रुकुम, माघ १७ ,
जिल्लाको सानीभेरी नदीमाथि बनाइएका दुई वटा तुइन जीर्ण बनेपछि आवतजावतको क्रममा स्थानीय वासीले ठूलो जोखिम मोलिरहेका छन्।
तुइन निर्माण गरेको लामो समय भइसक्दा पनि मर्मत नहुँदा दैनिक सयौँ सर्वसाधारण जोखिम मोलेर वारपार गर्न बाध्य भएका हुन्।
गरायला र पूर्तिमकाँडा जोड्ने तथा हुकाम र जाङ जोड्ने तुइन लामो समयदेखि बिना मर्मत सञ्चालनमा रहेका छन्। हिँउद लागे पनि नदीमा पानीको सतह ज्यूँ का त्यूँ भएपछि सर्वसाधारणलाई तुइनबाटै वारपार गर्नुपरिरहेको छ।
घाँस दाउराको साथै स-साना पशुचौपाया वारपार गराउनुपर्ने अवस्थामा सबैभन्दा गाह्रो हुने गरेको गरायला गाविस वडा नम्बर ९ का वीरभान पुनले बताए ।
करिब ६० मिटर लामो तुइन जीर्ण भए पनि प्रयोग गर्न आफूहरू बाध्य भएको पुनको भनाइ छ।
उनका अनुसार यस वर्ष मात्रै तुइनबाट खसेर एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। सात वर्षअघि निर्माण गरेको तुइन जीर्ण भएपछि हुकाम र जाङका साथै अन्य छिमेकी गाविसका स्थानीय बासिन्दा तीन घन्टाको पैदल दूरी पार गरेर झोलुङ्गेपुल तर्नुपर्ने बाध्यतामा छन्।
स्थानीयका अनुसार तुइनको लठ्ठासहित अन्य सामग्री खिया लागेर नचल्ने अवस्थामा पुगेपछि पैदल हिँड्न बाध्य हुनुपरेको हो।
'तुइन बिग्रेपछि लामो बाटो हिँडेर वारीपारी गर्नुपर्ने बाध्यता छ, स्थानीय रुपबहादुर पुनले भने, 'जिल्ला विकास समितिलगायतका अन्य सरोकारवाला निकायमा पटकपटक आग्रह गरेपनि मर्मतका लागि कुनै पहल हुन सकेको छैन।'
स्थानीयवासीको पहिलो माग तुइन भएकै ठाउँमा पुल निर्माण गर्नुपर्ने र पुल नबनाउँदासम्म तुइन मर्मत गर्नुपर्ने रहेको छ।
'बरु जोखिम मोल्न तयार छौँ तुइनबाटै तर्छौं जाङको स्थानीय माविका शिक्षक भीमबहादुर ओलीले भने, 'तीन घन्टाको पैदल यात्रा गरी पुल तर्न साह्रै गाह्रो र समय पनि खर्चिलो भइ हुन्छ।' रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै