पुष १६,
मकर श्रेष्ठ : साउदी अरबबाट काम गरेर फर्किंदा त्रिभुवन विमानस्थलमा सरकारी कर्मचारी र प्रहरीको मिलेमतोमा पैसा लुटिएकी र पछि प्रहरीद्वारा यौन दुव्यर्वहारसमेत गरिएकी भोजपुरकी २० वषर्ीया युवतीका बारे पछिल्ला केही दिनदेखि समाचार आइरहेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई एक लाख ५० हजार राहत दिने निर्णय गरेको छ । केही अरोपी पक्राउ परेका छैनन् । अर्काको नामको पासपोर्ट बोकेर उनी कसरी विदेश पुगिन्, फर्केपछि आफ्नै देशमा उनीमाथि कसरी दुव्र्यवहार गरियो ? उनको कथा उनकै शब्दमा .
चार वर्षअघि गाउँकै स्कुलमा आठ कक्षामा पढ्थें । त्यो बेला १६ वर्षकी थिएँ । त्यही वर्ष भोजपुरबाट ठूलो बुबाको घर धरान आएँ । ठूलो बुबाको घरमा सामान्य झगडा भएपछि म भागेर पोखरा गएँ । ठूलोबुबाले दिएको तीन हजार थियो, त्यही पैसाले भागें । त्यसपछि घरमा कसैलाई केही खबर गरिनँ । पोखरामा काम पनि खोजें । गतिलो पाइएन । एउटा होटलमा मासिक २ हजार तलबमा भाँडा माभmने काम पाएँ । एक वर्षसम्म त्यहीं काम गरे ।
एकजना मानिस होटलमा कहिलेकाहीं चिया खान आउँथ्यो । उसैले मलाई कति भाँडा माझेर बस्छ्यौ ? विदेश काम गर्न जानुपर्छ भन्यो । मसँग नागरिकता र पासपोर्ट छैन भन्दा उसले त्यसको चिन्ता नगर भन्यो । म उसलाई चिन्दिनँ । मान्छे नचिने पनि त्यति थोरै पैसामा सधैं भाँडा माझेर दुःख गर्नुभन्दा बिदेसिनु नै ठीक लाग्यो । होटलबाट मेरो तलब त्यही मान्छेले लिएछ । कुरा गरेको केही दिनमा पोखराबाट हामी हिँड्यौं ।
मैले साउदी भन्ने देशको नाम पनि सुनेकी थिइनँ । साउदी लैजाने भन्दै एक महिना दिल्ली पुर्याएर राख्यो । पोखराबाट दिल्ली जाँदा अरू १५ जना केटी पनि थिए । त्यो एजेन्टले दिल्लीमा मेरो फोटो खिचायो । ऊसँग भएको पासपोर्टको फोटो फेर्न मेरो फोटो खिचेको रहेछ । प्लेन चढ्नुअघि मेरो हातमा परेको पासपोर्टमा मेरो नाम विमला केसी, वर्ष २७ र घर पर्वत लेखिएको थियो ।
कसैले सोध्यो भने मेरै पासपार्ट हो, मेरो नाम विमला हो भन्नु भनेर सिकायो । पोखराबाट हिँडेको एक महिना पुगेको दिन दिल्लीबाट उडायो । ओमनमा एक रात बस्यौं । भोलिपल्ट साउदी लग्यो । साउदीको अफिसमा तीन दिन राख्यो । त्यहाँ हामीलाई लिन मालिकहरू आए । उनीहरूले मेरो स्वास्थ्य परीक्षण गराउन लगे ।
श्रीमान्/श्रीमती, तीन छोरा र मालिकको बुबाआमा भएको घरमा मैले काम गर्नुपर्ने भयो । घरभित्रैको काम थियो । तीनतले घरको भmयाल सफा गर्ने, घर पुछ्ने काम थियो । म पुगेको एक वर्षमा घरकी मालिक्नी सुत्केरी भइन् । उपचारका लागि उनलाई अस्पताल राखिएको थियो । त्यो अवधिमा मालिकले मलाई जबर्जस्ती गर्न खोज्यो । उसका छोराहरूले पनि पिट्थे । उसले दिएको यातना सहन नसकेपछि जुन ठाउँबाट ल्याएको हो, त्यही ठाउँमा पुर्याइदेऊ भनें ।
त्यसपछि घर मालिकले दिल्लीबाट साउदी पुग्दा राखेको अफिसमा पुर्याइदियो । मैले सबै कुरा भनेपछि अफिसले अर्को घरमा काम मिलाइदियो । यो नयाँ घरमा तबल र घरका मान्छेको व्यवहार राम्रो थियो । मासिक ३ सय ५० रियाल दिने भनेर काम सुरु गरें । मालिक मालिक्नीले सँगै बाहिर घुम्न र पार्टीहरूमा पनि लान्थें । त्यो घरमा दुई वर्ष काम गरेपछि घर फर्किन मन लाग्यो । मालिक मालिक्नीलाई घर फर्किन्छु भनें । उनीहरूले टिकट काटिदिए । अलिअलि सामान पनि किन्दिए ।
मंसिर ३ गते बिहान तीन बजे एयरपोर्ट पुगें । आउने बेलामा मलाई एकमुष्ट ९ हजार ३ सय रियाल घर मालिक्नीले दिइन् । मैले पहिले पैसा लिएको थिइनँ । साउदीबाट उडेको प्लेन कतारमा साढे तीन घन्टा रोक्यो । दुईवटा सुटकेसमा केही सामान र एउटा ब्लाङ्केट ल्याएकी थिएँ । त्यही दिन दिउँसो साढे तीन बजे त्रिभुवन विमानस्थलमा ओर्लिएँ । अध्यागमनका कर्मचारीले सोधपुछमा तिम्रो नाम के हो भन्यो ? पासपोर्टमा भएको नाम भनेको भए कुनै झन्झट हुने थिएन । मैले आपmनो सक्कली नाम भनिदिएँ । पासपोर्टमा भएको नाम भन्दा फरक परेपछि बाहिर आउन दिएन । तिमीजस्तै अरू पनि छन बस्दै गर भन्यो । उनीहरूले तिमी अर्कैको पासपोर्टमा विदेश गएकी रहिछौ । यहाँबाट तिमीलाई छाड्न मिल्दैन, अध्यागमन विभागको अफिस कालिकास्थान जानुपर्छ भने । त्यहाँको हाकिमले के भन्छन् अनि मात्रै घर जान पाइन्छ भन्यो ।
उनीहरूको कुरा सुनेपछि डरले मेरो पूरै जीउ काम्यो । कसैसँग बोलिनँ । केही छिनमा झापा घर भएकी दिदीलाई पनि मसँगै राख्यो । साउदीबाटै आएकी दिदीको बच्चा बिरामी भएपछि नेपाल फर्किनुभएको रहेछ । दिदी र मलाई अध्यागमन विभागमा त्यही दिन ल्यायो । म बेस्सरी रोएँ । नक्कली पासपोर्टमा जाने मजस्तै १५ जनालाई एकै दिन समाएको रहेछ । त्यो रात विभागमै राख्यो । जेलमा बस्नुपर्ने पीरले खाना पनि खाइनँ । सुत्ने ठाउँ पनि थिएन । ओछ्यान पनि दिएन । साउदीबाट ल्याएको ब्लाङ्केट ओढेर रात कटाएँ । मसँगै राखिएका कतिले भोलिपल्ट आफन्तहरूलाई फोन गरे । केहीका आफन्त भेट्न पनि आए । मसँग मोबाइल थिएन । कोही आफन्तको नम्बर पनि थिएन । भागेर पोखरा गएदेखि नै मेरोबारेमा घरका कसैलाई थाहा थिएन ।
पर्शुराम बस्नेत नाम गरेको प्रहरीले मेरो घर सोध्यो । काठमाडौंमा कोही आफन्त छ किन छैन भनेर सोध्यो । तिमी नरोऊ जसरी पनि म घर पठाउँछु भन्यो । माया देखाएजस्तो गरेर मेरो साथमा भएको पैसा राखिदिन्छु लेऊ भन्यो । मैले दिन्नँ भनें । उसले मेरो झोला खोसेर लग्यो । झोलामा भएको आठ हजार ५ सय रियाल निकालेछ । मलाई झोला मात्रै दियो । पैसा नदिए सधैंभरि