी जान्छौ भनेको पनि निकै पटक भइसकेको थियो । तर बाटो लागेको थिएनौ । कारण दाइको बोलिचालीले हामीलाई चुम्बकिय शक्तिले झै तानिरहेथ्यो । अन्तत: दाइलेनै बिदादिनु भयो- 'लु मेरा भाइहरूलाई अब चाँहि जानु है भनेर मै बिदा गराउछु ! भाउजु र म पनि नातेदारको पार्टीमा निम्तो छ । त्यहाँ जानुछ ।' अति मिठो स्वभाबका धनि धराबासी दाइसंग धेरै मिठामिठा बात्चित गरेर बिदा लियौं । साथी हर्कजीले पनि फर्कदा बाटोभरी उहाँको गुणगान गाइरहें । 

काम माथि कामको बोझ हुन्थ्यो मनमा । थालनी गरेको काम पूरा नहुञ्जेल छट्पट लागिरहने मेरो बानी । कभर डिजाईन र प्रिन्टिङको काम लिएर हिंडे । बागबजार पिके क्याम्पस देखि अपोजिट पट्टीको सानो गल्लिमा छिरे । मोटरबाइक अड्याएँ । यता उती नजर डुलाउन मात्रै भ्याएको थिइन मैले । 'अहो ! अहिले अनि कताबाट अर्जुन बाबु ?"- भन्दै आइपुग्नु भयो गुरुबा उमेश मायालु । उमेश मायालु मैले अभिनय सिक्दाखेरीको गुरुबा हुन् । लगभग दुई वर्षको अन्तरालमा त्यो दिन हाम्रो भेट भयो । ०६९ कार्तिक १७ गते । म पनि खुशी भएँ । उहाँ पनि । उहाँलाई पिसाबले टन्टन पारेर आतुरी अवस्थामा हुनुहुन्थेछ । ट्वाइलेटको खोजीमा हुनुहुन्थ्यो । पछाडि ट्वाइलेट थियो । उहाँ ट्वाइलेट पस्नुभयो । त्यसपछि दुवैजना सानो चियापसलमा पस्यौ । चिया र रोटी लिने मञ्जुर गर्नुभयो । अनि चुरोट । उहाँले चुरोट सल्काउदै मेरो बारे बिबिध कुराहरु बुझ्ने चाहना राख्नु भयो । 

"बाहिर गा'को अरे भन्ने सुनेको थिएँ, कहीले नेपाल आइयो त ?" सोध्नु भयो । जवाफ फर्काउदै भने- "धेरै भा'को छैन । दुईतीन हप्ता जति मात्रै हुँदैछ ।" यता रोटी र चिया पनि आयो । रोटी पनि निकै मिठो थियो । गुरुचेला संगै भेट भएर खाएकोले होला । त्यस्तै महसुस भयो मलाई । यता पुरानो हाम्रो काहानीहरू पनि छँदैथ्यो । संगै फिल्म सुटिङ् गरेको । लगभग एक हप्ताजती कलंकी माथि दहचोकमा उतै बस्तै सुटिङ् गरेथ्यौ । मलाई याद आइरह्यो । जति उहाँले भन्दै हुनुहुन्थ्यो । चिया र रोटी खाइसक्यौ । पिके क्याम्पसकै लाइनमा अली पर फिल्म सम्बधी सबै काम गरिने एउटा सिने अफिस रहेछ । त्यहाँ जाऔ भन्ने कुरा राख्नु भयो । हामी त्यहाँ पुग्यौ । पाँचौ तलामा हुनुपर्छ । थुप्रै मान्छेको भिड थियो । सबै आआफ्नै तालमा जोड्तोडका साथ गफिदै थिएँ । ती सबै चलचित्र कर्मीहरूको समूह हुनुपर्छ । भनौ कलाकारहरू । हाई हेल्लो गर्दै हामी पुग्यौ । सोफामा वल्लोछेउ पल्लोछेउ एकएक सिट खाली थियो । त्यहाँ बस्यौ । गुरुबा पनि गफिन शुरु गर्नुभयो । 

