सिन्धुपाल्चोक, पुस २५,
ध्रुव दंगाल - घरेलु कामदारका रुपमा कुवेत पुगेकी यहाँकी एक युवती मानसिक सन्तुलन गुमाएर चार महिनामै स्वदेश फर्केकी छिन्। विक्षिप्त अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भेटिएकी उनलाई सुरक्षित तथा व्यवस्थित बैदेशिक रोजगारीको क्षेत्रमा क्रियाशिल पौरखी नेपालले उद्धार गरी राजधानीमा उपचार गराइरहेको छ।
जिल्लाको स्याउले-४ की २२ वर्षीया सम्झना तामाङलाई पौरखीले शुक्रबार विमानस्थलमा अलपत्र अवस्थामा भेटेको थियो। अवस्था गम्भिर देखिएपछि उपचारका लागि सिधै जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो। 'बर्बराइ रहने सम्झना कहिले होस् कहिले बेठेगानको कुरा गर्छिन्,' अस्पतालमा रहेका पौरखीका सिन्धुपाल्चोक कार्यक्रम संयोजक दीपक अर्यालले भने।
उपचारमा संलग्न डा. शिखरबहादुर स्वाँरले सम्झनालाई गहिरो मानसिक रोग भएको बताए।
'माघको पहिलो सातासम्म उनको स्वास्थ्यमा केही सुधार आउन सक्छ,' उनले सञ्चारकर्मीसँग भने। कुनै प्रतिक्रिया नजनाउने सम्झनाले आधा घण्टाको प्रयासमा सोमबार स्वास्थ्यकर्मी र पौरखीका पदाधिकारीसँग अरवियन, नेपाली र तामाङ भाषामा केहीबेर बोलिन्।
आफूले काम गर्ने घरकी एउटी बुढी महिलाले बारम्बार पिटिरहने उनले बताइन्। त्यहाँ भुँई पुछ्ने र भाँडा माझ्ने काम गरेको बताउँने सम्झनाले अत्तालिंदै भनिन्, 'त्यो बुढीले मलाई पिटिरहन्थी।' शारिरीक र मानसिक यातनाले उनको सन्तुलन विग्रिएको हुन सक्ने शंका गरिएको छ।
धेरै पहिले बाबुआमा गुमाएकी उनको परिवारमा कोही छैन।
सन् २०१२ जुन २० मा श्रम स्वीकृत पाएकी सम्झना सेप्टेम्बर ६ तारिखमा कुवेत पुगेकी थिइन्। प्राप्त कागजातअनुसार सम्झना बैधानिक प्रक्रिया पूरा गरेर कुबेत गएको पाइएपनि यो अवस्थामा कसरी नेपाल आइपुगिन् भन्ने नखुलेको संयोजक अर्यालले बताए। 'सम्झनामा मानसिक समस्या देखिएपछि मालिकले हवाइजहाज चढाएर पठाएको हुन सक्छ,' उनले भने।
गोल्चेकी राममाया भन्नेले विदेश पठाएको र उनीपनि कुवेतमै रहेको सम्झनाले बताइन्। बाबुआमाबारे सोध्दा उनले यत्ति भनिन्, 'गाउँमा बालाई धने-धने भन्थे।'
उनी अर्धचेत अवस्थामा छिन्। उनले शरिरमा भिरेको झोलामा फोटो, राहदानी, चार जोर कपडा र एउटा भिजिटिङ कार्ड भेटिएको थियो। पौरखीले उनको छिमेकका आफन्त पत्ता लगाएपनि मंगलबारसम्म कोही सम्पर्कमा पुगेका छैनन्।
चार युवतीको उद्दार
विभिन्न समयमा अवैध रुपमा कुवेत प्रवेश गरेका जिल्लाका थप चार युवती घरेलुहिंसा सहन नसकेर एकै दिन स्वदेश फर्केका छन्। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अलपत्र अवस्थामा भेटिएका उनीहरुलाई पौरखीले उद्धार गरेको छ। त्यहाँस्थित नेपाली दुतावासको सहयोगमा स्वदेश फर्केको उनीहरुमध्ये दुई जनालाई सोमबार परिवारको जिम्मा लगाइएको छ। दुई पौरखीकै आश्रयमा छन्।
स्वदेश फिर्ती पछि उद्धार गरिएकाहरुमा गोल्चे गाविसका साङडोल्मा गोले, चन्द्रा गोले, चौताराकी कुसुम विक र इचोककी मंगली विक छन्। दिदीबहिनी रहेका साङडोल्मा र चन्द्रालाई परिवारले बुझेको छ। आश्रयमा रहेका कुसुम र मंगलीको आफन्तको खोजी भइरहेको पौरखीले जनाएको छ। कुसुम बाहेक तीन जना अवैध रुपमा कुवेत पुगेको पाइएको संयोजक अर्यालले जानकारी दिए। चारै जनालाई दलालमार्फत त्यहाँ पुगेका थिए।
तीन वर्ष आठ महिना बसेकी साङडोल्माले गाउँकै ३० हजार रुपैयाँ तिरेर सानु दोङ मार्फत कुवेत पुगेको बताइन्।
उनकाअनुसार सानु कुवेतमै छिन्। पिठौली-६ नवलपरासीकी गीता विकको राहदानीमा कुबेत पुगेकी चन्द्रालाई पदम र विष्णु गुरुङले त्यहाँ पुर्याएका थिए। चन्द्राका अनुसार उनी तीन वर्ष दुई महिना त्यहाँ बसिन्। १३ महिना बसेर फर्केकी कुसुमले गाउँकै दावा, सोनाम र कृष्ण तामाङले आफ्नै खर्चमा राहदानी बनाएर कुबेत पठाएको सुनाइन्।
दुई वर्ष आठ महिना कुबेत बसेकी मंगली त्यहाँका १५ वटा घरमा काम गर्दै ६ महिना जेल बसेर फर्केकी हुन्। कुटपिट गर्ने, खाना र तलव नदिने जस्ता दुःख भोग्दै भागेर काम परिवर्तन गर्दा १५ घर पुगेको उनले बताइन्। 'अन्तिम घरबाट भाग्दा पक्रेर ६ महिना जेल हाले,' गाउँका लालबहादुर तामाङ मार्फत त्यहाँ पुगेकी उनले भनिन्।नागरिक;