सुकेका आँखा अनि सपना


माघ ८,

मणि लोहनी ; "जीवन भनेको दुःख मात्र रहेछ।" उनले घाँटीमा बेररिहेको सलले बच्चाको ओठमा रहेको फिँज पुछिन्। निस्लोट ज्वरोले रन्किएको छ, यो २५ दिन नपुगेको बच्चा। त्यसो त उनी आफैँ पनि स्वस्थ कहाँ छिन् र !

"कमजोरीले होला, मलाई पनि रंिगटा मात्र लागिरहन्छ," उनले भनिन्। उनी अर्थात् निर्मला विक। केही दिनअघिसम्म निर्मला कृष्णसेन स्मृति बि्रगेड सैनामैनाको छापामार शिविरमा बस्थिन्। अहिले २२ दिनको बिरामी छोरो बोकेर गाउँलेको शरणमा छिन्। जिन्दगीका हुर्किला दिनहरू विद्रोहमा फूर्तिका साथ बिताएकी निर्मलासँग यतिखेर कमजोर शरीर मात्र छ। अहिले उनलाई हिँड्न पनि गाह्रो हुन्छ।

"जनयुद्धताका पहराबाट हाम फाल्थ्यौँ," २१ वर्षकी निर्मलाले लामो सुस्केरा छोडिन्। छोरालाई अझै होस आएको छैन। ज्वरोले बेहोस नै पारेको छ। उपचारको मेसो मिलेको छैन। गाउँलेले दिएका सिटामोल घोटेर पिलाउँदै गरेकी निर्मलाको छोराको मायाले गह भरियो। मलाई गणतन्त्रको परभिाषा छाँट्दै गरेका नेताहरूको मुखमा थुकिदिन मन लाग्यो यतिबेला।

"यसलाई केही भयो भने !" उनी आत्तिइन्। विद्रोहका क्रममा सानाठूला गरी एक दर्जन आक्रमणहरूमा सहभागी भएकी निर्मला सोलुको आक्रमणमा संयोगले बाँचेको बताउँछिन्।

"त्यतिखेर बाँच्ने आशा मरसिकेको थियो। मरेको भए यो दुःख नै रहँदैनथ्यो," उनले छोरोलाई अलि सजिलोसँग समाइन्, "जलिरहेको भवनभित्र थिएँ। बाहिर हाम्रै साथीहरूले बमबारी गररिहेका थिए। भित्र म छु भन्ने उनीहरूलाई थाहा थिएन। पछि आगैआगो हिँडेर म बाँचे। यो दुःख भोग्न रै'छ।" उनले सुरुवाल पिँडुलासम्म सार्दै पोलेको दाग देखाइन्।

"जनयुद्ध सजिलो कि अहिले?" म सोध्छु।

"जनयुद्धमा आफ्नो ज्यानको पनि पर्वाह रहँदैनथ्यो, अहिले अरूको मायाले मर्ने गरी सताउँछ।" बेहोस छोरोलाई निर्मलाले च्याप्प छातीमा टाँसिन्।

हावाहुरीले छाप्रो उडाएपछि कृष्णसेन स्मृति बि्रगेडका रोगी र सुत्केरी सबै छापामारको स्थिति निर्मलाको जस्तै भएको छ। हावाहुरीले बसिरहेको छाप्रा उडाएपछि निर्मला र उनीजस्तै सुत्केरी अन्य १८ जनालाई गाउँ पस्नुको विकल्प रहेन। २५ दिनकी सुत्केरी निर्मलाले आफू र आफ्नो बच्चालाई हावाहुरी आएको रात नै गाउँलेमाझ पुर्‍याइन्।

"छाप्रा उडायो। ज्यान जोगाउन हारगुहार गर्‍यौँ," आफ्ना साथीहरू च्यापिएको सम्भिmँदै उनले भनिन्, "कति साथीलाई चुल्ठो समातेर पनि बाहिर ल्याइयो।"

"बच्चालाई केही नभइदिए हुन्थ्यो," २२ दिनकी सुत्केरी अनिमाले भनिन्। विद्रोहताका ११/११ दिन भोकभोकै हिँडेकी अनिमालाई अहिले पनि आठ/दस दिन भोकै बस्न सकिन्छ भन्ने आँट छ। तर, छोरालाई कसरी भोकै राख्ने? जवानीका सुरुका दिनदेखि नै बन्दुक बोकेर जंगल पसेकी यिनको छाती पहिलेदेखि नै सुकेर चपक्क भएको छ। अझ त्यसमा पनि सुत्केरी ज्यान। चिल्लो, मीठो नपरेको पेट।

"बच्चालाई खुवाउन दूध पनि राम्ररी आउँदैन," टीठलाग्दो गरी अनिमाले भनिन्, "यसलाई खुवाउन मात्र पाए हुन्थ्यो।" मलाई आश्चर्य लाग्यो, मान्छे मार्न नडराउने मन सन्तानको मायाले भतभती पोलेको देख्दा। राम्ररी बस्न र खान पनि नपाएका यिनीहरूको गहिरो उदास आँखामा सुकेका सपनाका खारहरू मात्रै भेटिन्छन्। देश र जनताका लागि लामो समय भूमिगत रहेका यिनीहरूसँग आफ्नै सन्तानलाई खुवाउने दूधसमेत छैन।

"कसका लागि लडेका तिमीहरूले?" नसोधूँ भन्दाभन्दै पनि मैले सोधिहालेछु। "यिनै जनताका लागि," शरण दिएकी घरकी बूढीआमालाई हेर्दै निर्मलाले भनिन्।

"हामी अझै आत्तिएका छैनाँै," अनिमा अलि जोसिइन्, "हाम्रो गौरवमय पार्टीले हामीलाई हेर्नेछ।" अनिमाका दुई शब्दले म गोली लागेझैँ रन्थनिएँ, 'गौरवमय' र 'हेर्नेछ'ले। उनका पार्टीका ठूला भनिएका नेताहरू अहिले काठमाडौँमा कसरी हिँडिरहेका छन्, मलाई अनुभव छ। 

नेताहरू र साना-मसिना पोस्टका मानिसहरूको रवाफ पनि कम छैन सहरमा। तर, तिनै नेताहरूका लागि लडेका यी छापामारहरूको स्थिति मरेतुल्य छ। आफ्नै बच्चालाई खुवाउने दूधसमेत नहुनु र बिरामी नवजात सन्तान च्यापेर भक्कानिनुको पीडा आफूभित्रै च्यापेर पार्टी र नेताको स्तुति गाउन नछोड्ने युवतीको टीठलाग्दो दृश्यले चिथोर्छ मलाई। सपना सुकेका कलिला आँखाले रुवाउँछ मलाई। 

थाहा छैन, मेरो आँसुले यी बिरामी छापामारका दुःखमा कति समवेदना व्यक्त गरे? तर, उनीहरूकै पार्टीले गरेको खेलबाडचाहिँ न्यायोचित छैन। मुस्किलले ३० पुगेका युवतीहरू होलान् या अझ यसभन्दा पनि कम। अजंगको पहाडजस्तो जिन्दगी छ अगाडि। सुन्दर सपनाहरू छन् र छ मुटुभित्र कहिल्यै नभरिने रत्तिmता को एउटा पीडा। सपनारूपी छोराछोरीहरू। यिनको बाँच्ने आधार भनेका यिनै छोराछोरी भएका छन्।

"यही छोराहरू छन् सहारा भन्नु !" एक महिला हिक्कहिक्क रुन थाल्छिन्। अबोध देखिने छोराहरू आमालाई हेररिहन्छन्। कान्छो छोरो आमाको आँसु पुछ्न थाल्छ, "ममी, नरुनू न !" छोराका कलिला औँलाले गालामा छोएपछि उनी झन् रुन्छिन्। एउटा टीठलाग्दो दृश्य देखिन्छ। सबै स्तब्ध छन्।

"उहाँ हुनुहुन्न। उहाँलाई फिर्ता ल्याइदेऊ भनेकी होइन, मैले। तर, उहाँका यी दुई नासोको बाँकी जीवनको सहजताको कामना त गर्न पाउँछु नि म !" सबैलाई हेर्छिन् उनी। मलाई पनि हेर्छिन्। म उनलाई चिन्दिनँ। खासै दोहोरो परचिय छैन हामीबीच। तर पनि म उनलाई सम्मान गर्छु। पहाडजस्तो अप्ठ्यारो उनको जिन्दगीलाई राज्यले सहज र समथर बनाइदिनुपर्छ भन्ने माग म पनि गर्छु यतिबेला।