मेरो नजिकै यौटा चिनेको मान्छे । तर, पहिलो पटक देखेकोले होईनकी भन्छ मनले । लामो लामो हातखुट्टा । लामो कपाल । लेदरको ज्याकेट लागाएको । कालो चस्मा । जेन्स पाइन्ट र स्पोर्ट सू । हामीबीच बोलचाल छैन । म नबोली बस्नको कारणले होला गुरुबा (उमेश मायालु)ले चीनजान गराउन खोज्नु भयो । चिनेको मान्छे तर पहिलो भेटको मान्छेसंग हात मिलाएँ । उनैले भने- म बिराज । मैले भने- "यहाँ त यो देशको नायक हुनुहुन्छ, म यो देशको नागरिक । अर्जुन दुङ्मेन । सिनेमाको पर्दामा देख्दा पनि राम्रो लाग्ने, आज प्रत्यक्ष भेट हुँदा अती खुशी लाग्यो ।" यसैगरी हाम्रो केही बात्चित भयो । केही समय अगाडि चलचित्र क्षेत्रलाई समय दिन रुचाउने मान्छे । तर, हाल इराक र अफगानिस्तान बसेर फर्किएको कुरा गुरुबालेनै सुनाए । 

बिराज दाइले बडो रुचिका साथ ती युद्धरत देशहरूको बारेमा सोधे । मैले छोटकरीमा धेरै भोगाइहरू बताएँ । हाम्रो सुमधुर गफ भयो । जे भएपनि देशमा चलेका हिरो हुन् उहाँ । गफगर्दा गर्दै मलाई मेरो उता अर्को कामले मन टन्टन भइरहेथ्यो । म बिदाहुने अनुमति माग्दै अन्तत: एउटा तस्वीर लिने अनुरोध गरे । बिराज दाइ, धेरै मिठो गफ भयो । भेट्न पाउँदा खुशी लाग्यो । के म तपाइसंग यौटा पिक्चर लिन सक्छु ? उहाँले खुशिसाथ स्वीकार गर्दै भन्नुभयो- "सियोर !" सामुन्नेबाट गुरुबाले नै खिचीदिनु भयो । वस्तबमा हिरो हुन् । स्वभाब पनि हिरो नै रहेछन् । 'आँ गर्दा अलंङ्कार बुझिन्छ' भने झै मैले त्यस्तै बुझें । हात मिलाएर बिदा भएँ । 

यत्रो दौडधुपको कुरा आइरह्यो । यो आखिरी मेरो कथा संग्रह प्रकाशनको कामले । प्रकाशन त भयो । अब अन्तिम कर्म रह्यो- बिमोचनको । के गरुँ भनेर सोच्दैथिएँ । मेरो भूतपूर्व शिक्षक सहकर्मी मित्र डम्बर बिकेलसंग भेट गरायो फेसबूकले । फेसबूक निर्माणकर्ता जुकबर्गलाई पनि बेलाबेलामा धन्यबाद दिन मनलाग्छ । डम्बर बिकेल शिक्षकमात्र नभएर उहाँ कलाकार तथा चर्चित गीतकार पनि हुनुहुन्छ । उहाँ मेरो अतिनै नजिकको शुभचिन्तक हुनुहुन्छ । मेरो कृति प्रकाशनको खबरले धेरै खुशी हुनुभयो । त्यसपछि बिमोचनको लागि हामी प्रत्यक्ष भेट गर्ने सल्लाह भयो । तुरुन्तै एकदिन पछि भेट गर्यौ । साहित्यको कथा बिधामा बरिष्ठ साहित्यकार कृष्ण धराबासीलाई सोच्दा उहाँले त मेरो पुस्तकमा भूमिका नै लेखिदिनु भा'छ । 

