छोरीहरुलाई बचाउने क्रममा आमाको समेत जलेर मृत्यु

भक्तपुर, पुस २२,

उपेन्द्र लामिछाने - आगोमा परेका छोरीहरुलाई बचाउने क्रममा यहाँकी एक आमाको समेत जलेर मृत्यु भएको छ। भक्तपुर नगरपालिका-१ सूर्यमढीस्थित घरको चौथो तल्लामा आगो लागेपछि छोरीहरु २९ वर्षे पार्वती र २४ वर्षे सजनालाई बचाउन गएकी ६४ वर्षे आमा लक्ष्मीकेशरी प्रजापतिको उनीहरुसँगै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। तेस्रो तल्लामा रहेका श्रीमान पूर्णभक्त र दोस्रो तल्लामा रहेकी कान्छी छोरी सजना भने बचेका छन्।

घटनापछि अस्पताल भर्ना भएका पूर्णमानको अवस्था सामान्य छ। पूर्णभक्तसँग तेस्रो तल्लामै रहेकी लक्ष्मीकेशरी घरबाट बाहिर निस्केलगत्तै फेरि छोरीहरु सुतेको ठाउँ पुगेकी थिइन्। 'हामी तीनै जना बाहिर निस्केका थियौं,' पूर्णभक्तले भने, 'ऊ फेरि माथि गई।' छोरीहरु जलेको तल्लाको झ्यालबाट गुहार माग्दामाग्दै लक्ष्मीकेशरीको ज्यान गएको प्रत्यक्षदर्शीले बताए। मृत अवस्थामा भेटिएकी लक्ष्मीकेशरीको नजिक पानीको बाल्टिन फेला परेको थियो। आगो लागेको घरसामुन्ने रहेका शिव प्रजापतिले आफूले १२:५५ मा घटना थाहा पाएको र प्रहरीलाई फोन गरेको सुनाए।

'केही क्षणमै भक्तपुरको एउटा दमकल आयो,' उनले भने, 'आगो निभाउन उसलाई मुश्किल पर्‍यो।' भक्तपुरस्थित जुद्धवारुण यन्त्रमा रहेका अन्य तीन दमकल बिग्रेकाले काठमाडौँ र ललितपुरबाट आउने दमकलको बाटो कुर्नुपरेको उनले सुनाए। 'धन्न समयमै आगो नियन्त्रणमा आयो र पूरै बस्ती जलेन,' उनले भने, 'छिमेकीले घरको छतछतमा जम्मा भएर आगोमा बाल्टिनले पानी खन्नाए।' भक्तपुर, काठमाडौँ, ललितपुर र प्रहरीको गरी सातवटा दमकलबाट दुई घन्टाको प्रयासपछि आगो निभाइएको थियो। शनिबार राति मलामी गएर १० बजेतिर घर फर्केका पूर्णभक्तले आफूले खाना तताएर खाएको र सुतेको सुनाए। 'त्यही आगो ननिभेर सल्केको हुन सक्छ,' उनले सुनाए।

त्यही चुलोमा शनिबार दिनभर नेवारी परिकार यमुरी पाकेको थियो। जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर केसीले घटनामा तीन जनाको मृत्यु भएको र दुई बच्न सफल भएको बताए। 'हामी खबर पाएको ५ मिनेटमै पुगेका थियौं,' उनले बताए। घटनालगत्तै भक्तपुर नगरपालिका वडा नं. १ सूर्यमढीस्थित टोलसँगै सिंगो भक्तपुर शोकमग्न छ। आइतबार मध्याह्न हनुमन्ते नदीकिनारमा रहेको हनुमानघाटमा आमा-छोरीहरूको सामूहिक दाहसंस्कार हुँदा सयौं महिला खोलावरपर जम्मा भएका थिए। मृतक लक्ष्मीकेशरीका ६ छोरीमध्ये तीनको बिहे भइसकेको छ।

उनका दुई छोरा भने अलग्गै बसेका छन्। उपत्यकामा दमकल अपुग घनाबस्ती बढ्दै जाँदा पनि दमकल संख्या बढाउनेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको सरोकारवालाले बताएका छन्। झन्डै ५० लाख जनसंख्या रहेको उपत्यकामा ८ वटा मात्र दमकल निकै अपुग रहेको उनीहरु बताउँछन्। 'उपत्यकामा कम्तीमा पनि ५० वटा दमकल हुनुपर्थ्यो,' जुद्धवारुण यन्त्र कार्यालयका प्रमुख लिलाराज गाछामगरले भने, 'अहिले काठमाडौंमा ६, ललितपुरमा १ र भक्तपुरमा रहेको १ ले काम चलाउनुपरेको छ।' प्रहरी र सेनासँग आफ्नो प्रयोजनमा रहेको दमकलसमेत आवश्यक परे माग्ने गरेको उनले बताए। 'एकै पटक दुईतिर आगजनी भयो भने अर्को विकल्प छैन,' उनले भने।

शनिबार भक्तपुरमा भएको आगजनीमा आफ्नो कार्यालयबाट तीन वटा दमकल पठाएको बताउँदै उनले सवारीसाधनको चाप कम भएकाले समयमै पुगेर आगो निभाउन सकिएको बताए। 'आगलागीमा केही मिनेटको पनि ठूलो अर्थ रहन्छ,' उनले भने, ' त्यहि भएर दमकल कार्यलय य केन्द्रमा मात्र हैन अन्य तिर पनि विकेन्द्रीत गर्नु जरुरी छ।' नगरोन्मुख गाविसमा पनि बस्ती बढेकाले दमकल स्टेशन रहनु जरुरी रहेको बताए।

'जोरपाटीमा भएको घटनाको लागी न्यूरोडबाट दमकल जानु निक्कै ढिलो हुन्छ,' उनले उदारण दिए ,'घना बस्तीको आसपासमा एउटा मात्र भएपनि दमकल राख्नु वुद्धीमानी हुन्छ।' आगो सुरुवातमा निक्कै सानो रहने भएकाले टाइममै पुगे त्यसलाई नियन्त्रण गर्न सजिलो हुने बताए। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ६० हजार जनसंख्यामा एउटा फायर वि्रगेड रहने व्यवस्था रहेको उनले बताए। 'यहाँ त ५० लाख जनसंख्यामा ३ वटा मात्र छ ,' उनले भने, ' यो निक्कै लाजमर्दो अवस्था हो।' नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com