काठमाण्डौ माघ ९
झमक घिमिरे ; समय पनि कति छिटो बित्दो रहेछ ! तर मैले भोगेको त्यो शारीरिक, मानसिक पीडालाई अहिले पनि सम्झनामा राखिरहेकी छु । जन्मिदै सेरेब्रल पाल्सीजस्तो खतरनात्मक रोग लिएर यो धर्तीमा खसेकी थिएँ । त्यही रोगसँगै कुस्ती खेल्दै आफ्नो जिन्दगीलाई जिन्दगीजस्तो बनाएँ ।
आफूलाई मान्छेजस्तो बनाएँ । कुनै बेला समय पनि कति निर्दयी लामो समयसम्म रोगले थलिएर लेख्न सकिनँ, पढ्न सकिनँ र पि्रय पाठकलाई सिर्जना दिन सकिनँ । तर एउटा लेखकको मनले सधैं सिर्जना गर्न खोजिरह्यो, त्यो सुन्दर पल पर्खिरह्यो । बाहिर केही मान्छेले हल्ला गरे रे- 'झमक मरी ।' तर मलाई माया गर्ने डाक्टरहरू सक्दो आफ्नो क्षमताले भ्याउँदा अस्पताल राखेर उपचार गर्न प्रयत्नरत थिए ।
पीडा सहन नसक्दा म क्वाँक्वाँ डाँको छोडेर पनि रुन्थेँ । त्यसरी रुँदा मेरो मानसिक पीडा पखालिन्थ्यो, पीडा केही मात्रामा भए पनि हल्का हुन्थ्यो । मैले त्यतिबेला के महसुस गरेँ भने मान्छेले जति हाँस्न खुलेर सक्छ भने रुन पनि त्यतिकै मज्जाले जान्नुपर्दो रहेछ । जो एउटा खालको औषधि नै हो । डाक्टरहरूको आदेश थियो- धेरै नलेख । आखिर यो आदेश मेरो हितका लागि हो । तर चुलबुले मनले हतपत मान्न तयार थिएन ।
धेरै मान्छेका लागि म पि्रय लेखक थिएँ, जो मेरो कलमबाट सधैंभरि जनताका स्वरहरू अगाडि आउन र यिनीहरूको आवाज त्यो कलमबाट बोलियोस् भन्ने चाहना राख्थे, उनीहरू पक्कै पनि दुःखी थिए । उपचारमा संलग्न डाक्टरहरूलाई थाहा थियो, यो रोगको निदान हुन सक्दैन । तर सम्भावनाहरूको खोजी गरिरहेका थिए, मलाई मीठो लागिरहेको थियो, उनीहरूको खोज तर आशा मारेका थिएनन् । बेडमा सुतेर मैले मनमनै कविताका हरफहरूसँगै ती डाक्टरहरू र नर्सहरूको आत्मीयतालाई एकदमै नजिकबाट नियालिरहेँ ।
काठमाडौं मोडल अस्पतालको बेडमा रहँदा मैले मनमनै सोचिरहेँ- आखिर मलाई माया गर्ने मान्छेहरू यहाँ पनि कमी रहेनछन् । सोच्दा मन प्रफुल्ल हुने गर्थ्यो । आफ्नो पीडा त छँदै थियो । यहाँसम्म कि मलाई अस्पतालको बिरामीको कोठा सफा गर्ने एउटी महिलाले आफ्नो भागको भातसमेत फुटाएर मलाई दिन्थिन् । खोइ किन हो, उनले मेरा लागि भात आफ्नो घरैबाट पकाएर ल्याइदिन्थिन् । यही होला आफू भलो त जगतै भलो भनेको । हुन त म स्वयं कति भलो थिएँ, त्यो थाहा छैन । तर कसैको कुभलो मनले सोच्दैन ।
यसमा मैले आत्मरति पनि गर्न मिल्दैन । तर डाक्टर, नर्सहरूको अथक प्रयास रह्यो मेरो पीडा कम गर्न । उनीहरूको प्रयासलाई मैले सकारात्मक रूपमा लिएर केही समय अस्पतालको बेडमै बिताएँ । त्यो बेडको झ्यालबाट बाहिर दृष्टि फाल्दा म आकाश छ्याङ्ग उघि्रएको देख्थेँ । त्यो नीलो आकाश देख्दा मलाई जीवनप्रति असाध्यै माया लागेर आउँथ्यो ।
डाक्टर, नर्सहरूको आत्मीय व्यवहारले मनोबल अलिकति बढेर आउँथ्यो । सेरेब्रल पाल्सीले जति उमेर बढ्दै गयो, त्यति नै सताउँदो रहेछ भन्ने बल्ल बुझेँ ।
त्यहाँका डाक्टर, नर्सहरूको सल्लाहअनुसार काभ्रेको मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्रमा एक महिनासम्म उपचाररत रहेँ । त्यहाँ पनि डाक्टर, नर्सहरूको राम्रो हेरचाहबीच बिताएँ । पीडा सहन नसकेर मज्जाले रुन्थेँ, एकैछिनमा मज्जाले हाँसेर त्यो परिवेशमा घुलमिल हुन सक्थेँ । सायद मान्छेहरूलाई अचम्म लाग्थ्यो होला- यो केटी कस्ती अचम्मकी रहिछ । सायद डाक्टर, नर्सहरूको मनोविज्ञान पनि यही थियो होला ।
यो केटीको मनोबल बढाउन आफूजस्तै साथीहरूसँग घुलमिल गराउनुपर्छ ।
तर जिन्दगीप्रति कहिल्यै नकारात्मक बनिनँ म । जेजस्तो परिस्थितिमा पनि जिन्दगीप्रति सकारात्मकै बनिरहेँ । किनभने यही जिन्दगीबाट मैले धेरै कुरा पाएकी थिएँ, धेरै दुःख, पीडा, दर्द पनि भोगेकी थिएँ, त्यसैको एउटा अंश यो पनि मलाई हेर्ने डाक्टर, नर्स, फिजियोथेरापिस सबैसँग मैले सकेसम्म समान व्यवहारै राखेँ । किनभने मेरा लागि सबै आत्मीय थिए, पि्रय थिए । कोही घटीबढी थिएनन् ।
मेरा शुभचिन्तकहरूले त्यहाँसम्म पुगेर मलाई शुभेच्छा दिए । सबैले आआफ्नो तर्फबाट सकेको सहयोग गरे । तीप्रति जिन्दगीभरि आभारी छु । मान्छे नदुखी पीडा नभोगी बाँच्न चाहन्छ, उसको स्वभाव यस्तै हुन्छ । म पनि त्यही मान्छे हुँ । जो संसारमा कुनै प्रकारको दुःख नभोगी बाँच्न चाहन्थेँ । तर मैले प्रत्येक क्षण ठीक उल्टो परिस्थितिसँग संघर्ष गरेर बाँच्नुपरेको छ । त्यही परिस्थितिबाट गुज्रेर जिन्दगीलाई जिन्दगीकै भाषामा बुझेँ, उपचारमा संलग्न सबै डाक्टर, नर्स, स्वास्थ्य संघ-संस्था र आर्थिक, भौतिक, नैतिक, भावनात्मक सरसहयोग गर्ने सबै महानुभावहरूप्रति हार्दिक आभार, जसको सहयोगबाट म बाँचेँ । इकान्तिपुर;