लडाकु सपनाले देखेकी सपना


प्रमिला बाँस्कोटा : गोर्खाको फुच्चोक गाविसकी सपना रानालाई त्यो बेला लाग्थ्यो, उनले चाहेको खण्डमा देशमा परिवर्तन हुन्छ । गाउँमा पिच गरेको सडक, ठूलो जातले सानोलाई गर्ने व्यवहारमा परिवर्तन र 'शोषक सामन्ती' को अन्त्य हुन्छ । त्यही आशमा सपनाले १६ वर्ष 'सपनाको लडाइँ' लडिन् । 

हातमा हतियार बोकिन् । बम बनाउन सिकिन् । धेरै लडाइँमा अग्रपंक्तिमा उभिइन् । तर, त्यो द्वन्द्वले उनलाई जति दियो त्योभन्दा बढी लियो । २०५४ सालमा माओवादीनिकट विद्यार्थीको राष्ट्रिय सम्मेलन काठमाडौंमा भइरहेको थियो । त्यसमा सहभागी हुन गाडीमा विद्यार्थीको समूह आउँदै थियो । उनी चढेको गाडी कलंकीमा प्रहरीले रोक्यो । सम्मेलन विफल पार्न प्रहरीले २ रातसम्म हनुमानढोकामा थुनेर राख्यो । त्यसपछि घर फर्किदाँ गाउँ र घरका मान्छेले फरक नजरले हेर्न थाले । 

'बुवाले त घरमा भात खान समेत दिनुभएन,' चितवनको पदमपुरमा द्वन्द्वपछिको दोस्रो जिन्दगी बाँचिरहेकी उनले सुनाइन्, 'घरमा बस्नै नसक्ने भएपछि म द्वन्द्वमा हिँडें ।' आमाले त्यो बेला लडाइँमा नजान धेरै सम्झाइन् । 'म एउटी आमाको आँसु पुछ्न सकिनस्, देशको आँसु के पुछ्लिस् भन्दै मलाई नपठाउन रुनुभएको थियो,' उनले सम्भिmइन्, 'म तपाईंजस्ता धेरै नेपाल आमाको आँसु पुछ्ने हो भन्दै हिँडंे ।' १४ वर्षको उमेरमा लडाइँमा लागेको २ महिनामैं भिडन्तमा गोली लाग्दा उनको दाहिने खुट्टा गोलीगाँठोभन्दा मुनिको भाग छैन । नक्कली खुट्टाको भरमा चल्छिन् । 

गोर्खाको एउटा गाउँमा बिहे खान पुगेका बेला दंगा प्रहरीसँग झडप पर्‍यो । त्यो बेला सपनाले झोला बोकेकी थिइन् । झोलामा बम बनाउने सामान, खुकुरी लगायत सामान थिए । 'मेरो झोला मैले नै बोक्नुपर्ने, जसरी पनि लिएर हिँड्नुपर्ने थियो,' उनले भनिन्, 'झोला तान्दै गर्दा मलाई गोली लागेर बेहोस भएछु ।' पक्राउ परेका उनकै साथीलाई बोक्न लगाएर प्रहरीले उनलाई गोर्खा सदरमुकाम ल्यायो । त्यहाँबाट उपचारका लागि काठमाडौं ल्याउँदा उनको खुट्टा काट्नुपर्ने भयो । वीर अस्पतालमा खुट्टा काटेपछि उनलाई महिला बन्दी गृह सुन्धारामा राखियो । २ वर्षका लागि कैद तोकियो । ८ कक्षासम्म गाउँमा पढेकी उनले कारागारभित्रै बसेर एसएलसी दिइन् । 

कैद सकिएपछि उनी फेरि आफ्नै घर आइन् । घरमा बस्ने स्थिति थिएन । सेना र प्रहरीको केरकारमा उनका परिवारका सदस्यले समेत दुःख पाउन थाले । 'बहिनीको पढ्ने किताब च्यात्ने आमाले मकै भुट्दै गरेको हाँडी बाहिर फ्यालिदिने गर्न थाले,' उनले भनिन्, 'अति नै दुःख दिएपछि बाआमाले घरमा नबस्, सदरमुकाम वा अन्य कतै गएर बस्न भन्नुभयो ।' घर छाडेर त जाने तर कहाँ ? लडाइँमा जाऊँ लड्न सकिँदैन, पार्टीले लैजाँदैन । अन्य जाने ठाउँ छैन । उनले सदरमुकाम गएर पढ्ने विचार गरिन् । सदरमुकाम आएर बस्न पनि समस्या भयो । कोठा खोज्दा भेट्टाउनै गाह्रो । 

