मोडलिङ महिला हिँसा बिरुद्ध

ललितपुर, माघ ४ ,

 मधु शाही ; दिनानुदिन हिंसाका घटनाहरू सार्वजनिक भइरहेका छन् । सहरका सडकमा ती घटनाको विरोधमा स्वर उर्लिने क्रम पनि उत्तिकै छ । काभ्रे बनेपाकी २० वषीया पुष्पा पलाञ्चोकेले भने विरोधको सिर्जनात्मक बाटो अपनाएकी छन् । कानुनमा स्नातक गर्दै गरेकी उनले मोडलिङ कलालाई महिला हिंसाविरोधी अभियानमा मिसाएकी छन् । 

जाउलाखेलस्थित आर्टिस्ट प्रुफ ग्यालरीमा 'दामिनी' शीर्षकमा उनले महिला हिंसा थिममा आफैंले मोडलिङ गरेका तस्बिर प्रदर्शनीमा राखेकी छन्, जहाँ सिलु जैन र अभिशेष मास्केले खिचेका ४८ तस्बिर छन् । प्राकृतिक स्वरूप, सामाजिक अधिकार, त्यसमा खेप्नुपरेको बन्देज लगायत विभिन्न अवस्थालाई उनले विभिन्न हाउभाउका साथ मोडलिङ तस्बिरमा उतारेकी छन् । भारतमा सामूहिक बलात्कारको सिकार भएकी पात्र 'दामिनी' को नामबाट प्रदर्शनीको शीर्षक जुराइएको भए पनि तस्बिरहरूमा नारी हिंसाको सर्वव्यापी पाटोलाई खोतलिएको छ । 

ग्यालरी पस्ने बित्तिकै हरियो घाँसमाझ गरगहना र शृंगारमा सजिएकी सुन्दर युवतीको कामुक भाव झल्कने मोडलिङ फोटो देख्न सकिन्छ । यसले प्राकृतिक रूपमै महिला सुन्दर हुन्छन् भन्ने भाव झल्काउन खोजेको पुष्पाले बताइन् । यो शृंखला अन्तर्गत ८ तस्बिर पहेँलो सारीमा बेरिएका अनेक रूपमा देख्न पाइन्छ । सुरुमा पहेँलो सारीमा हल्का बेरिएकी युवती विस्तारै त्यही सारीले कस्दै गएका अन्य फोटोहरू छन् । 

'उमेर जति बढ्दै जान्छ उति नारीको स्वतन्त्रता कसिँदै जान्छ' भन्ने सन्दर्भलाई सारीको विम्बमा उनले उतारेको बताइन्, 'पहेँलो सारीलाई चाहिँ समाजको प्रतीक र स्वतन्त्रताको प्रतिविम्बका रूपमा लिएकी छु ।' सारीमा कसिँदै गएपछि युवतीले हात फैलाउँदै केही मागिरहेको दृश्य भावुक लाग्छ । यसपछि उनले मोडलिङमा हरियो सारी प्रयोग गरेकी छन् । यो अवस्था पहेँलोभन्दा निकै कहालिलाग्दो देखिन्छ । भ्यानमा राखेर बलात्कार गरिएको दृश्य झल्कने हरियो सारीमा युवतीका अनेक चित्कार, याचना र पीडाका भाव झल्किन्छन् । 

'यो सिन सुट गर्दा म आफैं पनि निकै भावुक भएकी थिएँ,' पुष्पाले भनिन्, 'बलात्कार गर्दाको कहालिलाग्दो भाव अनुहारमा झल्काउन त यति गार्‍हो हुन्छ भने, वास्तवमै भोग्नेलाई कस्तो होला ?' हरियो सारीचाहिँ प्रकृतिको संकेत बुझाउन प्रयोग गरिएको पुष्पाले बताइन् । यो शृंखलाका १६ तस्बिरले यौन हिंसामा पर्दा महिलाले भोग्ने मानसिक र शारीरिक अवस्थालाई निकै संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । 

बलात्कार हुँदा पीडित युवतीले गुहार माग्नु, छटपटाउनु, कमजोर अनुभूति गर्नु जस्ता मनोभावनात्मक पक्षलाई तस्बिरमा झल्काइएको छ । बलात्कारपछि रगताम्य शरीर धोइरहेको छाया पानीको तलाउमा दुरुस्तै देखिन्छ । 'यो हाम्रो समाजको ऐना हो,' पुष्पाले भनिन्, 'आफ्नो अस्तित्व गुमाइसक्दा पनि नारीलाई हाम्रो समाजले स्वीकार गरेको अवस्था छैन ।' तेस्रो शृंखला अन्तर्गत पुष्पा सेतो पहिरनमा देखिएकी छन् । 

१४ तस्बिर रहेको यो शृंखलामा अस्तित्व गुमाएपछि युवतीले गर्ने आत्मग्लानि र हीनता भाव झल्किन्छ । डुंगामा तैरिँदै गरेको तस्बिरमा सांकेतिक रूपमा मानसिक वा शारीरिक देहान्तको प्रतिविम्ब झल्किन्छ । सानो सिर्जनात्मक अभियानले पनि समाजमा ठूलो चेतनागत परिवर्तन गर्न सकिने विश्वासका साथ तस्बिरहरू प्रदर्शनीमा ल्याइएको आर्टिस्ट प्रुफ ग्यालरीकी संयोजक रागिनी उपाध्याय बताइन् । 

महिला हिंसा विरुद्धको सिर्जनालाई सघाउन उनले निःशुल्क ग्यालरी उपलब्ध गराएकी हुन् । तीन दिनको अवधिमा स्वयम्भू, ग्वार्को र टौदहमा तस्बिरहरू खिचिएका थिए । बिक्रीमा समेत रहेका तस्बिर बिहीबारसम्म प्रदर्शनीमा रहनेछन् ।इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com