आरदरणीय आमा, दिदीबहिनी तथा महिला अधिकारकर्मीहरू, देशमा चलिरहेको महिला हिंसा देख्दा मलाई असाध्यै नराम्रो लागिरहेछ र हृदयदेखि पिरोलिरहेछ, तापनि एकतर्फी बयान सुनेर निर्दोषलाई महिला हिंसाको प्रपञ्चमा पारी नै रहेछ भनेर थाहा पाउँदा आत्मादेखि आर्तनाद भइरहेको छ ।
देश त बस्न लायक रहेनछ । अनि यहाँ न त जनतालाई सत्यको सरोकार रहेछ न त तथ्य पत्ता लाउने चाहना नै । मात्र आँखा चिम्लेर भीडमा सामेल हुनलाई एउटा संवेदनशील विषय चाहिने रहेछ ।
सायद भूतले खाजा खाने बेला रहेछ यो । नत्र डाक्टरले रिपोर्ट र घटनास्थलको पुलिस विवरणले निर्दोष तुल्याएको मेरो परिवारलाई यस्तो लाञ्छना लाग्ने थिएन ।
मेरो एउटा प्रश्न छ, आदरणीय महिला अधिकारकर्मीहरूलाई । एकचोटि आफूलाई मेरी आमाका ठाउँमा सम्झनुहोस् ।
निर्दोष भईकन पनि सारा अन्धो समाजले आफ्नाविरुद्ध नारा लाएको सुन्दा उहाँलाई कस्तो हुँदो हो ? सम्बन्धित निकायले निर्दोष तुल्याए पनि सारा समाज उहाँमाथि खनिनु त कहाँ महिला हिंसा हुन्थ्यो र ! परीक्षा दिन कुरिरहेको मजस्तो विद्यार्थीले आफ्नी दिदीको प्राण बचाउने आसमा पासो फुकाउनाले आज कारागारमा पर्नु र परीक्षा तयारी गर्न नपाउनु त कहाँ बालअधिकार हनन हुन्थ्यो र !
आधा जीवन समाजसेवा गर्नुभएका मेरा बुबाको छविमा दाग लगाउन त कहाँ मानवअधिकार हनन हुन्थ्यो र । अन्याय र न्याय त सडकमा अन्धाधुन्ध उत्रिएको भीडले ठहर्याउँदोरहेछ ।
अधिकारजस्ता कुरा त हुलले मात्र ल्याउने रहेछ । न्याय ? न्याय त म माग्छु, हे अधिकारकर्मी आमाहरू । पीडित र पीडक छुट्याउनुहोस् । न्याय दिनुहोस् । मैले सात वर्षसम्म भाइटीका लगाएकी दिदीलाई उहाँको लासमाथि राजनीति नगरियोस् । उहाँको चरित्रलाई चोट नपुर्याइयोस् । न्याय दिनुस् उहाँलाई र त्यो पार्थिव शरीरलाई कुहिनुअघि दाहसंस्कार मिलोस् ।
हजारौंचोटि पोस्टमार्टम गर्नुहोस् तर अडानबिना सत्य खोतल्नुहोस् । न्याय दिनुस् हामीलाई जसको कसुर ती तथाकथित पीडितले मागेको दस लाख नदिनु मात्र हो । त्यसै कस्टडीका नानाथरी जुम्राहरूलाई रक्तभोग गराइरहेको बेला तथ्य नखुलीकन सामूहिक विरोध गरी पीडा थप्नु कहाँ न्याय हो र ? उहाँको मृत्युले हामीलाई उसै पनि स्तब्ध बनाएको छ । हत्याराको उपनाम दिएर थप पीडा नथपौं ।
सायद मेरो गुहार नसुनिएला । अझ मेरोे अनर्थ पनि लाइएला, किनकि न्यायको परिभाषा फेरिइसक्यो यो देशमा । मानवता हटिसक्यो यहाँबाट । आफन्तको लास त मागिखाने भाँडो भइसक्यो । संवेदनशील विषयले मार हान्ने त तथाकथि पीडितहरूको धन्दा भइसकेछ ।
प्रक्षेपण प्रसाईं (हनुमानढोका प्रहरी कस्टडी) स्रोत : कान्तिपुर !