अर्का बरिष्ठ साहित्यकार/कवि श्रवण मुकारुङले पुस्तकमा समालोचना गरिदिनु भा'छ । राष्ट्रसर्जक ब्याकुल माइलाले बेलायतमा रहेर पनि शुभकामना समालोचना गरिदिनु भा'छ । अब उहाँहरू भन्दा अन्य श्रष्टाको हातबाट बिमोचन गराउनु पर्छ भन्ने डम्बर सरसंग छलफल भयो । अन्तत: केन्द्रीय क्याम्पस कीर्तिपुर, नेपाली बिभागका प्रमुख तथा साहित्यकार डा.कृष्णहरि बरालको हातबाट बिमोचन गर्नुपर्छ भन्ने कुरामा हाम्रो मत मिलायौ । डम्बरसरको भनाइलाई स्वीकार गर्दै बरालसरलाई भेट्ने योजना बनायौ । अनि छुट्यौ । अर्कोदिन डम्बर सरले खुशी हुँदै मलाई फोन गर्नुभयो । डा. बराल सरसंग भोलिपल्ट भेट गर्ने वातावरण मिलाउनु भएको रहेछ । सुनाउनु भयो । 

बिकेलसर र मेरो अघिल्लो दिनको सल्लाहनुसार कोटेश्वर-कलंकी बस स्टेण्डमा भेट भयौ । दुवैजना आआफ्नो सवारी मोटरसाइकलबाट ओर्लियौ । सडकलाई दाँया पारेर किनारमा गफियौ । डा.बराल सरलाई भेट्न हामी जाँदैछौ । उहाँसंग हाम्रो केके कुरा राख्ने, के भन्ने बारे छोटो सल्लाह गर्यौ । चिसो निकै बढिसकेको थियो । ३०-३५ भन्दा माथिको गतिमा सवारी चलाउन गाह्रोगाह्रो हुन्थ्यो । हातहरू कठङ्ग्रिन्थ्यो । खुल्ला सवारी भएकोले पनि । बिस्तारै हामी जाँदाजाँदै झमक्कै रात परेथ्यो । सम्बन्धित ठाउँ नजिकै पुगेर सोध्यौ । उहाँको घर सोध्दा प्राय:ले धेरैले चिन्ने रहेछन् । सहजै पुग्यौ । 

२०६९ मङ्शिर २६ गते साँझ । हामी उहाँसंग भेट गर्न आउँदैछौ भनि भबर गरेरै गएका थियौ । तरपनि चिनजान नभएकाले सरासर कता पस्ने अप्ठ्यारो भयो । उहाँसंगको पहिलो भेट । उहाँको घर यहिं हो ठम्याईसकेपछि पनि सरासर पस्न भने गाह्रो भयो । गेटमा अडिएर फोन लागायौ । मलाई लाग्थ्योकी ठूलाबडा मान्छेको स्वभाब पनि ठूलाबडानै होला । उहाँको लागि हामी जस्ता चेला कयौ आउनेजाने गर्छन् । समुद्रमा पानी उघाउन को आउछ को जान्छ, के मतलब ! त्यस्तै हामी पनि समुद्रमा पानी लिन एउटा घैला लिएर पुग्यौ । पनि उघाउने हिड्ने त होलानी ! यस्तै मनमनै सोचीरहेथें ।

डा.बराल सर हाम्रो फोन सम्पर्कले गर्दा 'भाइहरू भित्र आउनु नी भित्र' भन्दै हामीलाई स्कर्ट गर्न गेट सम्मै आइपुग्नु भयो । उहाँको निवास कुमारीक्लब बल्खुमा छ । सुन्दर घर, शान्त अनि बिद्या, गीतसंगीत, साहित्यले भरिभराऊ । खुशी हुँदै सोफामा बास्न भन्नु भयो । हामी बस्यौ । ट्यूबलाइट झलमल्ल बलिरहेथ्यो । जाडो पनि छ, भन्दै हतारहतार सबै झ्यालहरू बन्द गर्नुभयो । अतिनै फुर्तिका साथ झ्यालका पर्दाहरू खसाउनु भयो । शान्त वातावरणमा हामी तीनजना भयौ । हाम्रो भलाकुसारी शुरु भयो । हुनपनि भन्ने गर्छन् बुझ्नेले, 'साँझको पाहुना देवता ।' हामी पहुना नभएपनि साँझमा पुगेको चेलाहरूको आगमनले गुरु डा.बरालसर अती खुशी देखिनुहुन्थ्यो । हामी समुद्रमा पनि लिन पुगेको मान्छे । पानी उघाउने हिड्ने, भन्ने सोचेर पहिला ठूलो भूल गरेछु । मनमनै पश्चाताप गरे । 

