रामेस्वारी पन्त ; महिला हिंसा विरुद्धमा राजधानीमा राज्यले शून्य सहनशीलताको नारा लगाइरहँदा मध्यपश्चिमको बर्दियामा एउटी सोह्र वर्षीया किशोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाइयो । शिवा हासमीको जलिरहेको शरीरले दुनियाँलाई भनिरहेको थियो- हिंसा विरुद्ध शून्य सहनशीलता हैन, 'हिंसाउन्मुख शून्य मानवता' ! शिवा जलिन् र जलनको पीडाले छट्पटिँदै र मृत्युसँग संघर्ष गर्दैगर्दै अन्तमा छैटौं दिनमा उनले यो संसारबाट विदा लिइन्, मानवताको इतिहासमा दर्दनाक पीडा छोडेर ।
शिवामाथि भएको अत्यन्त क्रूर र अमानवीय घटनाले मानवताको इतिहासमा एउटा बिर्सनै नसकिने कलंक छोडेको छ र लज्जित बनाएको छ, मानवीय संवेदनालाई । हास्रुन इदि्रसीको जलेको शरीरलाई मलमपट्टी गर्दै रहेको मध्यपश्चिम यतिबेला ज्युँदै जलाएर मारिएकी शिवा हासमीको शोकमा डुबेको छ र मध्यपश्चिम मात्र होइन, आधाभन्दा बढी जनसंख्या ओगटेको नारी अस्तित्व र नारी संवेदना शोकमग्न छ । दाइजोको निहुँमा होस् वा प्रेमको निहुँमा दुई छिमेकी जिल्ला बाँके र बर्दियामा ६ वर्ष बीचमा दुई मुस्लिम किशोरीलाई ज्युँदै जलाइयो । त्यसो त मुस्लिममात्र होइन, तराईका अन्य कैयौं छोरी-बुहारीहरू दाइजो लगायत विभिन्न बहानामा जल्ने गर्छन् । तर यस्ता घटना बारम्बार दोहोरिइरहँदा पनि अपराधीको लागि कडा कानुनको व्यवस्था र कार्यान्वयन हुनसकेको छैन ।
राज्य र विभिन्न अधिकारवादी निकायहरूले महिला हिंसा विरुद्धको सोह्रदिने अभियान मनाइरहँदा देशभर करिब महिला हिंसाका तीन हजार उजुरी परेको कुरा यही मंसिर २७ को कान्तिपुरमा उल्लेख गरिएको थियो । अभियानकै क्रममा सञ्चारमाध्यममा आएका केही प्रतिनिधि हिंसाका घटनाहरू, जसले मानवतालाई नै लज्जित बनाएको छ । यस बीचमा बालिका बलात्कारजस्ता थुपै्र जघन्य हिंसाका घटनाहरू पनि सञ्चारमाध्यममा आए, जसमध्ये बनेपामा एकजना ७२ वषर्ीय वृद्धबाट ९ वषर्ीया बालिकामाथि बलात्कारको प्रयास भएको खबरले सोच्न बाध्य बनायो- किन यौनपिपासुहरू आफ्नो उत्तेजनालाई नियन्त्रण गर्न सक्दैनन् ? समाज किन यति धेरै विचलनतिर गइरहेको छ ? किन पटक-पटक ससाना बालिकाहरू बलात्कारको भयानक पीडा भोग्न विवश हुन्छन् ?
शिवा हासमीको कलिलो प्रेम नै उनको मृत्युको कारण बन्यो ।
उनलाई जलाएको भनिएको उनको प्रेमी बाबु खान प्रहरी हिरासतमा छ । तर ऊ दोषी हुन पनि सक्छ, नहुन पनि सक्छ । किनकि प्रत्यक्षदर्शी छिमेकी लगायत धेरैको शंका परिवारमाथि रहेको र शिवाको बयान पनि विवादास्पद रहेको कुरा सञ्चारमा आइरहेको छ । यस्तो अवस्थामा अनुसन्धान फितलो भयो भने दोषी उम्कने र निर्दोषले सजाय पाउन पनि सक्छ । अतः यसका लागि सम्पूर्ण समाज, अधिकारकर्मी र सञ्चारमाध्यमले प्रहरी प्रशासन र कानुनलाई घचघच्याइरहनु जरुरी छ । नत्रभने फेरि जल्नेछन्, कैयौं हास्रुन र शिवाहरू । शिवाको घटनाले राज्य, मानवअधिकारवादी र महिला अधिकारकर्मी अनि सिङ्गो मानव समाजलाई चुनौती दिइरहेको बेला यही पुस २ गतेको कान्तिपुरमा लोग्नेद्वारा तातोपानी खन्याइएर जलाइएकी बाजुरा मार्तडीकी एउटी महिला -पार्वती कुँवर) अस्पतालको शैयामा आफ्नो शरीरको जलनको पीडालाई पनि भुलेर शिशुलाई स्तनपान गराइरहेको तस्वीर देख्दा पुरुषको क्रूरता र नारीको महानता सँगसँगै युद्ध गरिरहेझैं लाग्यो ।
तस्वीरले भनिरहेको थियो- तिम्रा नाराले हामीलाई सुरक्षा दिन सक्दैन । ती महिलाको गल्ती रहेछ, रक्सीले मातेको लोग्नेलाई धेरै नखाउ भनेर सम्झाउने । यतिबेला यो वर्षको हिंसा विरुद्धको 'टुरिस्ट' अभियान सकिएको छ । तर पनि जल्नेहरू र मर्नेहरूको पीडा उस्तै छ । महिलामाथि ज्यादती र यौनमा मनपरीलाई समाजले पुरुषको जन्मसिद्ध अधिकारझैं बनाएकै छ, अझै पनि । यस्ता ज्यादती र मनपरी विरुद्ध आवाजहरू नउठेका पनि होइनन्, तर पनि समस्या ज्युँकात्युँ रहनु विडम्बना नै भएको छ । महिलामाथि हुने हरेक किसिमका हिंसा न्युनीकरणका लागि थुप्रै देशी-विदेशी संघ-संस्थाहरू खुलेका छन् र चेतनामूलक कार्यक्रमहरू पनि भैरहेछन् भन्ने सुनिन्छ । राज्य पक्षबाट पनि यदाकदा आवाज उठेको सुनिन्छ -कमसेकम वर्षमा एकपटक) तर पनि समाज पटक्कै सुधि्रएको छैन, मानसिकता सुधि्रएको छैन ।
चेतनामूलक कार्यक्रम र ठूलठूला गोष्ठीहरूले मात्र हिंसाजन्य मानसिकतामा परिवर्तन ल्याउन र महिलामाथि हुने जघन्य हत्या, हिंसा र बलात्कारजस्ता घटनाहरू नियन्त्रण गर्न र कम गर्न सकिंँदो रहेनछ भन्ने कुरा यी घटनाले देखाएका छन् । शिवाको जलनको राप शान्त हुन नपाउँदै पार्वती कुँवर जलिन् । शिवालाई जलाउने यात उनले माया गरेको उनकै प्रेमी हुनसक्छ, या उनकै परिवार, पार्वतीलाई जलाउने उनकै पति ! ओहो !! कति असुरक्षित छन्, महिलाहरू आफन्तबाटै ? बन्न त बनेको छ नि घरेलु हिंसा कसुर सजाय ऐन ! तर ऐन बनेर मात्र के गर्नु, कार्यान्वयन गर्ने निकायले यस्ता घटनामा गम्भीरता कमै मात्रामा देखाएको पाइन्छ । यस्ता घटनामा कठोरभन्दा कठोर सजाय तोकिदिने हो भने पक्कै पनि यस्ता अपराधका घटनामा कमी आउन सक्थ्यो होला ।
आवेशमा आएर गरिने कतिपय घटनाहरूलाई नत सामाजिक चेतनाले नै कम गर्नसकेको हुन्छ, न कानुनले, तर पनि यस्ता घटना घटिसकेपछि अपराधीलाई कडाभन्दा कडा सजाय दिनु र पीडितलाई न्याय दिनु राज्यको दायित्व हुनजान्छ ।
महिला हिंसाका कतिपय घटनालाई प्रहरी प्रशासनले गम्भीरतापूर्वक नलिने गरेको र सकेसम्म मिलापत्र गर्न दबाब दिने गरेको गुनासो आम पीडित महिलाहरूले मात्र होइन, हालैको एक टेलिभिजन कार्यक्रममा स्वयम् राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीले पनि गरेको सुनियो । हिंसाका घटनामध्ये अधिकांश बलात्कारका घटनाहरू -त्यसमा पनि बालिका बलात्कारका घटना) लाई मिलापत्रमै टुङ्ग्याउने प्रयास प्रहरीबाट पनि र स्वयम् बालिकाका अभिभावकबाट पनि हुने गरेको सुनिन्छ ।
किनकि यस्ता घटनामा सामाजिक मनोविज्ञान र 'इज्जत जाने डर' हावी हुन्छ । तर उनीहरूले बुझ्ने कोसिस गर्दैनन् कि त्यो महिला वा बालिकाको मानसिकतामा कस्तो आघात पर्छ ? एकातिर बलात्कारको पीडा छँदैछ, अर्कोतिर अपराधीले सजाय नपाई उन्मुक्त हुँदा पीडितमा पटक-पटक ऊबाट असुरक्षाको त्रास रहिरहन्छ । समाजमा बरोबर घट्ने यस्ता घटनाबाट पाठ सिकेर कानुनी उपचारको बाटो र अपराधीलाई कानुनको कठघरासम्म पुर्याउने जिम्मा पीडित, आफन्त, समाज अनि सम्पूर्ण सरोकारवालाहरूको हुनजान्छ ।
यतिबेला हिंसा अभियान बीचमै दुईवटी मुस्लिम छोरी लगायत थुपै्र महिलाले हिंसाबाट ज्यान गुमाए । संयोग नै भन्नुपर्छ, राष्ट्रिय महिला आयोगमा दुईजना मुस्लिम महिला (अध्यक्ष शेष चाँदतारा र प्रवक्ता मोहना अन्सारी) छन् । उनीहरूले सम्पूर्ण पीडित महिला अनि शिवा हासमी र सनिचरी खातुनका अपराधीलाई सजाय दिलाउन के कस्ता पहल चाल्नेछन्, त्यो प्रतीक्षाकै विषय बनेको छ ।इकान्तिपुर;