फागुनमा फुल्ने गुँरास पुसमै फल्यो

सिमभन्ज्याङ, पुस २५ ,

फागुनको पहिलो सातातिर फुल्ने गुराँस पुसको दोस्रो सातामै फुलेको देखेर नामटार झिरघारीका गणेशबहादुर बल छक्क परेका छन् । ६६ वषर्ीया बलले वरिपरि जंगलमा गुराँस फुलेको देखाउँदै भने, 'जमाना फेरियो भन्थे, हो रहेछ, फागुनमा फुल्ने गुराँस पुसमा फुल्यो, पोहोरसम्म गुराँस फागुनमा फुलेको थियो ।'

मकवानपुरको उचो भूभाग, सिमभन्ज्याङ, झिरघारी, अघोरका जंगलमा मात्र पुसमा गुराँस फुलेको होइन, आग्रा गाविसको डाँडाबाँसको जंगलमा पनि ढकमक्क फुलेको छ । त्रिभुवन राजपथको अघोरदेखि सिमभन्ज्याङसम्मका जंगलमा गुराँस राताम्मे फुलेको छ । गुराँसका कोपिला पनि प्रशस्त लागेका छन् ।

'पुसको अन्तिमसम्ममा यस क्षेत्रका सबै गुराँस फुलिसक्ने अवस्थामा छन्,' सिमभन्ज्याङका मोटे भुजेलले भने, 'गुराँसका बोटमा कोपिला लागिसकेका छन्, पहिलापहिला पुसमै गुराँस फुल्ने थिएन ।' यस क्षेत्रका किशोरकिशोरीले जंगलमा फुलेको गुराँस टिपेर राजपथमा आवतजावत गर्ने यात्रु र चालकलाई बिक्री गर्न थालेका छन् ।

राजपथको अघोरदेखि सिमभन्ज्याङसम्म करिब १५ किलोमिटरबीचमा एक दर्जन किशोरकिशोरीले गुराँसको फूल बिक्री गर्ने गरेका छन् । मकवानपुरको यस क्षेत्रमा सात प्रजातिका गुराँस छन् । जलवायु परिवर्तन र तापक्रमका कारणले फागुनमा फुल्नुपर्ने गुराँस फूल ढेड महिनाअघि फुलेको कृषि विकास कार्यालय हेटौंडाका बागवानीविज्ञ विष्णु सुवेदीले भने ।कान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com