माओवादी भनेपछि त झन् गाह्रो थियो । बल्लतल्ल कोठा पाएर बसिन् । गोरखाकै द्रव्य शाह क्याम्पसमा पढ्न भर्ना भइन् । त्यसको केही समयमै संकटकाल लाग्यो । त्यसको दोस्रो दिनमै सादा पोसाकका प्रहरीले आएर समातेर लगे । २ वर्षसम्म उनीहरूको यातना सहेर बसिन् । उनीसँगै समातिएका त्यही क्याम्पस पढ्ने निरु पोख्रेल र दुर्गा पोख्रेललाई सेनाले बेपत्ता बनायो । हप्ता दिनको फरकमा लगिएका उनीहरू पछि मृत फेला परे । 'मलाई त भगवान्ले बचाए, मेरो मर्ने पालो आउनै लाग्दा मानव अधिकारकर्मीहरूको आवाज उठेछ,' उनले भनिन्, 'दुई वर्षपछि शान्तिवार्ता भयो र म छुटंें ।' शान्तिसम्झौतापछि भने सपनाको जीवनले नयाँ मोड लियो । 

उनी क्यान्टोनमेन्टमा आइन् । दिनचर्या बदलियो । त्यही क्रममा उनको काभ्रेका शंकर तामाङ 'जागृत' सँग माया बस्यो । जागृतले उनलाई बिहेको प्रस्ताव राखे । उनले निक्कै सोचविचारपछि स्वीकार गरिन् । 'अपांग देख्दादेख्दै किन मन परायो, पछि छोड्ने हो कि भन्ने डर थियो,' उनले भनिन्, 'साथीहरूसँग सोधखोज गरेपछि सबैले राम्रै भने ।' उनीहरूले २०६३ को जनयुद्ध दिवसको दिन जनवादी विहे गरे । यो जोडीको अहिले ४ वर्षका छोरा छन् । यो दम्पतीले माओवादी सेनाबाट स्वैच्छिक अवकाश लिए । दुवैको आएको पैसाले चितवनमै २ ठाउँमा घडेरी किनेका छन् । उनीहरूले स्वैच्छिक अवकाशमा पाएको दस लाखले घर बनाउन सकेका छैनन् । 

'घर बनाएर मात्रै भएन, गरिखाने बाटो पनि हुनुपर्‍यो,' सपनाले भनिन् । उनका श्रीमान् शंकर सानो होटल खोलेर बसेका छन् । उनी श्रीमान्लाई काममा सहयोग गर्नुका अलावा शान्ति मेलमिलापमा सहजकर्ताको काम गर्छिन् । अहिले पनि बस्तीमा कोही श्रीमान् श्रीमती वा टोलमा कसैबीच झगडा भए उनलाई बोलाउन आउँछन् । 'देश दुनियाँ देखेको छ भनेर आएका होलान्, हामीले निकास दिन सक्छौंं भन्ने आश छ,' उनले सुनाइन् । गाउँ फर्केर जान एक किसिमको डर उनीहरूको मनमा छ । 

'लडाइँमा केके गरियो थाहा छैन,' उनले सुनाइन्, 'फर्केर जादाँ मानिसहरूको नजर फरक होला, घृणा गर्लान् भन्ने डर छ ।' आजभोलि उनी आपmनो विगतसँग खासै खुसी छैनन् । 'सोचे अनुसार भएन, घाइते मात्र भइयो,' उनले भनिन्, 'गरिखानु न मरिजानु भएको छ ।' जीवनको महत्त्वपूर्ण समय यत्तिकै खेर गयो जस्तो उनलाई लागिरहन्छ । छोरालाई राम्ररी हुर्काएर राम्राे ठाउँमा पढाउन पाए उनलाई अब खुसी हुनेछ । 
(कोसेली)  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com