काठमाण्डौ पुष २२,
बागलुङ जिल्लामा गत पाँच महिनाभित्रमा ६५ घरेलु हिंसाका घटना भएका छन् । देशभरि महिला हिंसाविरुद्धमा आन्दोलन चलिरहेका बेला बागलुङमा भएका महिला हिंसाको यस्तो तथ्य बाहिर आएको हो । घरभित्रै महिलामाथि हुने हिंसा र दुव्र्यवहारका घटना बढिरहेको अल्पकालीन महिला सेवा केन्द्र बागलुङले जनाएको छ ।
गत साउन १ देखि मङ्सिर मसान्तसम्म केन्द्रमा ६५ विभिन्न प्रकृतिका घरेलु तथा महिला हिंसाका घटना दर्ता भएको केन्द्रकी संयोजक शर्मिला थापाले बताउनुभयो ।
अधिकांश हिंसाका घटना आपसी मिलापत्रमै टुङ्गिने गरेका छन् । मिलापत्र हुन नसके अदालती प्रक्रियाबाट मुद्दा अघि बढ्ने गरेको थापाले जानकारी दिनुभयो । सरकारी तथा गैरसकारी सङ्घसंस्थाले महिला हिंसाका विरुद्धमा जागरण तथा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गरेपछि महिला हिंसाका घटना बाहिर आउन थालेका हुन् ।
महिला तथा बालबालिका कार्यालयअन्तर्गत जिल्लामा रहेको अल्पकालीन महिला सेवा केन्द्रले हिंसामा परेका महिलाको सहयोगको लागि विभिन्न कार्यहरू गर्दै आएको छ ।
पछिल्लो समयमा कुटपिट, घर निकाला, लाउन–खान नदिनेजस्ता घटनामा कमी आए पनि महिलामाथि मानसिक यातनाका घटना बढेको संयोजक थापाले बताउनुभयो ।
“मानसिकरूपमा तनाव सिर्जना गरिदिने, धम्क्याउने, मनोवैज्ञानिक त्रास दिनेजस्ता व्यवहार पुरुषबाट हुने गरेका घटना बढी छन्” थापाले भन्नुभयो, “त्यो पनि शिक्षित र सम्पन्न घरपरिवारकै पुरुषबाट बढी हुने गरेको पाइएको छ ।”महिलामाथि हुने हिंसाको रूप पनि बदलिँदै गएको छ । महिलामाथि नयाँ प्रकृतिका हिंसा हुने गरेको नेपाल बार एसोसिएसन पुनरावेदन बार इकाई बागलुङका अध्यक्ष राम शर्माले बताउनुभयो । शर्माका अनुसार महिलामाथि हुने हिंसा रूपान्तरित हुँदै गएको छ ।
घरमा सबै राम्रो गरेकोजस्तो देखाउने तर कतिपय पुरुष आफ्नी श्रीमतीसँग श्रीमान्को व्यवहार नगरेर अन्यत्रै हिँड्ने, श्रीमतीलाई बेवास्ता गर्नेजस्ता डरलाग्दा घटना देखिन थालेको शर्माले बताउनुभयो । श्रीमतीलाई प्रशस्त पैसा दिने, हाँसीखुसी राख्ने प्रयास गर्ने, गालीगलौज र कुनै नराम्रो नगर्ने तर घरबाहिरै अप्राकृतिक सम्बन्ध राख्ने गरेको शर्माको भनाइ छ । यस्तो क्रियाकलापप्रति महिला सचेत हुनुपर्ने उहाँको सुझाव छ । “यो एउटा डरलाग्दो हिंसाको स्वरूप हो” वकालत मञ्च धौलागिरिका संयोजकसमेत रहनुभएका शर्माले भन्नुभयो, “यसले महिलामाथि असुरक्षा थपिदिएको छ ।”
अल्पकालीन महिला सेवा केन्द्रमा बलात्कारका घटना दर्ता भएका छन् ।
पुरुषले घरबाहिर पनि आफ्नो मिल्ने साथी बनाउने गरेको र उससँग अनैकित सम्बन्ध राख्ने गरेका घटनासमेत बाहिर आएको केन्द्रकी संयोजक थापाले बताउनुभयो ।
यस्ता प्रकारका हिंसाजन्य व्यवहारले मनोवैज्ञानिक असरका साथै आर्थिक, सामाजिकरूपमा समस्या र कलङ्क सिर्जना गर्ने थापाको भनाइ छ । यस्ता घटना सभ्य समाजका कलङ्क भएको थापाले टिप्पणी गर्नुभयो । केन्द्रले हिंसामा परेका महिलालाई कानुनी परामर्श, उपचार र न्यायका लागि पैरवी गरिरहेको छ । नेपालब्रिटेन;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै