अविवाहित १४ वर्षमै आमा

ताप्लेजुङ, पुस २३ ,

आनन्द गौतम ; एक युवकको जबर्जस्ती यौन सम्पर्कपछि १४ वर्षमै जन्माएको बच्चा र आफ्नो स्वास्थ्य गम्भीर भएपछि एक किशोरी समस्यामा परेकी छन् । उपचारका लागि सदरमुकाम फुङलिङ आएकी खोक्लिङ गाविसकी चन्द्रकला सार्कीको कम्मरमुनिको भाग चल्दैन । उनले जन्माएको बच्चाको शरीरभरी घाउ छ । बच्चा जन्माएपछि गोप्य अंगमा घाउ भएको र हिँडडुल गर्न समस्या भएको उनले बताइन् ।

उपचारका लागि पाथीभरा अस्पताल भर्ना भएकी उनलाई यहाँ उपचार सम्भव नभएको भन्दै अस्पतालले रेफर गरिदिएको छ । सदरमुकाममा रहेकी दिदी कल्पना थलङकोमा डेरा बसेर पढ्दै आएकी उनले आफूलाई जबर्जस्ती करणी गरेको दाबी गरेकी छन् । भानुजन उच्चमाविमा कक्षा ७ मा अध्ययनरत चन्द्रकला माघ १९ गते बेलुका आफूमाथि पहिलो पटक जबर्जस्ती यौन दुव्र्यवहार भएको बताइन् । 'विद्यालयबाट डेरा र्फकने क्रममा फुङलिङका जीवन भट्टराईले जबर्जस्ती गरे' उनले भनिन् ।

अन्दाजी १७ वर्षीय भट्टराईले डेरा नजिकको शिव मन्दिरछेउ तीन पटकसम्म जबर्जस्ती गरेको र त्यसपछि भागेर घर गएको उनको दाबी छ । गर्भवती भएको तीन महिनापछि उनले आमालाई सुनाएकी थिइन् । आमा कमला सार्कीले छोरीको अवस्थाबारे छलफल थालेपछि सदरमुकाम झिकाएर केटा पक्षले ८० हजार दिने सर्त गरेका थिए । 'डेरा बसेको घरमा छलफल भयो, गर्भवती भए/नभएको जाँच गर्न झापा गयौं र गर्भवती भएको पुष्टि भएपछि उनीहरूले खाना खर्च भनेर ८० हजार दिए,' कमलाले भनिन् । तर उनको हातमा भने ५० हजारमात्रै परेको छ ।

३० हजार रुपैयाँ भिनाजु इन्द्र थलङले नै राखेको चन्द्रकला बताउँछिन् । चन्द्रकलाका अनुसार उनको गर्भपतन गराउन प्रयास गरिएको थियो । 'गर्भपतन गराउन डाक्टरले समय बित्यो अब मिल्दैन भनेपछि गराइएन,' उनले भनिन् । परीक्षणमा बच्चा भएको पुष्टि भएपछि मात्रै केटा पक्षले रकम दिएका थिए । जीवन भने अहिले सम्पर्कविहीन छन् । असोज २२ गते बिहान घरमै बच्चा जन्माएकी चन्द्रकला र उनको बच्चाको स्वास्थ्य कहिल्यै राम्रो नभएको बुवा कुलबहादुर सार्कीले बताए । इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com