हत्कडी लगाएर जेलमा बस्नुपर्ला भनेर डर देखायो । खाली कागजमा सही गरायो । यो पैसा मैले मात्रै खाने होइन, ठूलो मान्छेलाई पनि दिनुपर्छ भन्यो । मेरो सबै पैसा लिएपछि गाडीको टिकट काटिदिने भनेर मलाई नयाँ बसपार्क ल्यायो । धरान जाने बसको टिकट पनि काटिदियो । आजको बस छैन भनेर भोलिपल्टको टिकट काटिदिएको रैछ । आज बस नजाने रहेछ भन्दै मलाई सम्झायो । नयाँ बसपार्कबाट पुरानो बसपार्कसम्म ट्याक्सीमा लगेर सोलुखुम्बु बस्नेत होटलमा पुर्यायो ।
उसको आफन्तकोमा जाने भनेको थियो । तर, होटलमा खाजा खुवाएर कोठामा लगेर तिमी बस्दै गर, म बेलुका आउँछु भन्यो । आठ बजेतिर होटलमा आयो । उसले म पनि तिमीसँगै बस्छु भन्यो । र, जबर्जस्ती गर्यो । चिच्याउन खोज्दा मुख छोप्यो । हल्ला गर्यो भने जेल हालिदिन्छु, मारिदिन्छु भन्यो । आफू डीएसपी भएको बतायो । ऊ पनि राति त्यहीं सुतेछ, मैले थाहा पाइनँ । बिहान तीन बजेतिर तिम्रो घर जाने बेला भयो उठ भन्दै उठायो ।
ट्याक्सीमा राखेर साढे चार बजे नयाँ बसपार्क पुर्यायो । मेरो झोलाको चेपमा आठ सय रियाल थियो । त्यो पनि निकालेछ । सुटकेसमा भएको एउटा घडी, सेन्ट, सर्ट पाइन्ट र रुमाल पनि लगेछ । गाडी चढ्ने बेलामा मसँग पैसा पनि थिएन । मैले पैसा पनि छैन कसरी घर जानु भनें । उसले तिम्रो पैसा विभागको माथिल्लो निकायका मान्छेलाई दिएर तिमीलाई छुटाएँ भन्यो । र, एक हजार दियो । मैले तिमीलाई लगाएको गुन नबिर्सनु । तिम्रो पर्समा बर्दी लगाएको मेरो फोटो र फोन नम्बर राखिदिएको छु । घर पुगेपछि एक कल गर्नु है भन्यो । काठमाडौंबाट गएको दिन धरानमा बसें । भोलिपल्ट ६ गते बिहानै भोजपुर गएँ ।
घर पुग्दा खुसी पनि थिएँ, आपmनो पीडा घरमा कसरी भनौ भन्ने चिन्ता पनि थियो । घर पुग्दा बुबा सुत्नुभएको रहेछ । उहाँले मलाई चिन्नुभएन । मलाई एकोहोरो हेरिरहनुभयो । बाजेले पनि घरमा को आयो भनेर सोध्नुभयो । भाउजू बारीमा घाँस काट्दै हुनुहुँदो रहेछ । उहाँले चाहिँ मलाई देख्नेबित्तिकै चिन्नुभयो ।
म साइँली छोरी हुँ । म पोखरा भागेपछि घरबाट दुई वर्ष खोजेछन् । नभेटेपछि मरिहोला भनेर माया मारेछन् । आमाले मेरो फोटो बोकेर एक महिना जति काठमाडौंमा आएर खोज्नुभएछ । भोजपुर प्रहरी कार्यालयमा उजुरी दिएको रहेछ । एक्कासि मलाई देखेपछि खुसीले रुवाबासी नै चल्यो । मलाई भेटाइदिन भन्दै आमाले भाकल गर्नुभएको रहेछ । म पुगेपछि अरुण खोलामा पञ्चबलि दिनुभयो । ठूलो दाइ पनि केही महिनाअघि साउदीमै जानुभएको रहेछ ।
मैले मेरो पैसा फिर्ता माग्नलाई त्यो पुलिसलाई भाउजूको नम्बरबाट फोन गरें । त्यसपछि उसले बिहे गर्छु भन्दै धेरैपटक फोन गर्यो । उसले ३५ दिनपछि आधा पैसा लिन आउ भन्यो । सुरुमा आफू लुटिएको परिवारलाई भन्न सकिनँ । घर पुगेको भोलिपल्ट धरानमा पढ्न बसेकी काइँली बहिनी घर आई । काठमाडौं आएपछि भोग्नुपरेको समस्या उनलाई सुनाए । त्यसपछि मात्रै परिवारले थाहा पाए । बुबाआमा रुनुभयो ।
बहिनीले ३५ दिनपछि उजुरी गरे पनि नलाग्ने सुनाएपछि मंसिर २८ गते बहिनी र म काठमाडौं आयौं । मित दाइ मनोज आलेमगरले सहयोग गर्नुभयो । मंसिर २९ गते अफिस खुलेपछि बहिनी र म विभागमा त्यही प्रहरीलाई भेट्न गयौं । उसले मेरो अफिसमा नआउनु 'डिस्टर्ब' हुन्छ तिमीलाई साढे तीन बजे बाहिर भेट्छु भन्यो । बेलुका भेटेपछि लुटेकोमध्ये ३ हजार ९ सय रियाल मात्रै फिर्ता गर्छु भन्यो । तर मैले मानिनँ । मित दाइले चिया खान बोलाएझैं गरेर उसलाई समाएर सिंहदरबार चौकीमा बुझाउनुभयो ।
त्यो दिन राति १० बजेसम्म सिंहदरबार पुलिस अफिसमै बस्यौं । भोलिपल्ट ३० विभागका मान्छे प्रहरी कार्यालयमा आए । उनीहरूले मलाई मुद्दा फिर्ता लिन फकाए । सबै पैसा फिर्ता दिन्छौं भने । हामीले उनीहरूको कुरा नसुनेजस्तो गरी बस्यौं । त्यही दिन वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्यौं । उनीहरू मेरो दाइलाई खोज्दै मंसिर १ गते गोंगबुसम्म पुगेछन् । हामीसँग सम्पर्क नभएपछि फर्केको पछि मात्रै थाहा भयो । त्यही दिन गृह सचिव नवीन घिमिरेलाई भेट्न गृह मन्त्रालयमा गयौं । उहाँले घटनामा संलग्न सबैलाई कारबाही गर्छु भन्नुभयो । उहाँले उपत्यकाको प्रहरी प्रमुख एआईजी नवराज ढकाललाई बोलाउनुभयो । त्यहाँबाट फर्केर हनुमानढोका प्रहरी कार्यालयमा जाहेरी दियांै ।
२ गते प्रहरीले मेरो पैसा खाने एउटालाई समाएछ । समाएपछि बल्ल नाम थाहा भयो । विभागको सुब्बा सोमनाथ खनाल रैछ । बल्ल थाहा भयो मेरो पैसा अधिकृत टीका पोखरेल र रामप्रसाद कोइरालाले पनि लिएछन् । उनीहरू फरार छन् । मलाई सरकारले कि त क्षतिपूर्ति दिलाउनुपर्यो कि दिनुपर्यो ।
अस्पतालले सोमबार दिएको रिपोर्टमा म गर्भवती भएको पुष्टि भएको छ । थापाथलीमा चेक गर्दा मेरो पेटमा बच्चा भएको थाहा पाएपछि म बेस्सरी रोएँ । बेहोस भएँ । दाइले सम्झाउनुभयो । अहिले बुबा र आमा पनि काठमाडौं आउनुभएको छ । मलाई अचेल जतिखेर पनि रुनमात्रै मन लाग्छ । अब मेरो भविष्य के हुने होला भनेर पीर लाग्छ । ममाथि दुव्र्यवहार भएको र पैसा लुटिएको पीडा त छँदै थियो, अब त गर्भवती पनि भएको थाहा भयो । मलाई सरकार र समाजले कहिले न्याय दिलाउला म त्यसको पर्खाइमा छु । न्याय नपाएसम्म म कहीँ जान्नँ ।
मलाई यस्तो भयो । धेरै कुरा थाहा नभएकाले मलाई नराम्रो भयो । नक्कली पासपोर्टमा गएकाले पनि मैले धेरै कुरा पहिल्यै भन्न सकिनँ । नबुझी अरू कसैको विश्वास नगर्न म विदेश जाने दिदीबहिनीहरूलाई अनुरोध गर्छु । कोसेली;