भट्टराइ दम्पत्तिको हत्यापछि गाउँ नै बिस्थापित

राजविराज, पुस १९,

सप्तरीको जन्डौल-८ का डम्बर भट्टराई र पत्नी कौशल्याको हत्यापछि सिंगो बस्ती विस्थापित भएको छ । जंगल क्षेत्रमा भट्टराईसहित चार परिवारको बसोबास थियो । सोमबार राति अज्ञात समूहले दम्पतीको हत्या गरेको थियो । गाउँमा अलि बुझ्ने खालको व्यक्ति भट्टराई नै रहेकाले निजको हत्यापछि त्रासका कारण त्यहाँका बासिन्दा विस्थापित भएको स्थानीय सञ्चारकर्मी रामनाथ चौधरीले बताए । 

गाउँमा धीरेन्द्र साह, उषा साह र मोहन मगरको बसोबास थियो । उनीहरू सबै बुधबार बिहानै आफन्तकहाँ पुगेका छन् । यसैबीच मृतकका आफन्तजनले बुधबार जन्डौलमा रहेको मृतकको घर बिक्री गरिदिएका छन् । 'मंगलबार राति भिनाजुको घरबाट केही सामान चोरी भएपछि हामीले घर र बाख्रा बेचिदियौं,' भट्टराईकी साली मीना लामिछानेले भनिन् । उनले स्थानीय एकजनालाई ५० हजारमा घर बिक्री गरेको बताइन् । 

११ जनाको समूहमा आएका अज्ञात व्यक्तिले सोमबार मध्यरातमा ४५ वषर्ीय भट्टराई र ३५ वषर्ीया श्रीमती कौशल्याको निमर्मतापूर्वक हत्या गरेको थियो । दुवैको शवलाई मंगलबारै राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा पोस्टमार्टम गरी राति नै सप्तरीको भारदहस्थित कोसी नदीमा अन्त्येष्टि गरिएको छ । जेठा छोरा दीपेशले दागबत्ती दिएका थिए । 

बुबाआमाको हत्यापछि बिचल्लीमा परेका भट्टराईका छोराछोरीलाई तत्कालका लागि सानीआमा विणा लामिछानेले विराटनगर लिएर गएकी छन् । मृतक दम्पतीका १५ वषर्ीय छोरा दीपेश, ११ वषर्ीया छोरी दीपिका र ९ वषर्ीय छोरा दिनेश छन् । हत्या कसले र किन गरेकोबारे बुधबारसम्म पनि केही खुल्न सकेको छैन । 

घटनामा केही काठ तस्कर र वनरक्षकप्रति शंका गरिए पनि सप्तरी प्रहरीले यस सम्बन्धमा केही खुलाएको छैन । शम्भुनाथ रेन्जपोस्टका वनरक्षकको टोलीले घटनाको दिन भट्टराईको घरबाट कुखुरा लिएर आएकाले उनीहरूप्रति शंका गरिएको थियो । सोही आधारमा सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले शम्भुनाथ रेन्जपोस्टका वनरक्षकसित घटनाबारे सोधपुछसमेत गरेको थियो । प्रहरी प्रमुख बस्नेतले तीव्रताका साथ घटनाको अनुसन्धान भइरहेको बताए । 

आमाबाबुको हत्यापछि बिचल्लीमा परेका तीन छोराछोरीका लागि सहयोग गर्न विभिन्न व्यक्ति तथा संस्था सम्पर्कमा आएका छन् । बुधबार काठमाडौं बालाजुका जगत श्रेष्ठले मृतकका कान्छा छोरा दिनेशलाई आफूले पढाइदिने आश्वासन दिएका छन् । काठमाडौंकै गोपाल आचार्यले पनि मृतक दम्पतीका छोराछोरीलाई निःशुल्क पढाइदिने बताएका छन् ।इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com