७ कक्षा पढ्दासम्म विवाह नगरे साइकल उपहार

चैनपुर (दाङ), पुस २५ ,

दुर्गालाल केसी ; सानैमा विवाह नगर्दा के उपहार पाइन्छ ? सायद अन्य ठाउँमा केही छैन होला तर गंगापरस्पुरको उच्च मावि चैनपुरमा भने ७ कक्षा पढ्दासम्म विवाह नगरे साइकल उपहार पाइन्छ । भारतको विहारमा छोरीलाई साइकल उपहार दिएर विद्यालय पठाउने अभियान प्रभावकारी भएको देखिएपछि यहाँ बालविवाह रोक्न यस्तो प्रयास थालिएको हो ।

कम्लरी मुक्त भएर अध्ययनमा लागेका बालिकाले पढ्दापढ्दै विवाह गर्ने र बीचैमा पढाइ छोड्ने समस्या बढेपछि साइकल उपहार दिएर विवाहप्रति निरुत्साहित गरिएको छ । चैनपुरमा जिल्लाकै धेरै कम्लरी अर्थात ८२ जना अध्ययनरत छन् । आर्थिक अभाव देखाउँदै धेरैले ५/६ कक्षामै विवाह गर्ने बढेपछि सात कक्षा पुग्नेलाई साइकल उपहार दिन थालिएको प्रधानाध्यापक विष्णुकुमाल चौधरीले बताए । 'साइकल उपहार दिएपछि विवाह गर्ने क्रम रोकिएको छ ।

विगत वर्षमा १०/१२ जनाले विवाह गर्ने गरेकामा अहिले २/३ मात्रै रहे,' उनले भने, 'यसले कम्लरीको पढाइमा निरन्तरता दिन सजिलो भएको छ ।' ७ कक्षा पुग्ने हरेक पूर्वकम्लरीले साइकल पाउँछन् । 'यसका लागि भने एउटा सर्त छ विवाह,' साइकल किन्न आर्थिक सहयोग गरिरहेको सीपी नेपालका निर्देशक दिनेश सापकोटाले भने, 'विवाह गरेकाले साइकल पाउँदैनन् । विवाह नगरी सात कक्षा पुग्नेले मात्र पाउँछन् । सबै साथीले साइकल पाउँदा विवाह गरेकै कारण नपाउने भएपछि विवाहितमा हीनताबोध हुने गरेको छ ।'

घरको कामले समयमा विद्यालय जान नपाउने र त्यसकै कारण पढाइभन्दा विवाहलाई विकल्प रोज्ने समस्या बढेपछि साइकल दिने योजना बनाएको उनले बताए । साइकल दिन थालिएपछि बालविवाह निरुत्साहित भएको पूर्वकम्लरीको साझा संस्था मुक्त कम्लरी विकास मञ्चकी अध्यक्ष मञ्जिता चौधरीले बताइन् । 'साइकल पाइने भएपछि अभिभावक पनि छोरी पढाउन रुचि राख्न थालेका छन्,' उनले भनिन्, 'हामीले जति सम्झाउँदा पनि बालविवाह रोक्न नमानेकाहरू साइकल पाउने भएपछि रोकिएका छन् ।'

सानो रकममा पनि छोरीलाई कम्लरी पठाउने र सानैमा विवाह गरिदिने अभिभावक अहिले छोरीलाई पढाइमा निरन्तरता दिन तयार भएको व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद चौधरीले बताए । 'कम्लरी मुक्त भएर केही समय विद्यालय भर्ना भयो, त्यसपछि कि त फेरि काममा गयो, कि विवाह गर्‍यो । छोरीलाई पढाइमा लगाउन चुनौती नै भएको छ,' चौधरीले भने, 'साइकल दिने योजना सुरु गरेपछि छोरीहरूको संख्या बढेको छ ।'

तीन वर्षअघि सुरु योजनाले छात्राको संख्या ६० प्रतिशत बढाएको उनले बताए । पहिलो वर्ष १६, दोस्रो वर्ष २६ र यस वर्ष ३६ जनालाई साइकल बाँडिएको पूर्वकम्लरी तथा सीपी नेपालकी जिल्ला संयोजक दीपा चौधरीले बताइन् । यस वर्ष काम गर्दै पढ्दै गरेका १६ बालश्रमिकलाई पनि साइकल दिइएको छ । इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com