हाम्रो कुराहरू अगाडि बढ्यो । डा.बराल सरले हाम्रै बारे पहिले सोध्नु भयो । बिकेल सरले मेरो बारेमा चिनजान गराउँदै प्रतिउत्तरमा लाग्नु भयो । मलाई देखाएर- 'उहाँ यो बिमोचन गर्नुपर्ने कथा संग्रहका स्रष्टा । अर्जुन दुङ्मेन । पहिला हामी बेल्टार, उदयपुरमा एउटै स्कुलमा माध्यमिक शिक्षककोरुपमा संगै कार्यरत पनि थियौ । त्यसपछि दुङ्मेनजी इराक र अफगानिस्तान दुईवटा देशहरू पुगेर हाल नेपाल फर्किनु भा'छ ।' 

डा.बराल सर अचम्मित तरीकाले प्रतिक्रिया दिदै भन्नुभयो- 'अहो ! भाइ त जहाँजहाँ खतरनाक ठाउँ, त्यहिं त्यहिं पुगेछन् त ! डर लागेन !?'
के गर्ने सर ? 'गरिवी' भनेर हामी गरिवको निधारमा लेखिएको हुँदैन । नत्र म'मा यो प्रश्न हजुरबाट सायद आउँदैनथ्यो होला । गरिवीले डर, त्रास भन्दैन । जस्तो जे परेपनि भोग्नु पर्छ । त्यसैले म त्यहिं त्यहिं पुगें । - मैले भने । 
फेरि बिकेलसरको बारे मैले उहाँलाई जानकारी दिंदै भने- 'उहाँ बिकेलसर यहिं गीतसंगीत, नेपालीसाहित्य क्षेत्रको म भन्दा पुरानो ब्यक्ति हुनुहुन्छ । भनौ, उहाँ अहिले शिक्षक मात्र नभएर गीतकार/कलाकार पनि हुनुहुन्छ । 

यसपछि डा.बराल सरले फेरि प्रश्न गर्नुभयो- 'कुनकुन गीत लेख्नु भा'छ ?'

'भत्काई दिन्छु बाख्राको खोरपनि, ए सासू पाकेन मासु, ए बाउ भात खान आउ, यस्ता कमेडी गीतहरू लेखेको छु । अनि उहीं उदयपुरबाट मैले सरको एकपटक टेलिफोन अन्तरवार्ता पनि लिएको थिएँ । २०६२ सालतिर, गीतसंगीतको बारेमा । जुन मैले सम्पादन गर्दै आएको तत्कालिन मासिक पत्रिका 'पञ्चामृत' मा प्रकाशन गरेका थियौ । सरको गीतहरू भनेको हामीले सुन्दै आएको मात्र नभएर राष्ट्रमा चलेका गीतहरू हुन् ।' यसरी बिकेल सरले आफ्नो कुरा राख्नु भयो । 

डा.बरालसरले झन नजिकिंदै आफ्नो कुराहरु राख्न थाल्नु भयो । 'अहो ! यो कमेडी गीतहरु त धेरै सुनेको चलेको गीतहरू हुन् नी ! तपाईंले लेख्नु भा'रहेछ । हो, मैले नी धेरै लेखेको छु । 'याहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ, यी हल्लाहरू हुन्, के भूल भयो प्रिया, नाई नभन्नू ल, अरु कोहि आऊन नआऊन् तिमी चाहिँ आउँनु ।' 

