महिला हिंसा विरुद्ध प्रदर्शन जारि
धादिङ, पुस २०,
रामेश्वर कार्की - महिला हिंसा विरुद्ध उत्रेका महिला अधिकारकर्मीलाई शुक्रबार धादिङमा प्रहरीले हस्तक्षेप गरेको छ। जिल्ला सदरमुकाममा आयोजित सिठ्ठी जुलुसपछि प्रमुख जिल्ला अधिकारीलाई सिठ्ठी बुझाउन जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेप गर्दा १५ महिला घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय भित्र पस्नै लाग्दा महिला अधिकारकर्मीलाई प्रहरीले दुर्व्यवहार गर्दै लाठी प्रहार गरेको घाइते राधिका सापकोटाले बताइन्।
प्रहरी हस्तक्षेपमा महिला अधिकारकर्मी राधिका सापकोटा, गंगा श्रेष्ठ, कमला कार्की, रुक्मिला पाण्डे, उषा भट्ट, मुना घिमिरे, रमा रिजाल, चिनु भण्डारी, टिकादेवी थापा, कमला अर्याल, भगवती अर्याल र कोपिला काप्री घाइते भएका छन्। घाइतेहरुको जिल्लास्थित नीजि औषधी पसलमा उपचार भइरहेको छ। तीन जनाको खुट्टामा, दुइ जनाको हात र पाखुरामा अन्यको शरीरमा नीलडाम छ।
महिला अधिकारकर्मीहरुलाई पुरुष प्रहरीले दुर्व्यवहार गर्दै लाठी प्रहार गरी प्रशासनको ढोकामा निर्घात कुटिएको अधिकारकर्मी अम्बिका रुपाखेतीले बताइन्। उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी हिंसालाई पक्ष पोषण गरेको आरोप लगाइन्। महिलाहरुले प्रहरी हस्तक्षेपपछि प्रशासन कार्यालयमा नारा जुलुस गर्दै भित्र पसेका आन्दोलनकारीले हस्तक्षेप गर्नेलाई कारबाही गर्न माग गरेका छन्।
प्रहरी हस्तक्षेपपछि महिला आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयको गेट तोडेर भित्र प्रवेश गरी प्रमुख जिल्ला अधिकारी विरुद्ध उनकै कार्यकक्षमा नारा जुरुस गरेका थिए। महिला अधिकारकर्मीको चर्को माग पछि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले क्षमा माग्दै आइन्दा यस्तो घटना नहुने प्रतिवद्धता गरे। प्रमुख जिल्ला अधिकारीको माफी पछि महिलाले सिठ्ठी बुझाएर फर्केका थिए।