क्यान्सरका कारण स्वास्थ्य सेवामा लाग्ने रहर जाग्यो

काठमाडौ, पुस १८ ,

ललितपुर आश्राङका १९ वर्षीय विदुर घिमिरेको सपना यति थियो, प्लस टुको परीक्षा सकेर मिडिया टेक्नोलोजी अध्ययन गर्ने । गत वर्ष फागुन ७ गते परीक्षा दिने दिन बिहानै उनलाई रिंगटा लाग्यो । वमन भयो । सामान्य ठाने । तारन्तार घटना दोहोरिएपछि स्वास्थ्य जाँच गरे ।

'मलाई ब्लड क्यान्सर भएको रहेछ, त्यसपछि अस्पतालमै छु,' भक्तपुर र भरतपुरस्थित क्यान्सर अस्पताल उपचार गरेका उनले भने, 'सुरुमा सामान्य (एम थ्री) भनिने अवस्थामा रहेको क्यान्सरपछि दोस्रो चरण (एम टु) मा प्रवेश गर्‍यो । तीन पटक किमोथेरापी गरेपछि क्यान्सरका निको भएको थियो ।' त्यसपछि उनलाई एमबीबीएस पढेर स्वास्थ्य सेवामा लाग्ने रहर जाग्यो । त्यही बीचमा दुर्लभ रक्तसमूह भएका व्यक्तिहरूको सञ्जाल बनाउने र आपत् परेकाका लागि सहयोग गर्ने अभियान सुरु गरे ।

दुर्भाग्य, एमबीबीएस अध्ययनको तयारी गरिरहेका बेला एकपल्ट निको भएको क्यान्सर फेरि बल्भिmयो । यसपल्ट उनको 'बोनम्यारो' मै क्यान्सर देखियो । शरीरको बोनम्यारो पूरै फेर्नुपर्ने उपचार उनका लागि जरुरी छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार, आर्थिक स्रोत नजुटेका कारण उनको किमोथेरापी अहिले रोकिएको छ । 'मलाई पुरानो ऋणको परवाह छैन, जसोतसो तिरुँला,' बाबु हरिप्रसादले भने, 'तीन साताभित्र पैसा जुटाउन नसके उसको के हाल होला ?' चार महिनासम्म हुने किमो उपचारमा करिब २० लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् ।

छ महिना अस्पतालमा बस्नुपर्नेछ । छोराको उपचारमा खर्च भएको १३ लाख रुपैयाँ ऋण बोकेका हरिप्रसाद थप ऋण खोज्न बिहानसाँझ भौतारिन्छन् । 'बी नेगेटिभ ग्रुपको रगत नपाउँदा पटक-पटक ऊ बाँच्ने आशा गुमाउनुपर्‍यो,' बुबा हरिप्रसादले भने, 'पुरानो ऋण एकातिर छ, पैसा नहुँदा उपचार नपाएर छोरो मर्ला कि भन्ने पिर छ ।' सामान्य खेतीकिसानी गर्ने उनलाई दसतिर धाएर दुर्लभ समूहको ताजा रगत खोज्ने हैरानी पनि उत्तिकै छ ।

 भरतपुर क्यान्सर अस्पतालमा धेरै बिरामीको मृत्यु देखेका र मर्ने निश्चित भएकाहरू बाँचेर फर्केको भेटेका विदुर आफैं जीवनप्रति आशावादी छन् । किताब पढेर समय कटाउने उनी हँसिलो रूपमा प्रस्तुत हुन्छन् । 'उपचारको व्यवस्था भए जसरी पनि मेडिकल पढेर क्यान्सरपीडितको सेवा गर्छु भन्ने मनमा छ,' उनले भने, 'उपचारबाट निको भएका बिरामीले मलाई आशा देखाएका छन् ।' भरतपुर क्यान्सर अस्पतालमा हुँदा मृत्युशय्याबाट फेसबुक र च्याटमा साथीहरूसँग गफिने उनले अहिले भेट्न आउनेलाई उल्टै आशावादी बनाएर पठाउने गरेका छन् ।इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com