खोटाङ, माघ १७ ,
जिल्ला शिक्षा कार्यालय खोटाङले समयमा योजना पूरा नगर्ने जिल्लाका १६४ विद्यालयको खाता रोक्का गरेको छ। विभिन्न आर्थिक वर्षमा जिम्मा लिएका विद्यालयको भौतिक निर्माणका योजना पूरा नगरेको भन्दै जिल्ला शिक्षा कार्यालयले ती विद्यालयको खाता रोक्का गरेको हो।
'सबैका लागि शिक्षा' र 'विद्यालय क्षेत्र सुधार' कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०६७/०६८ र त्यसअघिका योजना पूरा नगरेको भन्दै ८१ वटा प्रावि, ३८ वटा निमावि र ४५ वटा मावि तथा उच्च माविको खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालय प्राविधिक शाखाका सव-इन्जिनियर शिव राईले बताए ।
उनका अनुसार विद्यालयको भवन निर्माण तथा मर्मत, छात्रा शौचालय निर्माणलगायतका भौतिक योजना पूरा नगरेका विद्यालयको खाता रोक्का भएका छन्।
खाता रोक्का भएपछि विद्यालयका शिक्षक तथा कर्मचारी गत कात्तिकदेखि फागुनसम्मको दोस्रो चौमासिक तलव खानबाट वञ्चित भएका छन्।
जिल्लाका विद्यालयको नाममा रहेको कूल रु ११ करोड बेरुजु घटाउनका लागि खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताए ।
प्रधानाध्यपकलाई योजना फर्छ्यौट गर्ने कबुलियतनामा गराएर कतिपय विद्यालयको खाता खुल्ला गर्न सुरु गरिएको घिमिरेले जानकारी दिए ।
योजना पूरा नगरेसम्म सम्बन्धित विद्यालयको खाता फुकुवा नगरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ। जिल्ला शिक्षा कार्यालयले आगामी फागुन १५ गतेभित्र सम्पूर्ण योजना फर्छ्यौट गर्न विद्यालयलाई निर्देशन दिएको छ।
योजनाका लागि निकासा भएको बजेट दुरुपयोग हुनबाट जोगाउन र तत्काल योजना पूरा गर्न दबाब सिर्जना गर्नका लागि खाता रोक्का गरिएको सव-इन्जिनियर राईले बताए । रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै