१,
उ त मेरो आँखाभित्र बस्ने नानी रैछ
हर्ष विस्मात जताउने तातो पानी रैछ
रित्तो मेरो आँचल थियो ममताको कमी
भर्यो माया ममताले ठूलै खानी रैछ
कस्तै आपतविपत परोस आत्तिदैन उ
धैर्यशिल साहसिलो निडर् बानी रैछ
आफू रित्तो हुन्छ बरु अरुलाई भर्छ
परे मुटु झिक्छ आफ्नै मान्छे दानी रैछ
यस्तो होला उस्तो होला सोचें मेरो जीवन
सोचे भन्दा फरक मेरो जीन्दगानी रैछ
२,
हजार् चोट सहेपनि स्वाभिमानी छ
मान्छे काले भएपनि स्वाभिमानी छ
मजदुरी गर्छ तर इमान बेच्या छैन
बाध्यातामा परेपनि स्वाभिमानी छ
धेरै भयो गाको उ मलाई छोडेर
टाढा टाढा गएपनि स्वाभिमानी छ
माया गरि एकहुल याद पठाउँछ
भावनामा बहेपनि स्वाभिमानी छ
आवेशमा कहिलेकाँही रिस पनि पोख्छ
आखिर जे जे कहेपनि स्वाभिमानी छ
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं