भक्तपुर, पुस २२ ,
भक्तपुर नगरपालिका- १ सूर्यमढीस्थित तौलाछेमा गएराति भीषण आगलागी हुँदा एकै घरका तीनजनाको जलेर मृत्यु भएको छ। मध्यरात पूर्णभक्त प्रजापतिको घरमा लागेको आगलागीमा परेर उनका परिवारका तीनजनाको मृत्यु भएको हो। आगलागीमा पूर्णभक्तकी श्रीमती ६४ वर्षीया लक्ष्मीकेशरी प्रजापति, जेठी छोरी ३९ वर्षीया पार्वती प्रजापति र माइली छोरी २६ वर्षीया सजना प्रजापतिको ज्यान गएको छ।
आगो लागेको थाहा पाएपछि घरबाहिर निस्किएका पूर्णभक्त र कान्छी छोरी २४ वर्षीया सिर्जना प्रजापति भने बाँच्न सफल भएका छन्।
चौथो तल्लामा सुतेका दुईवटी छोरी पार्वती र सजनालाई उठाउन जाँदा आमा लक्ष्मीकेशरीको समेत आगोमा परेर मृत्यु भएको स्थानीय प्रत्यक्ष्यदर्शीले बताएका छन्।
तेस्रो तल्लामा सुतेका पूर्णभक्त र सिर्जना आगो लागेको थाहा पाएलगत्तै बाहिर निस्केका र लक्ष्मीकेशरी भने छोरीलाई बचाउने उद्देश्यले चौथो तल्लामा गएपछि आगोमा परेको परिवार स्रोतले बताएको छ।
लक्ष्मीकेशरीको घरको झ्यालबाट गुहार माग्दा माग्दै ज्यान गएको प्रत्यक्ष्यदर्शीले बताएका छन्।
मृतकहरुको शव प्रहरीले आज बिहान ५ बजे घरबाट बाहिर निकालेको छ। राति करिब १२ बजे लागेको आगो बिहान करिब ३ बजेमात्र नियन्त्रणमा आएको थियो।
भक्तपुर, काठमाडौँ, ललितपुर र प्रहरीको सातवटा दमकल, भक्तपुर र ठिमीका प्रहरी, दुवाकोटका सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेवार परम्पराअनुसार सबै आफन्तलाई भोज नखुवाएसम्म योमरी पूर्णिमाको चाड रहिरहने भएकाले आफन्तलाई भोज खुवाउन हिजो दिउँसोदेखि राति अबेरसम्म आगो बालेर योमरी र अन्य खानेकुरा पकाएकाले त्यही आगोको भुङ्ग्रोबाट आगलागी भएको बताइएको छ।
साँघुरो घरमा राति अबेरसम्म तेस्रो तल्लाको भान्छामा योमरी पकाएको र चौथो तल्लामा पराल, छ्वालीलगायतका सामानहरु राखेकोले तेस्रो तल्लाबाट सल्केको आगो चौथो तल्लामा पुगेपछि मात्र परिवारले आगलागी भएको थाहा पाएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा राम्रोसँग आगो ननिभाई सुतेकाले आगो लागेको र परिवारका सबैजना मध्यनिद्रामा परेकाले आगो लागेको समेत ढिलामात्र थाहा पाएकाले तीन जनाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले जानकारी दिए।
स्थानीयवासीले समेत आगो लागेको ढिला मात्रै थाहा पाएका र प्रहरी तथा दमकललाई समेत ढिला खबर पुगेकाले धनजनको सुरक्षा गर्न नसकेको प्रहरीको भनाइ छ।
आगलागीबाट घरका सम्पूर्ण सामान जलेर नष्ट भएकाले रु २० लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीको भनाइ छ।
आगो सल्किएर सँगै जोडिएका घर र ब्रह्मायणी द्यः छेँ अर्थात् देवता घरमा समेत आगो सल्किने देखेपछि प्रहरीले आगो फैलिन नदिन अन्य घरलाई समेत बचाउ गरेको आगलागी नियन्त्रणमा खटिएका प्रहरी नायब निरीक्षक भगवान भण्डारीले बताए। रासस;