अहो ! त्यसपछि म झस्किएँ । अगाडि नै सबै यी गीतहरू सुनेको । धेरै मन पराउँछु म । निकै वर्ष अगाडि गीत सुनाउनेक्रममा रेडियोले भन्ने गर्थ्यो 'डा.कृष्णहरि बरालको शब्दरचना' । बैदेशिक जीवनयापनले मेरो दिमाग मोटो बनाई दिएछ । यो नाम केही समय यता मेरो दिमागबाट अलीपर थियो होला सायद । डा.बराल सरको बारेमा बिकेलसरले मलाई जे जति भन्नुभयो । उहाँ केन्द्रिय क्याम्पस कीर्तिपुरका नेपली बिभाग प्रमुख हुनुहुन्छ । र, ठूला साहित्यकार पनि । आदि इत्यादी बुझेको थिएँ । अब, अहिले सो भन्दा धेरै बुझें । यसपछि मनमा खुशिको सिमा रहेन । आज मैले त्यो ब्यक्तिलाई प्रत्यक्ष भेट्न सफल भएँ । जो, डा.कृष्णहरि बराल । बल्ल मलाई दिमाग चिसो भएर आयो । अनि सोचें- यो नाम त नामै काफी छ । 

त्यतिमात्र कहाँ होर ! हाम्रो कुराकानी सकिने आत्तोपत्तो थिएन । यानकी, डा.बरालसर गुरु मात्र नभएर पिता जस्ता ब्यक्ति हुनुहुँदो रहेछ । यसरी माया गरेर, हृदय खोलेर आफ्ना भावनाहरू ब्यक्त गर्नुहुन्छ । नहाँसिकन उहाँ बोल्नुहुन्न । कति मायालु मान्छे, मोहनीवाल मान्छे । अरु धेरै सुनाउनु भयो- गत ६/७ महिना अगाडि आफ्नो अमेरिका भ्रमण, ३२ वटा राज्यहरू घुम्ने छोराले बनाएको योजना, १८ वटा राज्य घुमिसक्दाखेरी उहाँको कार एक्सिडैण्ट परेको दु:खद घटना, उपचारक्रम, त्यहाँका बासीहरू (अमेरिकी) को सहयोग र सद्भाबका कुराहरु सबै बताउनु भयो । घटनाको, उहाँको अपरेशनको सबै फोटोहरू मोबाइल क्यामेरा खोलेर देखाउनु भयो । फोटो हेर्दा आङ सिरिङ्ग हुने । त्यो घटनाले धन्न उहाँलाई केही भएन । ठीक हुनु भयो । धन्य होस् भगवान् । 

यत्तिकैमा माथि बेडरुमबाट मेडम पनि झर्नुभयो । उहाँ पनि सर जस्तो, त्यस्तै स्वभाबकी धनी । चिनजान गर्यौ । उहाँ कानुन ब्याबसायी हुनुहुँदो रहेछ । हामी सबैको गफसफ पछि छुट्ने कुरा राख्यौ । हाम्रो भलाकुसारी भने उत्तिकै मात्रामा मिठासपूर्ण छँदैथ्यो । तरयता रात्रिकालिन समयले पनि बाटो काट्दै थियो । एक घैला पानी उघाउने फर्किने भन्ने सोचेको । तर, झण्डै तीन घण्टा बितेको पत्तै भएनछ । मेरो पुस्तक बिमोचन डा.बराल सरको हातबाट गर्ने हाम्रो निर्णय थियो । त्यसैले डम्बर सर र म, उहाँलाई औपचारिक भेट गर्न भनेर पुगेका थियौ । 

'घुम्तीबीचका पर्खालहरू' एउटा पुस्तक झिकेर उहाँलाई दिएँ । डा.बराल सरले समालोचना गरिदिने समालोचक बारे जिज्ञासा राख्नु भयो । त्यतिखेर सम्म कन्फर्म नभएको कुरा बतायौ । त्यसपछि उहाँले नै सहयोग गर्ने वचन दिनुभयो । 'एकजना यहि त्रिभुवन विश्वबिधालयका प्राध्यापक हुनुहुन्छ । उहाँ राम्रो लेखक/समालोचक । म उहाँलाई अनुरोध गरिदिन्छु । भाइ अर्को एउटा पनि पुस्तक छोड ।' उहाँले यस्तो सहयोगी वचन दिनुहुँदा हामी झनै खुशी भयौ । मैले अर्को पनि एउटा पुस्तक झिकेर दिएँ । त्यसपछि डा.बराल सरको निवासबाट आनन्दसाथ बिदा भयौ । आफ्नो निवासमा आइपुग्दा घडीको काँटाले रातीको १०:०० कटाइसकेथ्यो । 

