दुइ गजल : By, Rajesh Rumba Lama


१,
आउँछु म छिट्टै अब तिमी किन रुन्छौ कान्छी?
हेरि बस मेरो बाटो मलिन किन हुन्छौ कान्छी?

तिम्रै थिएँ हिजो अस्ती आज पनि तिम्रै हुँ म
भड्काउने तिन्का कुरा मन्मा किन गुन्छौ कान्छी?

कान लग्यो कागले भन्दा कान पहिले छाम तिमी
बेकारमा नचाहिने कुरा किन सुन्छौ कान्छी?

यो त मलाई थाहै छ नि माया गर्छौ असाध्यै
उर्लि आउने मायाको त्यो भेल् किन थुन्छौ कान्छी?

सम्झ बुझ मेरो कुरा आत्मसाथ गरेपछि
सोचेकोछु आफ्नो लागि सप्नाहरु बुन्छौ कान्छी

२,
सप्ना देखेँ आज राती उनको जस्तै मैले
मुहार देखेँ बलेको त्यो जूनको जस्तै मैले

कता कता पुगेछु म निर्जन देख्थेँ वन
सुनेँ सँगीत झरनाको धुनको जस्तै मैले

जित्नु थियो विश्वास उनको हरेक तवरबाट
हुन चाहेँ इमान्दार नुनको जस्तै मैले

समर्पित हुन खोजेँ स्वच्छ मनले रोजेँ
चोखो राखेँ माया मेरो सुनको जस्तै मैले

रगताम्य क्षितिज हुँदा हाँलेँ सिन्दुर शिरमा
गाढा रहोस सिन्दुर सोचेँ खुनको जस्तै मैले ।

राजेश रुम्बा लामा'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com