बालगृहका पाँच हजार बालबालिकामा एचआइभी
काठमाण्डौ पुष १२,
नेपालका विभिन्न स्थानमा सञ्चालित बालगृहका बालबालिकामध्ये करिब पाँच हजार एचआइभी सङ्क्रमित छन्।
केन्द्रीय बालकल्याण समितिको तथ्याङ्कअनुसार नेपालका ३७ जिल्लामा ७७७ बालगृह छन्। केन्द्रका अधिकृत रामबहादुर चन्दका अनुसार आमाबाबुमा एचआइभी/एड्स भएका कारण उनीहरूको सन्तान पनि सङ्क्रमित भएको र आमाबाबुको मृत्युपछि उनीहरू बालगृहमा पुगेका थिए।
एचआइभी सङ्क्रमित भएपछि आफन्त स्वयम्ले पनि उनीहरूलाई बालगृहमा छाड्ने गरेको चन्दले बताउनुभयो। “हाल उनीहरूको उपचार भइरहेको छ”, उहाँले भन्नुभयो–ती बालिबालिकाको अध्ययन पनि अगाडि बढाउने कार्य भइरहेको छ।
विशेष गरी सुदूरपश्चिमका डोटी, कैलाली, बाँके, बर्दिया, दाङ्लगायत जिल्लामा सञ्चालित बालगृहमा एचआइभी सङ्क्रमित बालबालिका छन्। हाल बालगृहमा करिब १७ हजार बालबालिका छन्।