काठमाडौं, पुस १८,
महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज पनि प्रधानमन्त्री निवास बालुवाटार र रत्नपार्कमा विरोध प्रदर्शन र धर्ना दिएको छ।
आज बिहान ९ देखि ११ बजेसम्म बालुवाटारमा अखिल नेपाल महिला सङ्घलगायत संस्थाको अगुवाइमा महिला आन्दोलनकर्मी र अधिकारकर्मीले धर्ना दिएको हो भने रत्नपार्क अन्तरपार्टी महिला सञ्जालको अगुवाइमा जुलुस प्रदर्शन भएको हो।
प्रदर्शनमा एमाओवादीका नेत्री शशी श्रेष्ठ, अनेमसङ्घका कोषाध्यक्ष सुजिता शाक्य, नागरिक समाजका अगुवाहरू सुवोध प्याकुरेल, डा सुरेन्द्र केसी, बन्दना राणालगायतको सहभागिता थियो। प्रदर्शनमा महिलाहरूको हत्या, बलात्कार, दुर्व्यवहार र हिंसाका घटनाहरू बढेकामा चिन्ता व्यक्त गरिनुका साथै दोषीलाई तत्काल कडा कानुनी कारबाही गरी महिलाहरूको अधिकारको रक्षा गर्न माग गरिएको थियो।
यसैबीच अन्तरपार्टी महिला सञ्जालले महिलाविरुद्ध हुने हत्या हिंसा नियन्त्रणको लागि कडा कानुन निर्माण गरिनुपर्ने माग गर्दै आज र्याली निकालेको छ। सञ्जालले लैङ्गिक हिसाबले महिला समुदाय असुरक्षित भएकाले उनीहरुको संरक्षणका लागि विशेष कानुन निर्माणको माग गरेको छ।
रत्नपार्कबाट सुरु भएको सो र्याली बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, नयाँ सडक हुँदै पुनः रत्नपार्क आएर समापन भएको थियो।
सञ्जालकी अध्यक्ष शारदा पोखरेलले पछिल्लो समयमा समाजमा महिलाहरुको विभत्स हत्या हुने गरेको तथा हिंसामा पनि वृद्धि भएको यथार्थतालाई न्यूनीकरण गर्न कडा कानुनको निर्माण गरी अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न आवश्यक रहेको बताए।
त्यसैगरी सो सञ्जालले शिवा हासमी, सरस्वती अधिकारी, विन्दु ठाकुरलगायतका हत्या प्रकरणको स्वतन्त्ररुपमा निष्पक्ष छानबिनका लागि महिला अधिकारकर्मीसहितको टोली निर्माणको माग गरेको छ। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै