लहान, पुस १९,
मिथिलेश यादव : 'मेरो इज्जत लुट्नेको हातमा हतकडी हेर्न चाहन्छु हजुर, मलाई जिउँदो लास बनाउनेले उन्मुक्ति नपाऊन् हजुर,' सामूहिक बलात्कारको सिकार धनगढी-८ की १८ वर्षे युवतीले बुधबार जिल्लाबाट गएको डिएसपी कृष्णहरि शर्मासहितको टोलीसँग निसाफको याचना गरिन्।
'मिलापत्र गरेर मेरो लुटिएको इज्जत फर्कंदैन,' उनले टोलीसँग भनिन्, 'अहिलेसम्म तपाईँहरुले दिनुभएको साथ निरन्तर रहोस्।'
डिएसपी शर्माले पीडित युवतीलाई निसाफ दिलाउने हकमा प्रहरीले कुनै कसर बाँकी नराख्ने आश्वासन दिँदै हिम्मत कम नगर्न हौस्याए। फरार अभियुक्तलाई फन्दामा पार्न प्रहरी लागिपरेकाले यो लुकाछिपिको खेल धेरै दिन नचल्ने उनको भनाइ छ।
सामूहिक बलात्कार हुनुभन्दा पाँच वर्षपहिले पनि उनीमाथि बलात्कार प्रयास भएको गाउँकै एक महिलाले खुलाइन्। ती महिलाले भनिन्, 'त्यतिबेर घटना गाउँमै दबाइयो।'
त्यत्तिकैमा अर्की एक महिलाले थपिन्, प्रयास होइन, बलात्कार नै भएको थियो तर गाउँमै पञ्चायती बसेर मिलापत्र गरियो।' ती महिलाका अनुसार त्यतिखेर पीडकसँग दण्डवापत २५ हजार जरिवाना भराइएको थियो।
वडा प्रहरी कार्यालय लहानका इन्सपेक्टर ढकेन्द्र खतिवडाका अनुसार पीडित युवतीले दुई जना युवाको नाममा दिएको किटानी जाहेरी दर्ता भइसकेको छ। जबर्जस्ती करणीको महल अन्तर्गत धनगढी-९ का १९ वर्षे वीरेन्द्र साह र सुरेन्द्र साहमाथि मुद्दा दर्ता भइसकेको खतिवडाले बताए।
'अभियुक्तहरू सपरिवारै फरार छन्,' उनले भने, 'उनीहरुको घरमा ताला झुन्डेको छ।' अभियुक्तको खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको उनले बताए।
पीडित युवतीलाई मंगलबारै स्वास्थ्य परीक्षण गराइसकिएको र एक दुई दिनमै मेडिकल रिपोर्ट आइसक्ने उनले बताए।
त्यतिबेरै मिलापत्रको साटो कारवाहीतिर गएको भए आज यो घटना नदोहोरिने गुनासो पीडितका आफन्तले गरे।
दण्ड वापत त्यतिबेर तिराइएको २५ हजार रकम पनि पञ्चले नै राखेका थिए। पहिला पञ्चायतबाट बलात्कारको मुद्दा मिलाएकाहरु नै अहिले फेरि मुद्दा गाउँमै मिलाउन तम्सिएका छन्।
पञ्च भनाउँदाहरुले पीडित परिवारलाई दण्डवाट असुल भएको रकम र पहिलाको २५ हजार मिलाएर युवतीको विवाह गराइदिने लोभ दिँदै मिल्न दवाव दिइरहेका छन्।
पीडित युवतीका दाइले भने, 'इज्जत लुट्नेलाई कडा भन्दा कडा कारवाही भएको देख्न चाहन्छु।'
'इज्जतलाई पैसामा साट्न सकिँदैन, उनले भने, 'मेरी बहिनी जस्तो अरु कसैकी बहिनीले यो नियती सहनु नपर्ने गरी कारबाही भएको हेर्न चाहन्छु।'नागरिक;