तनहुँ, पुस १८ ,
पूर्ण बिके ; श्रीमान्सँगै सुतेको अवस्थामा मृत्यु भएकी व्यास २ दमौलीकी २१ वर्षीया अञ्जना रानाभाट (ढकाल) का श्रीमान् दिवसलाई जिल्ला अदालत ले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेश अन्यायपूर्ण भएको भन्दै दमौली बजारवासीले बुधबार राजमार्ग सहित बजार बन्द गरेका छन् ।
जिल्ला अदालत को निर्णयले दिवसमाथि अन्याय भएको भन्दै दिवसका छिमेकी सहितका करिव ३ सय दमौलीवासीले बुधबार बिहान ९ बजेदेखि २ घण्टा पृथ्वि राजमार्गमा यातायात संचालन हुन दिएनन् । उनीहरुले वुधबार दिनभर दमौली बजार बन्द गरेका छन् ।
दिवस बचाउ अभियान नाम दिएर बन्दकर्ताले निष्पक्ष छानबिन आयोग गठन गर्न र दवावमा गरिएको शल्यपरिक्षण मान्य नहुने भन्दै विरोध जनाएका हुन् ।
जामुने ३ माइती भएकी २१ वर्षीया अञ्जनाको मंसिर १५ गते श्रीमान् दिवससँगै सुतेको अवस्थामा मृत्यु भएको थियो । माइती पक्षले शंकास्पद मृत्यु भएको भन्दै श्रीमान् दिवस विरुद्व किटानी जाहेरी दिएका थिए । अनुसन्धान क्रममा दिवस प्रहरी हिरासतमा थिए ।
'हामीले निर्दोष व्यक्तिमाथि अन्याय भयो भन्ने ठानेर नै दवावपूर्ण आन्दोलन थालेका हौं,' व्यास २ दमौलीकी सरस्वती पौडेलले भनिन्, 'यस्तो अवस्थामा हामी दमौलीवासीले टुलुटुलु हेर्नु उपयुक्त ठानेनौं र सडकमा उत्रिएका हौं ।'
उनले आँफुहरुको आन्दोलनको उद्वेश्य नै अदालत लाई अनुसन्धान प्रति जिम्मेवार बनाउनु रहेको बताइन् । उनले आफूहरुको आन्दोलनको सुनुवाई नभए थप आन्दोलनमा उत्रन बाध्य हुने जानकारी दिइन् ।
माइतीपक्षले पनि र्याली निकाले
अदालत ले मृतककी श्रीमान् २३ वर्षीय दिवसलाई पुर्पक्षमा राख्ने आदेश शंकास्पद भएको भन्दै माईती पक्षले निष्पक्ष छानविनको माग राख्दै बुधबार दमौलीमा र्याली निकालेका छन् । र्यालीमा छाङ्ग, जामुने र मनपाङ्ग गाविसका सयौं सहभागी थिए ।
जामुने ३ माइती भएकी २१ वर्षीया अञ्जनाको मंसिर १५ गते श्रीमान् दिवससँगै सुतेको अवस्थामा मृत्यु भएको थियो ।
छोरी अञ्जनाको मृत्यु हुनुमा श्रीमान् र सासु वालकुमारी र ससुरा पूर्णचन्द्र ढकाल र भाञ्जी दिदी कमलाको समेत हात रहेको भन्दै माइती पक्षले निष्पक्ष छानविनको माग राख्दै शान्ति र्याली निकालिएको अञ्जनाका बाबु रामबहादुरले बताए ।
'हामीले निष्पक्ष छानविन होस् भनेरनै शान्ति र्याली निकालेका हौं,' रामवहादुरले भने, 'मेरी छोरीलाई दाईजोको निहुँमा परिवारका सबै मिलेर मारिएको हो भन्ने ठानेको छु । त्यसैले निष्पक्ष छानविन हुनु पर्छ ।'
मृत्यु हुनु अघि साँहिली छोरी अञ्जनालाई अन्य छोरीलाई दाइजो दिए सरह ४ लाख रुपैंयाँ दिन्छु भनेर आफूले भनेपनि नदिइएको रामबहादुरले बताए । मृत्यु लगत्तै दुवै पक्षको सहमतिमा अञ्जनाको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएको थियो ।
मृत्युको विषयलाई लिएर माइती पक्षका सुरजा रानाभाटको संयोजकत्वमा १३ सदस्यीय हत्याकाण्ड छानविन सरोकार समिति समेत गठन गरिएको समितिका सदस्य शिवबहादुर रानाभाटले बताए । उनले आफूहरुको उद्वेश्य न्यायलाई प्रभावित पार्नु नभई छानविनमा सहयोग पुर्याउनु रहेको जानकारी दिए । उनले घटनाका दोषी देखिएकालाई कडा कारबाही हुनु पर्ने समेत बताए ।इकान्तिपुर;