२०६९ पुष ७ गते, शनिवारको दिन । नेपाली साहित्यमा पहिलो सन्तानुत्पादन गरेकोले मैले गर्ने अन्तिम शुभ कार्य । मेरो कथाकृति 'घुम्तीबीचका पर्खालहरू' को बिमोचन कार्यक्रम । त्यो दिनको स्रष्टा आफै भएकोले निकै दौड्धुपमा थिएँ । एकजना अतिथि आएर ठ्याक्कै सोध्नु भएछ । प्रकाशक अनिता नेम्बाङ जी'लाई । 'अर्जुन दुङ्मेन जी खोइ, कहाँ हुनुहुन्छ ?' अनिता जी'ले मलाई उहाँसंग भेट्टाई दिइन् । उहाँले भन्नु भयो- 'म आर.यम.डंगोल । डा.बराल सरले मलाई आजको कृति समिक्षा गर्न अनुरोध गर्नु भा'थ्यो । त्यसैले समालोचनाका लागि म आएको हुँ । खै त डा.बराल सर ?'

डंगोल सरको आगमनमा झट्ट मैले शब्दले खुशी ब्यक्त गर्नै सकिन । हाउभाउले मात्र खुशी हुँदै भने- सर, डा.बराल सर आउँदै हुनुहुन्छ । अहिले, 'अन दी वे' मा । 

डंगोल सरले भन्नु भयो- 'कथाहरु पढिसकेर मैले जस्तो अन्दाज गरेको थिएँ । तपाईं आजको स्रष्टा त्यस्तै कथाकार हुनुहुँदो रहेछ ।' ढ्याप मार्नुभयो । मैले पनि तुरुन्तै महसुस गरे- वास्तबमा डंगोल सर समालोचक मात्र होइनन् । उहाँ त मेरा पुज्य गुरु पनि । उहाँ एक प्राध्यापक मात्र होइनन् । उहाँ त महान लेखक पनि । उहाँले लेख्नु भएको कक्षा ११,१२ अनि ब्याचलर पहिलो वर्ष र दोश्रो वर्षको लेखा (Accounting Management) को पुस्तक म स्वयंमले कोर्षमा पढेको छु । त्यसैले उहाँ मेरो गुरुतूल्य ब्यक्ति । उहाँले मेरो पुस्तकको समालोचना गरिदिनु भयो । 

अत्यन्तै मिठो लयशैलीको हाउभाउ र बोलीबचन । उहाँले फेरि सोही कुरा ड्यासबाट पनि ब्यक्त भयो । मेरो कथा संग्रह र म बीच देखिने सम्बन्धबारे । दुङ्मेन जी आज यस बिमोचन कार्यक्रमका नायक हुनुहुन्छ । उहाँ जस्तो देखिनु हुन्छ, कथाहरू भित्र त्यस्तै छन् । छर्लङ्ग छन् । अन्य थुप्रै समालोचनात्मक सम्बोधन गरिदिनुभयो । कमीकम्जोरी तथा राम्राराम्रा पक्षहरू सबै । अहा ! म कति भाग्यमानी । 

उहाँहरूनै सबै ठूला ब्यक्तिहरुका ठूलो गुणले गर्दा आज मैले नेपाली साहित्यमा एउटा इंटा थप्ने कामगर्न सफल भएको ठान्छु । हो रहेछ यथार्थमा, "ठूला ब्यक्ति ठूला हुँदैनन् ।" उहाँहरूलाई मेरो सम्मान, कलमी अभिवादन !


- पार्थी,
- एडि राइ
कोटेश्वर, काठमाडौं । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com