"उहाँको रगतलाई सम्मान गर। उहाँको रगतलाई दुःख नदेऊ। बस् यत्ति हो मेरो आग्रह," आँसु पुछेर उनी दृढ बनिन्। दुई छोरालाई चपक्क च्यापिन् छातीमा। र, अझ ओजनदार आवाजमा भनिन्, "राज्यले वास्ता गरेन भनेर म निरीह बनेर बस्नेछैन। नभुले हुन्छ कसैले, म सहिदकी पत्नी हुँ।"

वाह ! मान्नुपर्छ। कस्तो दृढता? कस्तो आत्मविश्वास। म दाहिने सलाम गर्छु उनलाई। यस राज्यले अझै पनि सहिद परिवारको सम्मान गरेन भने त्यसको भागिदार सबै जना हुनेछौँ, तपाईं-हामी सबैजना।

जनआन्दोलनका क्रममा छातीमा गोली लागेर उनका श्रीमान् बीचसडकमा ढलेका थिए। त्यसपछिका वर्षहरूमा उनले अनेकन् दुःखकष्ट झेलेकी छन्। छोराहरूका 'बाबा खोइ ममी?' भन्ने अबोध प्रश्नदेखि लिएर 'तपाईंको परिवार राज्यको गहना हो' भन्ने सरकारी आश्वासनसम्म पाइन् उनले। सरकारले केही गर्छ भन्ने उनलाई लाग्दैन। तर, सरकारले केही गरिदिएचाहिँ हुन्थ्यो भन्ने लाग्छ।

"सरकारले अरू केही नगरिदेओस्। बोलेका कुरा मात्र पूरा गरिदिए पुग्छ।" सत्ताको अस्वस्थ प्रतिस्पर्धामा लिप्त यी नेताहरू, जसलाई जनआन्दोलनले सरकारमा पुर्‍यायो, उनीहरू किन सधैँ सहिद परविारको संवेदनासँग खेलबाड गर्छन्? किन भुल्छन् उनीहरूले फेर्ने सासमा रहेको सहिदको तातो रगतलाई? त्यो बलिदान र त्यागलाई?

जसरी यी सहिदपत्नीलाई दाहिने सलाम गररिहेछु म, त्यसैगरी सरकारमा रहेर आ-आफ्नै दुनो सोझ्याउन व्यस्त नेताहरूप्रति धारेहात लगाउन मन लाग्छ यतिबेला। मेरो हात एउटा 'मिथ' हुन सक्छ। यस्ता असंख्य हातहरू छन्, जो सरकारको नालायकीपनमा धारेहात लगाइरहेका छन्। यतिबेला बोलिरहेझँै लाग्यो सहिदहरूको आत्मा...।

भयो छाडेर जाऊ मलाई
मसँगै रहन देऊ जनयुद्धका सम्झना
यी बन्दुक र मुक्तिकामी इच्छा
किशोर आकांक्षा, सपना र दुस्मनको ताँती
छाडेर जाऊ हँसिया-हथौडा पनि यतै
तिमीलाई कुररिहेछ सुविधासम्पन्न गाडी

तिम्रा लागि मुख बाएर बसिरहेछ चन्द्रशमशेरको सिंहदरबार।
"हाम्रा आँसुले सराप्ने छ सरकारमा बस्नेहरूलाई," प्रभाले भनिन्। कल्पना बयलकोटीजस्तै प्रभा पनि सहिदपत्नी नै हुन्। उनका श्रीमान् पनि जनआन्दोलनकै क्रममा सहिद भएका हुन्। प्रभासँग एकातिर श्रीमान् गुमाउनुको असह्य पीडा छ भने अर्कोतिर सरकारी आश्वासनको खात छ।

"मेरो श्रीमान्को रगतमा टेकेर सत्तामा पुग्नेहरूले म र मेरो परिवारलाई बिर्सिन पाउँदैनन्," प्रभाले भनिन्, "हामीले धेरै कुर्‍यौँ। अब कुर्दैनौँ।"

सहिद परिवारले अब कुरेनन् र सरकारको विरोधमा सिंहदरबारका अगाडि उभिए भने के जवाफ देलान् शासकहरूले? म अवाक् हुन्छु। कोही कसैलाई त सन्तुष्ट बनाउनु पर्‍यो नि सरकारले। सबैतिर बढ्दै गएको असन्तुष्टि र आक्रोशले खोइ कस्तो समय देख्लान् भोलिका सन्ततिहरूले ? (स्रोत-नेपाल)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com